केही हप्ताअघि एउटा किताब पढेँ। टयूस्डेज वीथ मोरी प्रायःजसो यस्ता किताबहरु सकभर अनलाईनको पीडिएफमा पाएँभने इन्टरनेटबाट डाउनलोडगरी पढ्ने गर्दछु। यसपटक पन्द्रदिनको छुटृीमा केही कितावहरु पढ्ने निधोगरेपछि मलाई यही किताव उपयुक्त लागेको थियो। किताव अनुसार ‘मोरी एक प्रकारकी शिक्षिका हुन्छे’। तर उनलाई यस्तो किसिमको रोग लागेको हुन्छ कि उनको मृत्यू नजिकै आइसकेको छ।
मोरीको यस्तो दयनिय अवस्थामा उनले पढाएको एउटा पुरानो बिद्यार्थी उनको घरमा प्रत्येक मंगलबार आउँछ र जीवन, जिन्दगी र अनुभवका बारेमा उनीसँग ज्ञान लिन्छ।
प्रत्येकहप्ता एउटा न एउटा नयाँ विषयमा कुरा हुन्छन्। नयाँ विषयहरु छान्नेक्रममा एकदिन ‘माफ’ को विषयमा छलफल गर्ने निक्र्यौल हुन्छ। उनीहरु एकहप्तासम्म त्यो विषयमा छलफल गरिसकेपछि मोरीले उसलाई भन्छे ‘मर्नुभन्दाअघि स्वयंको माफ गर्नु र बाँकी अरु सबैलाई।’
अरुलाई माफ गर्नेकुरा त दिमागमा घुसेको हो तर आफैंलाई माफ गर्ने कुरा कसरी दिमागमा घुसाउने? यो प्रश्नले युवक रन्थनिन्छ र अरु बाँकी कितावमै छ तर मेरो दिमागमा पनि यही कुराले डेरा जमायो। किताव पढेको तीनहप्तासम्म यही कुरा दिमाग वरीपरी घुमिरह्यो। अरुलाई माफीदिनका लागि मैले रत्तिभर पनि समय खर्च गर्दिन।
मप्रति गलत गर्नेहहरुलाई मैले माफी नै दिएको छु। र तिनीहरुको तस्विर मानसपटलबाट निकाल्न धेरै प्रयास गर्दछु। बास्तममा भन्दा म माथी धेरैले दागा धरे। मलाई बिच सडकमा पारिदिए। म माथी आर्थिक हिनामिनाको आरोप लगाएर घरन घाटको पारिदिए। तर मैले ती सबैलाई माफ गरेँ र स्वयमलाई दुःख दिएँ। अरुलाई माफ गर्ने कुरामा म खुल्ला छु। गर्दिहाल्छु तर आफूलाई कसरी माफ दिने? आफूलाई माफ दिनको लागि आफैंलाई दुःख दिनु हो। दुःख कुन दिने ? शारीरिक वा मानसिक? द्वविधा हुनु भनेको मनभित्र अन्तरसर्घष हुनु हो। कहिलेकाँही यिनै अन्तरसंर्घषबाट मानिस बैराग्यमा पुगेका छन्।
तर जिन्दगीमा यतिधेरै साना ठूला गल्तिहरु गरिएका छन् कि यी गल्तिहरु गनिसाध्य छैनन्। जानेबुझेदेखि अहिलेसम्म कति गल्ति गरिएहोला? कति गल्तिहरु मात्तिएर गरियो होला। कति आफ्ना कमजोरीहरु यथावत रहे होलान? कति सुधारीयो होला त्यसको कुनै लेखाजोखा छैन। जिन्दगी केवल एक अभिलासा, एक सपनाको रफ्तारमा दौडिरहँदा आफ्ना गल्तिहरु विर्सदैं जाँदारहेछन्। मैले नशा पिएर गल्ति गरेँ हुन सकुँला। आफ्नो लेखनको घमण्डमा गल्ति गरेको हुनसक्छु हरेक गल्तिहरुमा एउटा न एउटा नशाको उन्माद हुँदोरहेछ। सायद नारायण गोपालको गीत जस्तो ‘गल्ति हजार हुन्छन्।’
आँखा चिम्लेर कहिलेकाँही आफैंलाई सोच्दा लाग्दछ जानेर वा नजानेर गरिएका केही गल्तिहरुले मन अमिलो बनाइदिन्छ। भनिन्छ मान्छेले गल्ति गर्दछ प्रत्येक गल्तिहरु नै मानिसका बाँच्ने आधारहरु हुन्। कमजोरीहरु भनेको जिवन जिउने कला हो। गल्ति र कमजोरी फरक कुरा हुन्। कमजोरीबाट नै मानिसको गल्ति हुने हो। कमजोरी सुधारियो भने गल्ति हुँदैन। जस्तो कि नशा पिउनु कमजोरी हो भने पिएपछि हुने गल्ति हो।
