मेरी छोरी अनुरा तीन वर्ष पुग्दैछिन्। छोरीका वर्षहरू बढ्दै जाँदा बाबुका मनमा आउने भावनाहरूलाई मैले कवितामार्फत् पोखेको छु। र, यो कविता अनुरा जस्तै सबै छोरीहरूका निम्तिः
छोरी, हरेक बिहान
तिमीलाई लमतन्न परेर सुतेको देख्दा
आँखा भरी भरी हेर्छु र मनमनै भन्छु-
तिमी हुर्कनु भनेको,
तिमी यसरी सुतेको हामीले हेर्न पाउने दिन घट्नु पनि त हो
तिमी ‘नछुने’ हुने दिन चाँडै आउनु पनि त हो
तिम्रो बिहे हुने दिन चाँडै आउनु पनि त हो
तिमी हामीसँग टाढा हुने दिन चाँडै आउनु पनि त हो
तिमी मन्दिर जान नपाउने दिन चाँडै आउनु पनि त हो
तिमी भान्सामा पसेर खान नपाउने दिन चाँडै आउनु पनि त हो
दाजुभाइले सोफामा बसेर रमाइलो गर्दा
ढोका छेउको मुडामा बसेर टुलुटुलु हेर्ने दिन चाँडै आउनु पनि त हो
यो त तिम्रा लागि मात्रै हो छोरी
अझै तिमीजस्तै अरू धेरै तिम्रा साथीहरूका लागि त
छुट्टै गोठमा बसेर रुनु पनि त हो
सर्पले डसेर मर्नु त पनि हो
तिमी हुर्कनु भनेको
अनेक विभेदको शिकार हुने दिन चाँडै आउनु पनि त हो
तै पनि हेरक दिन तिम्रो लम्बाइ बढ्दै जाँदा ओठमा मुस्कान छाउँछ
तर किन हो किन छोरी
मन गह्रौं हुन्छ
उकुसमुकुस हुन्छ
डर लाग्छ
अनि म सोच्छु,
ती तिमीलाई वर्षैभरी म्वाँइ खानेहरू
छुनुमुनु भन्नेहरू
कपाल मुसार्नेहरू
केही वर्षपछि किन तिमीलाई हरेक महिना
केही दिनका लागि नछुने बनाउँछन्
किन छोरी किन?
तिनीहरूले भन्नेछन्, भगवान खुसी पार्न
तिनीहरूले भन्नेछन्, पितृ खुसी पार्न
तिनीहरूले भन्नेछन्, परम्परा धान्न
तिनीहरूले भन्नेछन्, धर्मको रक्षा गर्न
तर छोरी आफ्नै शरीरको रगत बग्दा
तिमीले के पाप गरेको हुन्छ?
आफ्नै शरीरको रगत बगेर ‘नछुने’ भइँदिदा
धर्मको रक्षा कहाँ हुन्छ?
आफैंलाई रुवाएर अरूलाई खुसी पार्दा
कहाँ परम्परा जोगिन्छ?
त्यसैले छोरी
तिमी रजस्वाला भएको दिन हामी मन्दिर जानुपर्छ है
भगवानलाई भेटेर सुनाउनुपर्छ है
खुसी मनाउनुपर्छ है
त्यो त उत्सव हो छोरी
त्यो त उत्सव हो
तिमीले सृष्टि गर्नेसक्ने क्षमता बोक्ने दिन
त्यसैले छोरी, हरेकपटक रजस्वाला हुँदा
तिमी नजिकैको मन्दिर जानू,
मस्जिद जानू,
गुम्बा जानू,
चर्च जानू
जहाँ-जहाँ भगवान बस्छन् त्यहीँ त्यहीँ जानू
जहाँ-जहाँ छुनहुन्न भन्छन् त्यहीँ त्यहीँ छोइदिनू
जे-जे गर्नहुन्न भन्छन् त्यही त्यही गरिदिनू
त्यसबापत नर्कमा मैले लाखौं कोर्रा खानुपरे पनि
तातो तेलमा डुब्नु परे पनि
म सहुँला छोरी त्यसको चिन्ता नगर
जिउँदै जल्नुभन्दा कल्पनामा जल्नु वेश।
अँ छोरी,
नर्कमा तेल कहाँ पाइन्छ भनेर तिनीहरूलाई सोध्नू
नर्कमा तोरी कहाँ फल्छ?
भटमास कसले पेल्छ?
कसको तेलको मिल छ?
कसको दोकान छ त्यहाँ?
पृथ्वीबाट नर्कमा तेल पठाउने त्यो व्यापारीको नाम के हो?
एक एक प्रश्न गर्नू छोरी
एक एक प्रश्न गर्नू
हरेक पटक प्रश्न गर्नू
तिनीहरूले तर्साउने छन्
‘पाप’ गरे नर्कमा कोर्राले हान्छन् भन्नेछन्
छोरी तिनीहरूलाई सोध्नू
नर्कमा कोर्रा कसले बनाउँछ?
कोर्राको व्यापार कसले गर्छ?
कोर्रा बनाउने कम्पनीको नाम के हो?
ठेगाना के हो?
एक एक प्रश्न गर्नू छोरी
हरेकपटक प्रश्न गर्नू
ठाडै प्रश्न गर्नू
गरेको गर्यै गर्नू
त्यसबापत मलाई लाग्ने पापको हिसाब उतै गरौंला
अँ तिमीलाई पनि त पाप लाग्ला नि!
लाग्यो भने पनि छोरी उतै हिसाबकिताब गरौली
यहाँ गर्नुपर्ने सबै गर्नू, पछिको हिसाबको चिन्ता नगर्नू
किन हो किन छोरी
बादल माथिबाट उड्दा म तिमीलाई पूर्णिमा देख्छु
जसै म धर्तीमा झर्छु तिमीलाई पहाडले आधा छेक्छ
तिमी अर्ध जून हुन्छेउ छोरी
धर्तीमा ओर्लनेबित्तिकै तिमी अर्ध जून किन हुन्छेउ, हँ किन?
तर छोरी
हामी तिमीलाई आधाबाट दुईतिहाइ बनाउने छौं
बाँकी एकतिहाइ तिमी आफैं थप्नू है
छोरी तिमी तीन वर्षकी भयौ
अहो, तिमी तीन वर्षकी भयौ
साँच्चै कति चाँडै
तिमीलाई जन्मदिनको शुभकामना छोरी
तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना !!!