घरको दायाँपट्टीको ग्यारेजमा गाडी थन्क्याएर बिजय लिविङ रूमभित्र पस्ने बित्तिकै टिभी खोल्छ। घाँटीबाट टाई निकालेर सोफातर्फ हुत्याउँछ। घरमा आफू आइपुगेको जनाउ बाथरूममा पसेपछि खोकेर दिने गर्दछ।
अन्य दिनहरूमा पूजाले अहिलेसम्म उसका अगाडि कोल्ड कफी टक्रयाइसकेकी हुन्थी। तर, आज घर पूरै सुनसान छ। बिजय आफैं किचनमा गएर एक झट्कामा ’ड्याम्म’ फ्रिजको ढोका खोल्छ र चिसो पानी पिउँदै फर्केर पुनः टिभीतर्फ नजर दौडाउँछ। यत्तिनैखेर ‘मेल चेक गर्नू’ मात्र लेखिएको पूजाको म्यासेजले उसको मोबाइल भाइब्रेट हुन्छ।
पूजाको यस्तो अस्वाभाविक रवैया पहिले अनुभव नगरेकाले विजय हत्तपत्त मेल खोल्छ। पचासौं ‘अनरिड’ मेलहरूमा पूजाको मेलमा आँखा पुर्याउँछ र मेल ओपन गर्छ।
डियर बिजय,
मरुस्थलझै बेजान तिम्रो र मेरो बीचको सम्बन्धलाई सम्बोधन गर्न ‘डियर’ लेख्नु मेरा निम्ति ज्यादै असहजताको स्थिति हो। तर, पनि औपचारिकता निभाउनु पर्ने सन्दर्भमा कतिपय कुराहरू मन नलागी नलागिनै गर्नुपर्ने बाध्यता आइलाग्ने रहेछ। त्यसैले, यस्ता शब्दहरूबाट तिमीलाई सम्बोधन गर्नु भनेको मेरा लागि बाध्यता र औपचारिकता दुवै हो भन्दा फरक नपर्ला।
खै, कसरी कताबाट सुरूआत गरूँ? किनभने हामीबीच आक्कल झुक्कलमात्र हुने वार्तालापहरूले गति समातेको इतिहास हाम्रो जीवनका अध्यायहरूमा कतै भेटिदैन। तिम्रो र मेरो बीचमा शब्दहरू भन्दा मौनता नै सधैं हावी हुने गर्थ्यो। गहिरो रूपमा जरा गाडेको यो परम्पराको निरन्तरता नखल्बलियोस् भनेर मैले मेल लेख्नु उचित सम्झे। यसलाई अन्यथा भने नलिनू।
जीवन चलायमान छ, जो न हाम्रो दु:खमा ढाडस दिन अड्किदो रहेछ न त सुखमा बधाई दिन। त्यसैले बिजय, समयको धारसँगै खारिनु र निख्रिनु नै मानवीय बुद्धिमानी हो भन्ने कुराको महत्वपूर्ण पाठ तिमीसँग बितेका जीवनबाट पाएकी छु।
औपचारिकताले जलप लगाएकामा तिम्रो र मेरो सम्बन्ध जोडिएको तीस वर्ष हुन लाग्यो है ! तर यी वर्षहरू मैले कसरी बिताउनु पर्यो कहिल्यै ख्याल गर्यौ र तिमीले? अह ! कदाचित गरेनौ। तर, मलाई लाग्छ,अब त्यसको आवश्यकता रहेन। यो क्रम सदाका लागि भंग हुनुपर्छ।
यत्ति पढ्दै गर्दा असिना पसिना भएको बिजय अनिश्चितताको कालो बादलमा आफू पसिसकेको चाल पाइसक्छ। मुटुको धड्कन अघिभन्दा द्रुत गतिमा दौडिरहेको हुन्छ। ऊ अगाडि पढ्छ ...