यतिबेला सानाका यादहरु रिलझैं घुम्छन् जब म १० वर्षको थिएँ मेरो एउटा साथी थियो जसलाई हामी काले काले भनेर बोलाउथ्यौं। विशेषगरी उसको घरमा नै उसलाई काले भनेर बोलाउने हुनाले हामीले पनि त्यसरी नै बोलाउँथ्यौं। तर एकदिन उसले सोध्यो के यार साँच्चै म कालो नै छु र ? मैले सान्त्वना दिदैं भने छैनस यार अलि अलि गहुँगोरो चाहिँ छस्। ऊ खुशी भयो।
एकदिन उसको मेरो झगडा भयो, झगडामा मैले उसलाई ‘काले कुकुर छिटो दकुर’ भन्दै गिज्याउँदै दकुरे। मेरो शब्दको उसलाई यति घोच्यो कि उसको अनुहारबाट मैले महशुस गरेँ। उसको अनुहार कागजको पतङ्गजस्तो कच्याककुचुक्क देखियो। बढो बादलको हुंडरी आएजस्तो अनुहार झन कालो देखियो। उसको मनभित्र ठेस पुर्याउन पाएकोमा मभने दङ्ग परिरहेँ। आजभोली ती दिनहरु सम्झन्छु र आफूलाई कहिल्यै माफिको पनि लाइक पाउँदिन।
अर्को एउटा घटना छ। सायद त्यति नै उमेरको थिएँ होला। त्यो दिन सनिवारको दिन थियो। म सनिवार एउटा हिन्दी फिल्म हेरेर आएको थिएँ। त्यो फिल्मको केही डाइलग मेरो दिमागभरी घुमिरहेको थियो। त्यो फिल्मको डाइलगमध्ये केही अश्लिल डाइगल मैले कण्ठ पारेको थिएँ। खै के विषयमा बहिनीसँग झगडा भएपछि बहिनीलाई गाली गर्ने फिल्मशैलीको डाइलग बोलिदिएँ।
उसले त्यो डाइलग नबुझेर आमालाई सोधी। आमा त इण्डीया बस्नु भएको हिन्दी नबुझ्ने कुरै भएन। आमाले जुन किसिमले मलाई हेरेर बहिनीतर्फ इशारागर्दै गाली गर्नुभयो। आजपनि बहिनीको अनुहार देखेँ भने त्यही याद आउछ। त्यसपछि बहिनीको व्यवहारमा कुनै फरक नआएपनि मैले जीवनभर आफूलाई लज्जित पाउँछु।
यस्ता अनेकौं किस्साहरु सबैका हुन्छन्। कतिले लेख्छन् भने कतिले बिर्सिदिन्छन्। एकपटक मैले आफ्नै एकजना काकाको छोरालाई सिँढिवाट धकेलिदिएँ उसको निधारमा गहिरो चोट लाग्यो। सायद ऊ चार वा पाँच वर्षको हुँदो हो। आजभोली कहिलेकाँही उसलाई भेट्दा उसको निधारको चोट देखेँभने मेरो सानोको त्यो बदमासी याद आउँछ र धिक्कार लाग्दछ आफूलाई।
सोच्छु मैले किन यसो गरेँ हुला? उसलाई मैले धेरैपटक भनेँ तलाई मैले धकेलेर लडाएको कारण तेरो निधारमा चोट छ तर उसले हाँसेर टारिदिन्छ ती मेरा कुरा। मलाई भने गहिरो चोट लागेर बसेको छ त्यसको त्यो घाऊ।
कसैले भन्लान सानाका यी घटनाहरु नादान हुन यसलाई गहिरो रुपमा लिनु हुन्न भनेर। तर जुन दुःख मैले आफू ठूलो भैसकेपछि गरेँ त्यो झन गहिरो हुँदोरहेछ। मेरो एउटा साथी थियो जोसँग मेरो एकदम सानिध्य सम्बन्ध थियो। उसलाई मैले पैसाका कारण एकपटक गहिरो दुःख दिएँ। हाम्रो साथीत्वको विश्वासै गुम्यो। त्यो घटनापछि उसले धेरै वर्षसम्म मसँग बोल्दै बोलेन।
तर पनि प्राय मैले उसलाई सपनामा देखीरहन्थे हामी फेरिपनि कुराकानी गरिरहेका हुन्थ्यौं, सपनामा। जब निन्द्रा खुल्छ तव थाहा पाउँछु सायद ऊ आजसम्म पनि रिसाएकै होला ? एकदिन करिब १० वर्षपछि नेपाल जाने मौका मिलेको बखत मैले उसको नम्बर पत्ता लगाएँ र आफ्नो परिचय दिदैं एउटा एसएमएस गरेँ। र उसलाई सोधेँ के मेरो दोषको अझैं सजाय पुरा भएको छैन? उतावाट जवाफ आयो केहीक्षणपछि। अहिले म पोखरामा छु। काठमाडौं आएपछि भेटौंला। एसएमएस पढ्ने वित्तिकै आँखाबाट आँशु चुहिए।
