आवाजहरू देख्छु
दृश्यहरू सुन्छु
हो, म पनि सपना देख्छु।
फूलजस्तै सुकुमार
हावाजस्तै चञ्चल-चलायमान्
नदीको प्रवाहजस्तै अटुट-अविच्छिन्न
सङ्गीतको धुनजस्तै सुरबद्ध
समयका मधुर बिम्बहरू पक्रिदै
क्षितिजका इन्द्रेणी रङहरूभरि फक्रिदै
टाढा कतै पुगेको हुन्छु
आफैँदेखि आफैँसम्म पुग्न
सघैँसधैँ
आफ्नै गोरेटो खोजेको हुन्छु
बिचारको उज्यालोमा ब्युँझन्छु
संवेदनाको लयमा झङ्कृत बन्छु
हो, म पनि सपना देख्छु।
झरनाजस्तै वेगवान्
खोलाजस्तै गतिशील
आकाशजस्तै असीम
चन्द्रकिरणजस्तै सौम्य-शीतल
परागकणजस्तै अस्तित्ववान्
सम्भावनाको अनन्तता सौच्दै-सोच्दै
जीवनका आयामहरू खोज्दै-खोज्दै
परपर फैलिएको हुन्छु
नित्य-निरन्तर
आफ्नै अनुभूतिको एउटा आकार खोज्दै हुन्छु
चेतनाको चिरागसँगै उज्यालिन्छु
प्रभाती पदचापहरू पछ्याउँछु
हो, म पनि सपना देख्छु।
हिमालजस्तै सफेद
वसन्तजस्तै हार्दिक
जूनजस्तै कान्तिमय
धरतीजस्तै वत्सल
मनका पृष्ठभरि लेखिदै-लेखिदै
अक्षरका आलोकभरि देखिदै-देखिदै
उद्दीप्त अभीष्ट रोज्दै हुन्छु
अथक-अविश्रान्त
आफ्नै दृष्टिभरि आफूलाई खोज्दै हुन्छु
ध्वनिहरू देख्छु
बिम्बहरू सुन्छु
हो, म पनि सपना देख्छु।
चराको गीतजस्तै लयदार
रङहरूको भाषाजस्तै अनुभूतिशील
बालकको मुस्कानजस्तै कलामय
प्रकृतिका सिर्जनाजस्तै रागमय
भोगाइका भूगोलहरूमा पढिँदै-पढिँदै
भिराला मोडहरूमा अडिँदै-अडिँदै
उकाली-ओरालीहरू स्पर्श गर्दै हुन्छु
गुन्गुनाउँदै गन्तव्य
अविराम-अनवरत
आफ्नै मनको आभासतर्फ अघि सर्दै हुन्छु
इन्द्रियको अभ्यास थप्छु
आवाजहरू देख्छु
दृश्यहरू सुन्छु
हो, म पनि सपना देख्छु।