तिम्रो र मेरो विवाह फगत औपचारिकता बाहेक केही हुँदै भएन। बिहेको दोस्रो दिन बिहानै तिमीले भनेको कुरा सम्झना छ? मृत्युको मुखमा रहेकी आफ्नी आमाको अन्तिम इच्छा पूरा गर्न परिवारको करकापले तिमीले मसँग विवाह गरेको थियौ रे। नत्र मेरो जस्तो परिवेशबाट आएकी युवती तिम्रो ‘क्राइटेरियामा’ पर्दैन।
रंगिन सपनीको नगरीमा प्रवेश गर्न नपाउँदै तिमीबाट भएको त्यो पहिलो धोका थियो जुन हरक्षण नपुरिने घाउ बनेर दुख्न थाल्यो र आजसम्म पनि दुखिनै रहेको छ।
तिम्रो आवरण आधुनिक थियो र तिम्रो आधुनिकताको परिधिभित्र मेरो व्यक्तित्व अटाएन। म समय अनुसार पढेलेखेकी युवती थिए, आफ्नो मूल्यमान्यतालाई त्यागेर तिम्रो तामझाममा रम्न सक्ने मनस्थिति हुँदैनथ्यो। भयो त्यही, तिम्रो र मेरो बीचका खाडलहरू थप गहिरा हुँदै गए।
तिमी र मबीचमा मायाप्रेम त परै जाओस् सामान्य सम्वादहरूको उपस्थिति पनि न्यून प्रायः हुन्थे। अझ दुई छोरा जन्मेपछि त तिमीले आफू कसैको लोग्ने हुनुको कर्तव्यको इतिश्री गरिसकेका थियौ।
मेरो ‘ड्रेस अप’ देखि लिएर मेरो कुरा गर्ने शैली अथवा मसँग साइनो भएका कुनै पनि कुरा तिमीलाई मन पर्दैनथ्यो।
तिम्रा लागि नै भनेर जीवनमा पाएका संस्कारहरूमा केही त सम्झौता गर्न सकिन्थ्यो तर सम्पूर्णतामा आफूलाई बदल्नु असम्भव थियो। त्यो भन्दा पनि महत्वपूर्ण कुरा तिमीले मप्रति गर्ने व्यवहारमा मिठास कतै नभेट्दा आफूलाई परिवर्तन गर्ने र नगर्ने कुराहरू गौण हुन पुगे।
तिम्रो र मेरो जीवन सुरू भएता पनि विपरीत स्वभाव र जीवनलाई हेर्ने दृष्टिकोणका कारण नजिकिएनौं।
नियमित प्रक्रियाले यसरी नै जीवन चल्दै र धकेलिँदै गयो।
मेरो अप्ठ्याराहरूसँग तिमीलाई कुनै पनि प्रकारको वास्ता थिएन भन्ने कुरा त्यतिबेला थाहा पाए जतिबेला हाम्रो जेठो छोरा राकेश जन्मिने बेला प्रसव पीडाले छट्पटाइरहेकी म, डाक्टरले रगतको कमी छ रगतको व्यवस्था गर्नुस् भन्दा आफ्नो पिएलाई यसको जिम्मा दिएर मिटिङ छ भन्दै दौडेको। त्यस अवस्थामा तिमीले मेरो हातमात्रै सुम्सुम्याइ दिएको भए पनि मेरा नशाहरूमा अपार बलको संचार हुने थियो।
तर ठीकै छ, महिलामा अन्तर्निहित शक्तिहरूसँग म त्यतिबेलादेखि अझ बढी मात्रामा परिचित हुन थाले। त्यो घटना मेरा लागि आत्मबल नाप्ने कसीसँगै सकारात्मकतातर्फ बढेको यात्राको पहिलो बिन्दु थियो।
त्यसैले, कान्छो छोरा जन्मदा तिमीलाई कुनै जानकारी नदिइ सिधै छोराको गृह प्रवेश गराएकी थिए। आज छोराहरू लायक भएर विदेशमा राम्रो जागिर गरिरहेको देख्दा गर्व र फूर्ति लाउन एक छिन पनि हिचक मान्दैनौ, तर के तिमीलाई सम्झना छ!
छोराहरू बिरामी हुँदा रातभरि आँखा नझिम्क्याएर मलाई एक्लै जागा बसिरहेको देख्दा पनि के तिमी उनीहरूलाई सुम्सुम्याउन आउँथ्यौ र ? तिमी अर्को कोठामा घुरेर सुत्न सक्दा मेरो मुटु बच्चाहरूका लागि कति पट्क आत्तिन्थ्यो आत्तिन्थ्यो।
तिम्रा चालचलनका बारेमा पनि मलाई वास्ता हुन छाड्यो। तिम्रा बाहिरका सप्तरंगी सम्बन्धले मलाई खासै असर गरेन। आ–आफ्नो तरिकाले खुसी हुनु प्रत्यकको नैसर्गिक अधिकार हो, मैले त्यही बुझेकी थिएँ। त्यसैले, तिमीले पनि खुसी हुनु पाउनु पर्छ।
