‘तिम्रो याद त तेजाब जस्तो छ जब आउँछ जलाएर जान्छ’। मोवाइलको नोटिफिकेसनमा यस्तो लाइन देखेँ। टुङ्गटुङ्गगर्दै मेसेज आयो। विफी अनमै राखेको रहेछु। टुङ्गटुङ्ग आवाजले मेरो निन्द्रा खल्बलिन्छ। किन किन आज बिहानैपख उनको मेसेजले दिनभर तनाब सिर्जना गर्यो। त्यसो त मलाई तनाब हुनका लागि कुनै ठूलो इस्यू चाहिँदैनथ्यो, केवल एउटा पीडा दिने मेसेज भए पुग्थ्यो। एउटा सानो त्यो पनि अति सानो शब्दभए पुग्थ्यो। म शब्दसँग अति नै डराउँछु। कसैका अप्रिय शब्द मेरो कानमा पर्यो भने म त्यो दिनभर अनुहार बिगारिरहन्छु। हिजो राम्रै बोलेको आज किन खुलेर बोलेन वा टाउको बटार्छ। साथीभाईका यस्ता अनकौं भनाइहरुको मैले सामना गरेकै हुन्छु। तर उनको पीडा दिने मेसेज नभएपनि याद दिलाउने मेसेज थियो।
मेसेज पठाउन थालेपछि पठाएको पठायै गर्ने बानी छ उनको। फेरि फोन काटेपछि गरेको गरै गर्ने बानी छ उनको। बुझ्नु नी बिजी भएर फोन काटेको होला, अहँ बुझ्दिन, काटेपछि झन गरेको गरै यस्तै बानीले वाक्क बनाउथ्यो। मैले फोन साइलेन्समा राखिदिन्थे, ह्या, आइरहोस नबजिरहोस। अति जिद्दि बानी अझैंसम्म पनि छुटेनछ। लस्करै मेसेजहरु पढ्दै गएँ। केके नानाभाँती। दशवर्षपछि कसरी सम्झी? किन सम्झी मनमा अनेक कुरा खेले।
अमेरिका आउँदैनौ? उही पुरानै शैलीमा लेखी, किन आउने? भन्न नपाउँदै इमोजी पठाई मुटुको चिन्ह भएको। उही स्टाइल, उही शैली, उही रुप, रंग र अलिकति बुढ्यौली जस्ती, अलि मोटी मैले कौतुहलपूर्ण उनका फेसबुकका तस्बिरहरु एकएक गरी हेर्दै गएँ।
त्यतिबेला याहूमा अमेरिका गएका केही वर्षहरुबीच यसैगरी मेसेज इमेल पठाउँथी आफ्ना सारा कहानी दुःख, कामका बारेमा। खानाका बारेमा। कहिले स्पागेटृीका भेराइटीहरु। कहिले मरिनारा सुप। मलाई सुप मनपदथ्यो ऊ सुप देखाएर मेरो मुखमा रस निकाल्थी र देखाई देखाई खान्थी। सुपरमार्केटमा गइभने केएफसीमा रेष्टुरेन्टमा पुगेर हटविंगस्को। म्याकडोनाल्ड गइभने आइसक्रिमको। युनाइटेड बेनेटनबाट उसले पठाएको सर्ट लामोसमय लगाएँ। बेनेटनमा ओरिनजल कपडा पाइन्छ भनेर काठमाडौंमै उसैले भन्थी। आफ्ना सहकर्मीका बारेमा अनेक किस्साहरु लेखेर पठाउँथी। भन्थी, ‘मैले तिमीलाई लेखेर पठाउँदा मलाई आनन्द आउँछ’। ऊ गएको ६ महिनापछि एकदिन फिडेक्सबाट फोन आयो। म हतारहतार फिडेक्स अफिस कान्तीपथ पुगेँ उसले पठाएको पार्सलको लागि। रहेछ एउटा ल्यापटप। ल्यापटपसँग एउटा सानो चिठी। हाम्रा यादहरु शब्दका माध्यमबाट कैद गर्दछौं भनेर वर्थडे सरप्राइज।
मेरो रित्तो वर्थडेका दिनहरुलाई उसले यसरी नै भरिपुर्ण गर्दथी।
‘मेरो आफ्नै जन्मदिनको याद छैन तिम्रो याद छ’। हिजोजस्तै लाग्दछ उनले भनेको। कति सहजै वित्छन् दिनहरु। हप्ता महिना र वर्ष बनेर।
भुलक्कड पनि यति भैएछ कि अस्तिभर्खर लाइसेन्सलाई ओल्टाइपल्टाइ गरेर हेँरे। मलाई मेरो जन्मदिन हेर्नु थियो।
भेँटहुँदा आजको दिनत तिम्रो बहुत राम्रो छ नी
कसरी?
