गाउँ रित्तिदै गएपछि
स्मृतिपटलमा
थन्किन बाध्य हुँदैछन् ती दशैंहरु
धागोबाट छुटेको घुएत्रोझैं
आँगनमा आइपुग्छ मात्र शरदीय याम
र लाग्छ किनारा
जसरी किनारा लाग्छ
सीमारेखा नाघेको धावक
उहिले
लहुरेको बाटोसँगै आउँथ्यो
कपडाका थानमा समेटिएर आउँथ्यो
मेरो हाते मेसिनमा कटटकटट गर्दै आउँथ्यो
मेरो दमाहा र सौनाइको धुनसँगै आउँथ्यो
र फुरूङ्ग हुन्थ्यो तिम्रो आँगनमा
भालेको डाकोसँगै
गोरेटामा चलमलाउँदै आउँथ्यो
पँधेरोमा कानेखुसी गर्दै आउँथ्यो
गोरस भएकाको घरबाट
बिस्तारै लस्किन्थ्यो
दुध दहीका गिलाशमा
र पुग्थ्यो
गोरस नहुनेका घरमा
अचेल
सहरिया भएछ दसैं पनि
र त
आउँछ टिभी, रेडियो र मोबाइलमा
गोसाई
तर पनि
खोजिरन्छु मैले गाउँमै दशैं
गाउँकै दशैं
खोज्न त तमी पनि के के
खोजिरहेकै छौ रे सहरमा
तर पनि
तमी र म बीच यही छ फरक
तमी दशैंभित्र जिन्दगी खोज्छौ
म जिन्दगीभित्र दशैं खोज्छु