०४२ सालको बम काण्डको बेलातिर हो, दाइ यदु गौतम दाङ्गको जेलमा पर्नुभयो । म त्यही मौकामा दाङ्गमा दिदीको घरमा बस्ने गरि दाइलाई भेट्न आएँ । त्यो समय पढे लेखेको (राजनैतिक बन्दीका रूपमा) मान्छे जेल पर्ने भनेको अरू अपराध गरेर जेल पर्ने भन्दा कम नराम्रो थिएन बुझाइमा । पछि बहुदल आएपछि टिकट पाउन या कुनै लाभदायक पदमा जान सर्टिफिकेट जस्तो भएको जेलको बसाई त्यति बेला परिवारका निम्ती कति पिडा दायक हुन्थ्यो भनेर म अहिले कल्पना पनि गर्न चाहन्न ।
हरेक पटक खाने बेला चुहिने आमाका आशुहरू र आमासँगै पग्लिएर बग्ने हाम्रा भावनाहरू मात्रै भेटिन्थे घरभरि । हामी दिनमै पटक पटक रोईरहन्थ्यौँ । दाइलाई सम्झिने र समाजका तीखा नजरहरूको प्रतिवाद गर्ने हाम्रो एकमात्र उपाय बनेको थियो रुनु ।
आमा, दिदीहरू उस्तै, बिहे भएपछि भाउज्यू पनि उस्तै थपिनुभयो । केही प-यो कि एक अर्कालाई हेर्ने र रुने धेरै गरियो । म त सानो परिवारमा, आशु देखे मलाई पनि रुनै पर्ने । यही भएरै हो की रुने घटनाहरू अरू थोपरिएका हामी माथि न। पछि त बैरीहरुले जीवनभरि रुने बनाएर दाइको घाँटी नै चुँडाएर लगे । पापीहरूको सत्यानाश होस् !
मैले सम्झिन खोजेको घटना भने अर्कै हो ।
मेरो घर रुकुमको चौरजहारिबाट दाङ्ग पुग्न हिँडेर पुरै दुई दिनको बाटो थियो । म एक्लै दिदीको घरसम्म पुगेँ । दिदीको घरबाट बस चढेर हामी दाइलाई भेट्न घोराही तिर लाग्यौं । केही खाने कुरा, ओढ्ने कुरा, फेर्ने लुगा आदि बोकेर हामी जेलमा पुग्यौं ।
दाइलाई हेर्ने, भेट्ने कुराले म भित्र भित्रै अत्यन्त खुशी भइरहेको थिएँ । उसो त जहिले पनि दाइसङ्ग भेट्नु, मन्त्रमुग्ध भएर उहाँका कुराहरू सुन्नु, उहाँको पछि पछि हिँड्नु मेरा प्रिय विषय नै थिए । कुन बेला हो ठ्याक्कै त थाहा छैन तर एक पटक मलाई लाग्थ्यो – दाइलाई नआउने विषय नै केही छैन । मलाई अहिले पनि लाग्छ, पढेर भन्दा मैले दाइका कुरा सुनेर धेरै सिकेँ र जति बोल्न जानेको छु त्यो पनि दाइबाट नै सिकेको हो । उहाँको अगाडी पर्दा म बिर्सन्थें सबै थोक ।
कसैका हरेक कुराहरू मन पर्नु, बोल्ने, हाँस्ने, हिँड्ने, खाने आदि आदि । अनुहार, रङ्ग, चाल र शैली मन पर्नु । पछ्याउनु, अनुसरण गर्न मन पराउनु र गर्व गर्नु कसै प्रति । यी सबै कुराहरू थिए दाइसङ्ग । पछ्याउन मन लागि रहने । आफू भने कहिल्यै पनि अरूको निम्ती त्यस्तो हुन सकिएन । खेदभन्दा पनि पछुतो भने छैन भन्नु पर्ला । सबै सबैमा कहाँ अरूको “आईडल” बन्ने क्षमता हुन्छ र !
बाटोभरि मेरो खुशी दिदीले सहजै थाहा नपाउनु होस् भनेर म अत्यन्त सजग थिएँ । सायद दिदी लाई पनि त्यस्तै लागेर होस्, म भन्दा अघि अघि हतारिएर हिँडिरहनु भएको थियो । म पोका पुन्तुरोसहित दिदीलाई पछ्याउँदै थिएँ ।
दिदी कुरा गर्न पुलिसको ढोकातिर लाग्नुभयो, म भने मन थामेर चौतारोमै बसिरहें । मन अत्यन्त आत्तुर, अधैर्य भइरहेको थियो भेट्नलाई । मैले के भन्थें, के कुरा गर्थें, भेटिसकेपछि छुट्टिदा कसरी त्यसको सामना गर्थें, यी सबै कुराहरू मेरो दिमागमा आइरहेका थिएनन् । म भेट हुने कुरा मात्रै सोचिरहेको थिएँ ।
दिदी सामान बुझाएर लुरुक्क परेर मतिर आउनु भो । “भेट्न मिल्दैन रे’ – दिदीले बिस्तारै कसैले सुन्ला झैँ गरि भन्नु भो । म भित्र एकाएक ठूलो कम्पन गयो, म एक्कासि खसे झैँ भएँ । आमा, दुई दिनको बाटो, मेरो भेट्ने मन, थुप्रै दिन देखि मन भित्र पालेका रहरहरू मेरो मस्तिष्कमा तीव्र गतिमा आई रहे । पुलिससँगको आक्रोश, घृणा झन् झन् बढ्दै गयो ।
अवाक् दिदीलाई हेरेँ, आशु भरिएका उनका आँखाहरू देखेँ । थाम्न नसकेर उनकै अँगालोमा बाँधिएर रोइरहें थुप्रै बेर । पर्खाल भित्र र बाहिरको यति सानो, छोटो दूरी पनि यति भयंकर हुनसक्छ भनेर मैले कहिल्यै कल्पना समेत गरेको थिइन।
बोलाएर सुन्न सक्ने, अझ चल्दा जीउको गन्ध महशुष हुँनसक्ने त्यो छोटो भौतिक दूरीभन्दा मनको यति धेरै नजिक भएको अनुभूति र भेट हुन नपाउने यथार्थ सँग लड्न मलाई धौ धौ परिरहेको थियो । दिदी र म एक आपसमा हेर्दै त्यो चौतारोमा निकै बेर रोइरह्यौँ । हाम्रो मन बुझि दिने मान्छे कोही थिएन त्यहाँ । रोएर हामीले हल्का ग-यौँ मन, रोएर विद्रोह जनायौं, रोएर माया पु-यायौँ, रोएर जित्यौँ पनि । कहिले केही गर्न नसक्दा पनि रोएर धेरै गर्न सकिने रहेछ जीवनमा । आहा रुनुको सुन्दरता !
मार्च ०९, २०१८
टिमिन्स, क्यानडा