बिहानै मैले तिम्रो राशीफल सुनेकी।
अनि तिम्रो नी
ह्या, मेरो छाडिदेऊ तिम्रो राम्रो भए मेरो भै हाल्छ नी।
ऊ यस्तै भन्थी मलाई।
तर मैले आजभोली न राशीफल सुन्छु न विश्वास गर्दछु यसैपनि मलाई आफ्नो राशी कुन हो ? विर्सिसकेँ। विश्वास भए पो याद राख्नु ?
कहिलेकाँही लाग्छ आफैंलाई कसैलाई प्रेमगर्दा सीमाभित्र रहन जानिएन, सीमामा रहँदा प्रेम निभाउन जानिएन।
कति भेटिए छुटिए दोबाटोमा तर सबैलाई सम्झन र उनलाई बिर्सन असम्भवै थियो।
किन यतिविधि पीडा हुन्छ होला प्रेममा? यही प्रश्नले मेरो धेरैवर्ष खाइसक्यो ?
***
सुरुवातको पहिलो दिन धेरै अनुरोधपछि ऊ आएकी थिई भेट्न। पुतलीसडकको कुमारी रेष्टुरेन्टभित्र उसले सोधेको हिजो जस्तै लाग्दथ्यो। आधाघण्टा कुराएपछि आएकी थिइ ऊ। त्यतिबेलासम्म मैले एककप चिया र दुइटा सुर्य सिगरेट सकिसकेको थिएँ।
त्यसदिन धेरैकुरा भए तर ऊ मेरो एउटै कुरामा फिदा भैछ। के भने। पानी यति परेको थियो कि पुतलीसडक त्रिसुलीनदिजस्तै देखेको थिएँ त्यो दिन। ऊ यसरी भिज्दै आई। मानौ म उसको बोस हुँ, मेरो अर्डर टार्न नसकी आएजस्तो। मैले उनको लागि मसरुम सुम मगाइसकेको थिएँ।
नवोली नवोली सुप पिएर सकि। धेरैकुरा भए, भविष्यका, चाहनाका योजनाका अनि अन्तिमतिर लामो सास तानेर मलाई हेरी। आफ्नो पारिवारिक कुरा गरी सिरीयस भै। टाउको तल पारी। मैले हल्का हातले उनको टाउँको उठाएँ। ऊ अलिअलि भिजाइसकिछ आँखा। बग्दै रहेछ बाटो बनाएर आँशुले उनको अनुहारबाट। लाग्दथ्यो खुलेको छ अहिले बादलको आँखा र टप्केको छ केही आँशु पहिलो बर्षा बनेर। दुवैतिर।
सुस्तरी भनि ‘सुन्नुन’ मलाई कसरी चिन्नुहुन्छ ? कसरी बुझ्नुहुन्छ हजुरले? यही हो उसको प्रश्न पहिलो दिन।
मलाई महिलाको ‘सुन्नुन’ भन्ने शब्द सारै प्रीय र आत्मिय लाग्दछ।
मत्थर भैसकेको पानी तर अलिअलि छड्के पानी सिसामा ठोक्किएर आँखाबाट आँशु झरेजस्तै सिसाबाट तल झरिरह्यो। मलाई सिसाको पानी र आँशु उस्तै उस्तै लाग्यो। मैले उनको अनुहार हेर्न सकिन। फेरि सिसा पनि हेर्न सकिन।
यतिबेला मेरा दुइप्रीय चिज थिए मेरा अगाडि, उनलाई त के चिज भनुँ र ? एउटा सिगरेट अर्को उनि। सिगरेट सल्काएँ। लामोगरी ताने। मुख अलिकति बंगाएर फुरुफुरुरु धुँवा हुर्राए। उसले एकटक गरेर हेरिरही सायद आफ्नो प्रश्नको उत्तर नपाएकोमा होला। वा मेरो सिगरेट।
मैले भनेँ ‘प्रीय जसरी बर्षातमा तिमी रोएको आँशुलाई छुट्याउन सक्छु, पढ्न सक्छु र बुझ्न सक्छु त्यसरी नै चिन्न सक्छु तिमीलाई र तिम्रो आँशुलाई’। एकछिन सोची र उसले कस्सेर अँगालो मारी। र भनि सुन्नु म त वर्षातमा कागज जसरी भिजिसकेको नारी हुँ त्यसलाई नटुक्राइकन पटाएर राख्न सकौला नी।
मैले सहमतीको टाउँको हल्लाएँ।
मैले अर्को सिगरेट मगाए। उनलाई तातो चिया।
ए हिरो। एउटा कुरा सुन कान खोलेर। कि यसलाई छाड कि मलाई।
यो अन्तिम हो अब पिउँदिन। यसरी छाडेको सिगरेट फेरि सुरुवात भएछ उनकै यादसँगै।
***
अँ उनको उत्तरमा म पनि के कम मैले उसैगरी उनलाई जवाफ फर्काए ‘भो तिमीलाई पनि राम्रोसँग विछोडिन आउँदो रहेनछ स्वयं आफूलाई मेरो मुटुभित्र छाडेर गइछौं त’ उताबाट ‘हाहाहाहा’ को सिग्नल आयो।
