‘बाबा, अब त दसैं लाग्यो नि, जमरा पनि राखियो, अब मेरो जुत्ता किन्ने होइन?’ मैले दसैंमा उसलाई नयाँ जुत्ता किन्दिन्छु भनेर गरेको प्रतिज्ञालाई सम्झाउँदै तीन कक्षामा पढ्ने छोरीले घरमा घटस्थापनाको जमरा राखिसकेपछि भनी।
दसैंमा पक्का किनिदिन्छु भनेर मैले धेरै दिनदेखि उसलाई टार्दै आइरहेको थिएँ तर दसैं लागिसकेपछि भने मेरा बहानाहरू फिका भएर काम गर्न नसक्ने भैसकेका थिए।
‘हुन्छ, भोलि नेपालगन्ज जान्छु दसैंको सामान किन्न उतैबाट ल्याइदिन्छु नि, मेरी प्यारी छोरीलाई,’ मैले उसको मुखमा बुझो लगाएँ। फुरुंग हुँदै ऊ एकातिर खेल्न गई ।
धेरै भएको थियो नेपालगन्ज नगएको, १५-२० वर्ष नै भएको थियो होला।
पहिले पहिले पश्चिम नेपालको निकै प्रचलित व्यापार केन्द्र भए पनि पछि पछि पूर्वपश्चिम राजमार्ग पूरा भएपछि र काठमाडौंको आवागमन अलि सहज भएपछि नेपालगन्जको त्यो व्यापारमा मन्दी आउन थालेको थियो। तै पश्चिम नेपालको भारत पस्ने प्रमुख नाका भएकोले अरुबेला नभए पनि दसैंतिर त्यहाँ भारतमा काम गर्न गएका पश्चिम नेपालका लाहुरेहरूको फर्कने भीड नै हुन्छ। यस पटकको दसैंमा बच्चाबच्चीको लागि केही कपडा र जुत्ता अनि दसैंको लागि सामान पनि किन्न नेपालगन्ज जानु पर्ला भन्ने सोच मैले पहिले देखि नै बनाएको थिएँ।
त्यसका मुख्य कारणहरूमध्ये एउटा थियो- रुपइडीहाको सस्तो बजार।
लत्ताकपडादेखि दसैं तिहारलाई चाहिने मरमसला अनि पूजाका सामग्री पनि नेपालभन्दा त्यहाँ अलि सस्तो पर्थ्यो। त्यसो त कृष्णनगर गए पनि उस्तै उस्तै हो दूरी र मूल्य पनि तर नेपालगन्ज जानुको अर्को एउटा कारण चाहिँ फुपूलाई भेट्नु पनि थियो।
साक्खै फुपू नभए पनि बालिका फुपूले मलाई सानैदेखि निकै मन पराउनु हुन्थ्यो।त्यतिबेला कसैले बालिका, कसैले बुना, कसैले बिस्नी भने पनि उहाँको खास नाम चाहिँ मैले धेरै पछि मात्र थाहा पाएको थिएँ।
उहाँ मेरी दिदीकी उमेरकी हुनुहुन्थ्यो, बानी व्यहोराको कुरोमा गाउँकै सबभन्दा सोझी केटी। मेरी दिदी, उहाँ अनि गाँउका अरु केटीहरू हिउँदमा लमडरुवाको खरकट्टीमा बयर टिप्न जाँदा होस् या वर्षामा खजुरे वनमा फुटुकी टिप्न जाँदा होस्, उनीहरूले लान मन नगरे पनि म जबर्जस्ती उनीहरूको पछि लागेर सँगै जान्थें जसमा अरु केटीहरूले मलाई गाली गर्थे भने फुपूको चाहिँ मलाइ समर्थन हुन्थ्यो।
मेरी दिदीको अलि सानै उमेरमा बिहे भयो, केही महिना पछि फुपूले पनि आफैंले भागेर बिहे गर्नुभयो नेपालगन्ज। उहाँ जस्ती सोझी केटीले आफैं भागेर बिहे गरेको थाहा पाएर त्यतिबेला गाउँमा ठूलै खैलाबैला मच्चिएको थियो।
उहाँको बिहे भएपछि म एक पटक उहाँको घर गएको थिएँ। पछि नेपालगन्ज जाँदा बिहान गएर साँझ अलि अबेर फर्किने गरिन्थ्यो, त्यसपछि त नेपालगन्ज नै जान छोडियो। पछि म गाउँ छोडेर बाहिर बस्न थालेपछि उहाँसँग मेरो भेट नभएको धेरै वर्ष भएको थियो।
फेसबुकमा साथी बनेपछि उहाँसँग कुरा हुन्थ्यो,उहाँले मलाई नेपालगन्ज आउन निकै कर गर्नु हुन्थ्यो। त्यसैले फुपूले आइज भनेर मरिहत्ते गर्नु भएकोले पनि म यसपालिको किनमेल गर्न दसैंको द्वितीयाको दिन बिहान अलि सबेरै खाना खाएर नेपालगन्जतिर हान्निएँ।
नेपालगन्ज बसपार्कमा ओर्लेपछि फुपूलाई फोन गरें।