सोँचे के उसले मलाई माफ दियो होला ? सायद। अवश्य दिएको हुनुपर्दछ। तर के माफ दिने वित्तिकै गल्ति वा अपराध खत्तम हुन्छ र ? के आत्मग्लानीको भाव खत्तम हुन्छ र ? हुँदैन। हुनुपनि हुँदैन।
एकदिन गैर आवासीय नेपाली संघका अगुवाको विषयमा एउटा रिपोर्ट तयार पारेँ र मिडियामा हालेँ। प्रकासित भएपछि उनलाई यति ठूलो चोट पुग्यो कि उनको बुबाको हर्टहट्याक नै भयो र समयमै उपचार भयो भगवानलाई धन्यवाद धन्न उहाँलाई केही भएन। यो कुरा उहाँले धेरैपछि मलाई बताउनु भयो मैले यसमा दुःख महशुस गरेँ।
आज पनि उहाँ र मेरो घनिष्ट सम्बन्ध छ तर जब उहाँलाई भेट्छु मलाई आफ्नो हरकतप्रति ग्लानी महशुस हुन्छ। यस्तै एउटा लेख लेख्दा एकजना एनआरएनकै प्रतिष्ठित अगुवाको चित्त दुखाएँ। उहाँसँग राम्रो सम्बन्ध एकाएक टुक्रियो। पछि मैले कमजोरी महशुस गरेँ उहाँले मलाई सहजै माफि दिनुभएपनि त्यो दुइलाइन लेख आजपनि सम्झिरहन्छु कुन बेसुरमा लेखेँ भनेर।
जब जान अन्जानमा आजपनि मैले आफ्नो कसुरहरुको याद गर्दछु तब मलाई फाइदा हुन्छ ताकि म ती आफ्ना कसुरहरु दोहोर्याउनबाट बचेको छु। जस्तो कि त्यो पहिलो घटना जसलाई रंगको आधारमा गरेको थिएँ। त्यो फिल्मी शैलीको अपशब्दको गाली त्यसपछि जीवनभर त्यस्ता अपशब्दबाट टाढै रहन प्रयत्न गर्न थालेँ।
कसैलाई सिढीबाट धकेलेर खसाउनुको गल्ति या कुनै साथीलाई विश्वासघात गरेको घटना। सायद यी घटनाहरुमा मैले आफूलाई माफ गरेर सबै कुरा भुलेको भए मैले फेरि पनि यही घटनाहरु दोहोर्याउँथे होला।
त्यसकारण अफसोच केवल एउटा मात्रै छ। मैले गल्ति त दोहोर्याइन तर जान अन्जानमा कसैप्रति ठेँस पुराएको हुनसकुँला। मान्छेले गल्ति गर्दछ। सारा कमजोरीका साथ आफ्नो बलको घमण्ड, शक्तिको अहंकार, लोभ, दम्भ, र क्रोध यी सबै मान्छेभित्र आउने गुण अवगुणहरुमा म पनि पक्कै अछुतो भने छैन।
यसकारण खासगरी यी यस्तै कमीले गर्दा कहिलेकाँही आफ्नाहरुलाई चोट पुराएको हुन सक्छु र पछि पछुतो भैरहेको हुन्छ तर जब माफी माग्न अवस्थामा पुगिसकेको हुन्छ त्यतिबेला अबेला भैसकेको हुन्छ। कसैप्रति दुखाएको चोटको माफ पाएपनि आफूलाई ग्लानी अनुभव भैरहेको हुन्छ र ती ग्लानीलाई भुल्ने प्रयास गरेपनि प्रायश्चित गरेपनि फेरि केहीदिनपछि केही न केही गल्ति भैरहेको हुन्छ।
सायद जीवनभर यसरी नै चल्ने रहेछ क्यारे बल्ल बुझ्दैछु। लाग्दछ। न्याय र अन्याय, पाप र धर्म, कालो र सेतो, मैलो र सफा यी जीवनका शिलशिलाहरु प्रत्येकदिन चल्ने रहेछन्। जसरी शरीर फोहोर भएर दिनहुँ नुहाए जसरी।
यी कुराहरु भनिरहँदा प्रत्येकले आफ्ना कमजोरीहरु गल्तिहरु नलुकाउन भन्न सकुन मनका चिजहरुलाई पोखुन र हल्कारुपले जिउन भन्ने लाग्दछ। सामाजिक सन्जालहरु आजभोली गालीमा परिणत भइरहेका हुन्छन्। सत्य कुरालाई सावित गर्नका लागि गाली वा ठूलो श्वरको आवश्यकता पर्दैन केवल चुपचाप समयलाई पर्खिदिए पुग्दछ।
‘माफ गर’ यसरी लेखेपछि लाग्दछ कुनै आफ्नो प्रीय मित्रको काँधमा टाउको राखेर मनलाई हल्का बनाएको महसुस हुने रहेछ। सायद सिक्दै जाने क्रममा आफ्नो पहिलो कमजोरीसँग आफूलाई सामना गराउन सकिदैंन भने तबसम्म आफ्नो तागतको सामर्थ पत्ता लगाउन सकिदैंन। कमजोरी नै मान्छेको शक्ति रहेछ। र आफैंलाई माफ गर्नु बहुत गारो कुरा रहेछ।