हुनत भेटिने, जोडिने र छुटृीनेक्रम जीवनका चक्रजस्तै हुँदोरहेछ।
पीडा र यादहरुकाबीच मुटुलाई दोब्राएर जिस्किन चाँहे। आजभोली म उनले पहिला सोचेजस्तो अपरिपक्व छैन। तर भन्न जरुरी ठानिन।
अपुर्णमा निपुर्णको कला बल्ल सिक्दैछु। कसैका कमजोरीलाई माया गरेर अघि बढ्नुनै जीवन जीउनको उच्चतम कला हो भन्ने ज्ञान पहिल्यै भइदिएको भए सायद साथीभाईहरु मनग्गे हुन्थे होला। ऊ पनि हुन्थी होली।
एउटा सपना टुट्नुको बाबजूद अर्को सपना देख्ने हौसलालाई जिन्दगी भनिन्छ। मैले सपना देखिन। देख्न पनि चाहिन। टुट्ने सपनाहरु देख्न पनि नपरोस् भन्ने बाटोमा म हिड्न थालेँ।
***
कम्ता रिस उठेको थिएन त्यसदिन। श्वयम्भूको तलपटिृ बेलुकी ७ बजे भेट्न बोलाई। जब हामी छुटृीदैं थियौं, छुटृीनुपलको अँगालो कम्ता राफिलो कम्ता यादगार हुँदो रहेनछ। अहिलेसम्म भतभती पोलीरहन्छ। त्यो पलको अँगालो। सायद प्रेम त्यतिबेला अझ बढी लाग्दो रहेछ। मुटु भक्कानिएर डाँको छोड्न नसकी अरठ्दिोँरहेछ। धड्कनको कुरौ नगरौ। ऊ झन झुण्डीई। जोडिएका ओठहरु अनि श्वयम्भूको त्यो बाटो। दर्जनौ वाइक, ट्याक्सी र अन्यगाडीहरुका ट्याँट्याँ र टुँटुँहरुलाई न उसले प्रवाह गरी न मैले। यो ‘साथ अब हमेशा रहँदैन’ भन्ने जब थाहा हुन्छ कसम त्यतिबेला आफैले आफैलाई समाल्न बहुत गारो हुँदो रंहेछ।
सासै फेर्न गारो हुनेगरी जोडेकी आफ्नो थुतुनोबाट स्याऊ टोकेझै ओठ टोकेर उनले धकेली मलाई धन्नै बाटोको छेउमा जोडिएका हामी एक्कासी उनले धकेलाईबाट वालमा ठोकिन पुगेँ।
अँ सुन, भोली १२ बजेको फलाइट हो मेरो तिमी नआउनु नी फेरि उड्ने बेला फोन गर्दछु। त्यहाँ मामाहरुका सबै परिवारहरु आइपुग्दछन्। इमेलमा सम्पर्क गरौंला पुगेपछि। त्यही शब्दबाट छुटिृयौं। अमिलो मन बनाएर बाई गरेँ।
सोँचे। भगवानले माया गरेर मनुष्यलाई जीवन दिन्छन् र एकदिन फिर्ता लिएर जान्छन् उनले पनि बहुत माया गर्थिन र फिर्ता लिएर गइन। जीवनै नलगेपनि जीवनै लगेजस्तो फिल भयो मेरालागि। केवल सबैको मन बुझाउने एउटा मात्र कुरा ठानेर भोलीपल्ट स्वयम्भुको डाँडोमा गएर उनी उडेको आकाशतिर जहाजलाई हेरेर त्यो दिन कटाएँ।
***
उनीबाट टाढा भएपछि बेप्रवाह जिन्दगी जिउन थालेँ। विभिन्न मठमन्दिर धाउन थालेँ। गुम्बाहरु चहार्न थाले। जान अन्जान सबैसँग संगत गर्न थालेँ। एक्लो रहनथालेको केही वर्षहरु भए। एकदिन धेरै सोचेँ सायद सोचाइले होला सपनामा बित्नुभएको बुबालाई भेटेँ उहाँले सोध्नुभएछ बाबु म जिन्दगीबाट बिरक्तिएर हिडिँराछस् के सिकिस त जीवनबाट ? प्रेम कसलाई गर्नुपर्ने रहेछ जीवनमा ?पितृलाई ? देवतालाई? आफन्तलाई? आफ्नालाई? प्रेमीलाई? परिवारलाई?
मैले अनायसै भनेछु आफनो ‘दुःखलाई ’। बुबा मुस्कुराएर जानुभयो म ब्युँझेछु। त्यसदिनदेखि म खुशी भएँ मलाई खुशी हुनपनि कुनै ठूलोचिज चाहिँदैन। कसैका प्यारा शब्द भए पुग्छ। मलाई बुबा मुस्कुराएको अनुहार नै प्यारो लाग्यो दुःख पर्दा यही अनुहार सम्झन्छु र समालिन्छु।