फुपूले भनेअनुरसार अटो रिक्सा लिएर फुपूको घरतिर गएँ। लगभग २० वर्षपछि मलाई देख्दा फुपूको पनि खुसीको सीमाना रहेन। फोटोमा फेसबुकमा देखिरहे पनि अलि बूढी हुनुभएको रहेछ। मलाई अंगालोमा हालेर आँखाबाटआँसु चुहाउनु भयो। बाल्यकालका सम्झनाहरू ताजा भएर आए,मलाई पनि मन ढक्क फुलेर कस्तो कस्तो भयो तर आफूलाई सम्हालें। समय कति छिटो बित्दो रहेछ ।
‘आज त यतै बस्नु पर्छ जसरी भए पनि’मैले जाने कुरा गर्दा उहाँले जिद्दी गर्नुभयो। मैले नकार्न सकिनँ।
अर्को दिन बिहानै बागेश्वरी मन्दिरको दर्शन गरेर अलि सबेरै खाना खाएर रुपइडीहा जाने निर्णय गरेर म त्यो रात फुपूकोमा बस्ने निधो गरें।
खाना खाइवरी टिभी हेर्न बस्यौं। टिभी हेर्दै थियौं, प्रधानमन्त्रीले नेपाललाई खुला दिसामुक्त देश भनेर भन्दै गरेको समाचार आइरहेको थियो। कता कता हाँसो लाग्यो । सधैं ठट्टा गरिरहने उनले काठमाडौंमा मास्क लगाउनु पर्दैन भनेर भने जस्तै आज पनि ठूलै ठट्टा गरेछन् भन्ने लाग्यो। तर अलि ध्यान दिएर हेर्दा त्यो त औपचारिक कार्यक्रम नै रहेछ, उनको ठट्टा मात्रै रहेनछ। निकै तामझामसहित नेपाल खुला दिसामुक्त देश भयो भनेर घोषणा हुँदै रहेछ। त्यसपछि मलाई अलिकति रुची लाग्यो।
प्रधानमन्त्रीको घोषणापछि प्रतिक्रिया दिने क्रममा सरकारी कर्मचारीले नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश भएको भन्दै थिए। अर्को एक जनाले त संसारकै पहिलो खुला दिसामुक्त देश भएको दाबी गर्दै थिए। त्यो सुनेर मलाई अलिकति भए पनि खुसी लाग्यो।
आफ्नो पुर्पुरोमा भारतका सीमावर्ती साना बजार भन्दा परको विदेश देख्ने लेखेको नभए पनि बाहिरका देशहरू विकसित र सभ्य होलान् भन्ने लागेको थियो तर बाहिर जथाभावी शौच गर्ने कुरामा त उनीहरू पनि हामी जस्तै रहेछन्। नत्र नेपाल खुला दिसामुक्त देश भैसक्दा पनि उनीहरूले आफ्नो देशलाई खुला दिसामुक्त घोषणा गर्न सकेका रहेनछन्।
अन्य विकासका काम खासै गर्न नसकेको भए पनि सरकारले त्यो काममा चाहिँ निकै ठूलो प्रगति गरेको थाहा पाएर खुसी पनि लाग्यो।
बिहान घरबाट हिँड्दा बाटोमा गरेको खुला दिसा कुल्चेर साइत बिग्र्यो भन्ने लागेको थियो। तर दिसा कुल्चेर साइत बिग्रेको हैन, सप्रेको पो रहेछ, पहिलो कुरा त फुपूको दर्शन पाइयो अनि दोस्रो कुरो नेपाल खुला दिसामुक्त देश भएको समाचार आएको थियो।
अब भोलिदेखि त कसैले पनि बाटोमा लहरै बसेर शौच नगर्लान् अनि मेरो साइत बिगार्ने काम पनि नगर्लान् भन्ने सम्झँदै मन प्रफुल्ल भयो।
असोजको महिना भए पनि दुई चारवटा लामखुट्टे कानमै सल्लाह गर्न आइपुगेका थिए राति तर राम्रै निद्रा पर्यो। बिहानै परको मस्जिदबाट बजेको ठूलो आवाजले निद्रा खलबलियो। नित्यकर्म सकेर सबेरै बागेश्वरीको दर्शन गर्नतर्फ लागें।
बिहानीको त्यो झिसमिसेमा मान्छेहरू बाटोको दुवैतिर बसेर शौच गर्दै थिए। के जातेलाई भन्दा देख्नेलाई लाज भने जस्तै म पनि नदेखेको जस्तो गरेर फटाफट हिँडे।
फेरि साइत बिग्र्यो जस्तो लाग्यो। हिजो मात्रै खुला दिसामुक्त देश बनेको नेपालमा अर्को दिन बिहानै त्यस्तो देख्दा दिक्क लाग्यो। कमसेकम प्रधानमन्त्रीको बोलीको इज्जत राख्न भए पनि त्यसो गर्नु हुँदैनथ्यो नि!
आइमाइहरूले बाटोमा शौच गर्दा कुनै मान्छेलाई देखे भने छोप्नु पर्ने ठाउँ नछोपेर बरु उल्टै धोती उठाएर धोतीले मुख छोप्छन् रे भन्ने सुनेको थिएँ। त्यसैले सडकको दायाँ बायाँ यताउता नहेरी लम्की लम्की मन्दिर पुगें,ठूलै समस्याबाट मुक्त भए जस्तो लाग्यो।
मन्दिरको दर्शन गरी पुजारीसँग टीका लगाएर अर्को बाटोबाट म फुपूको घर फर्कें। तर अर्को बाटोको पनि हाल त्यस्तै थियो। दिसैदिसाको थुप्रो। नाक थुनेर छिटोछिटो हिँड्दै फुपूको घर पुगें। अलि सबेरै बिहानको खाना खाएर साढे नौ बजेतिर फुपू र म रुपइडीहा निस्क्यौं। साँझको जस्तै बिहानको खाना पनि निकै पिरो र मसलेदार थियो, तर निकै मीठो। हामी अटो रिक्सा लिएर रुपइडीहा गयौं।
बाटोमा मलाई कटक्क पेट काट्यो।
फुपूलाई सोधें, ‘यहाँ सार्वजनिक शौचालय कतै छैन फुपू ?’
‘छैन त किन र?’
‘मलाई त अलि बढी नै भयो जस्तो छ’, मैले लाज नमानी भनें।
‘बिहान ट्वाइलेट गएनौ र?’
‘गा’ त हुँ तर खै फेरि पेट काट्यो।’
‘पिरोले हो कि ?’
‘होला, धेरै पिरो खाने बानी थिएन।’
‘भन्नु पर्थ्यो नि त। के गर्ने त ? कि रिक्सा रोकेर त्यहीँ पारी घरको ओत लागेर गर्छौ त ?’ फुपूले सोध्नुभयो।
‘हिजै प्रधानमन्त्रीले खुला दिसामुक्त देश भनेर घोषणा गरेका छन्, हामी जस्तो अलि अलि बुझेका मान्छेले त त्यसो गर्नुभएन कि?’ मैले आफ्नो विचार राखें।
‘त्यो गर्नु भन्दा पहिले सार्वजनिक शौचालय बनाउनु पर्यो नि नत्र यस्तो बेलामा कहाँ गएर गर्ने जनताले?’ फुपूले टिप्पणी गर्नुभयो।
‘त्यो त हो तर के गर्ने?’
मलाइ निकै गाह्रो हुन थालिसकेको थियो। सायद बाटो मै कतै लुक्ने ठाउँमा गएर बस्नुपर्छ कि जस्तो हुन थालिसकेको थियो।
‘रोकेर राख्नु भन्दा जाऊ बरु त्यहीँ बाटोमा कतै बस, ऊ अरु पनि त बसेका छन् नि!’ बाटोमा शौच गर्न बसेका केटाकेटीलाई देखाउँदै फुपूले भन्नु भयो।
तर मलाई आँट आएन, रोकेर बसें।
‘अब एकैछिनमा त आइपुगिहाल्ला नि,रुपइडीहा पुगेपछि गरौंला।’
रुपइडीहामा अटो रिक्साबाट ओर्लेपछि सबभन्दा पहिले मेरो प्रश्न थियो- ‘ट्वाइलेट कता छ?’
‘यतै बाटोको छेउमा गर्नुस् न’ सामान किन्दै गरेको एक जना नेपालीले भने।
‘हैन त्यसो कहाँ हुन्छ? स्वच्छ भारत अभियान चलेको छ हाम्रो यहाँ, सार्वजनिक शौचालयमा गएर गर्नुस् न’ टुटेफुटेको नेपालीमा पसलेले भन्यो।
‘कहाँ छ त सार्वजनिक शौचालय?’ उसले त्यति भनिनसक्दै मैले सोधें।
उसले मलाई शौचालय देखाइदिएपछि म दौडेर त्यहाँ पसें। सायद स्वर्ग पुग्दा पनि नहुने आनन्दको अनुभव भयो।
शौचालयमा बस्दा प्रधानमन्त्रीले खुला दिसामुक्त देश घोषणा गरेको र कर्मचारीले संसारकै पहिलो खुला दिसामुक्त देश भनेको दृश्य झल्झली याद आइरहेको थियो ।