तिम्रो घरबाट अलग हुन मन नलागेको त होइन तर समाज र समाजभित्र महिलाका लागि निर्माण गरिएका मूल्य र मान्यताहरूको सीमारेखालाई नाघ्न सक्ने क्षमता मभित्र थिएन। अनि यो समाजले म जस्ती महिलालाई बाँच्न पनि कहाँ दिन्छ र? यदि मैले त्यसो गरेको भए अनेक दिग्भ्रमित गर्ने खालका ट्यागहरू मेरो व्यक्तित्वमा झुण्ड्याइन्थ्यो।
अर्को महत्वपूर्ण कुरा आमा–बुवा अलग बस्दा छोराहरूको मनस्थितिमा कस्तो असर पर्ला? यी सबै कुराको आंकलन नगरी निर्णय गर्नु उचित थिएन। सोचेँ, भैगो यो पिंजडा नै ठीक छ अनि आक्रमक हुने मनसुवा छाडिदिए। लोग्नेको मृत्यु पश्चात पनि समाजमा कैयौं महिलाहरू जीवन धानिरहेकै हुन्छन्। तिम्रो भौतिक उपस्थितिलाई मैले सबैथोक मान्ने गरी आफूलाई तयार पारेँ।
यी परिस्थितिका बीचमा पनि आफूलाई कम कहिल्यै आँकलेकी भने थिइनँ।
एकपटक, तिम्रो एक्सिडेन्टमा हात भाँचिदा लगभग पैतालिस दिनसम्म तिम्रो सेवा गर्दा मतर्फ नहेरी नै ‘धन्यवाद’ भन्यौ है! अरे अस्पतालामा पनि नर्सले इन्जेक्सन लगाउँदा मुस्कुराएर अनुग्रही हुनुपर्छ भने म त तिम्री कथित अर्धागिंनी थिएँ। तर ठीकै छ, तिमीले मलाई आफूलायक देख्दैनथ्यौ र यो सबै स्वभाविक थियो।
यस्तै यस्तै पाराले तिमीले मेरो हैसियतमा बेला मौकामा ठेस पुर्याइरहने हुँदा मेरो प्राणबाट बिस्तारै तिमीप्रतिको तिर्खा पनि मेटिन थाल्यो। शायद पहिलेको जुनीमा तिमीले ममाथि निक्कै ऋण थुपारेको रहेछौ, जो यो जुनीमा तिर्देछु भन्ने कुराले चित्त बुझाउँथेँ। पटक पटक खस्दै, आफूलाई ढाडस दिँदै र पुनः उठ्नु कतिबेला मेरो दिनचर्याको हिस्सा बनेको रहेछ पत्तै पाइनछु।
तिम्रो व्यक्तिगत जीवनप्रति मलाई कहिल्यै चासो नै भएन। मान्छे-मान्छेबीच न्यानोपना भए पो चासो हुने हो होइन र? त्यसैले तिम्रो कमाइ, जागिर , दैनिकीजस्ता समग्र पक्षहरू मेरा सरोकारको विषय रहेनन्।
हो, घर चलाउन तिमी प्रत्येक महिनाको एक गते भान्साको र्याकमाथि महिनाभरिको खर्चका लागि पैसा राखेर जान्थ्यौ। एक मनले त लाग्थ्यो हुत्याइँदिउ पैसा तिम्रो अगाडि। तर होइन, किन? तिम्रो घरमा म तिम्रो घर चलाउन आएकी मान्छे जो थिएँ। त्यसैले आफूलाई सम्झाउँथेँ।
घरमा सरसफाइका लागि आउने मान्छेहरूसँग मधुर स्वरमा बोलेको तिमीलाई चित्त बुझ्दैनथ्यो। जसको कारण थियो तिम्रो लेवल हत्तपत्त अरुको लेवलसँग मेल नखानु। एक मनले लाग्थ्यो तिम्रो जस्तो लेवल सबैको हुँदो हो त संसार ‘निचारेको कागती’ झै हुन्थ्यो।
अनि, एउटा पिताले निर्वाह गर्नुपर्ने भूमिका तिमीले कति निर्वाह गर्यौ? सक्छौ भने एकचोटी फुर्सदमा बसेर आत्ममूल्यांकन गर्नू। अरुका आमाबुवा स्कुलका कार्यक्रममासँगै गएको देख्दा हाम्रा बच्चाका अवोध आँखाहरूमा प्रश्न हुन्थे। तिम्रा बारेमा सोचिरहेका हुन्थे। सहनै नसकी बच्चाहरूको सामू आँसु लुकाएर बाथरूममा गएर आँसु पुछेर फर्कन्थें।
घरमा नातेदार आउँदा सबै औपचारिकता मैले निर्वाह गनुपथ्र्यो। तिमी त कुनै न कुनै बहानामा घरबाट फुत्किसक्थ्यौ। तर अहँ ! तिमीलाई यी सब कुराले केही फरक पर्दैन भन्ने कुरा तिम्रो व्यवहारले मज्जाले दर्शाउँथ्यो।
धन्न! तिम्रो घरमा मलाई जागिर गर्ने छुट मिल्यो। कतै यो स्वतन्त्रता पनि गुम्ला कि भनेर म कति पटक डराएकी थिएँ। मेरो जागिर गर्ने बहानामा बाहिर निस्कन नपाउने भए र घरमा सीताको उपस्थिति नहुँदो हो त शायद मैले डिप्रेसनका चक्की खानुपर्ने हुन्थ्यो होला।
तर, मेरो आत्मबलका कारण त्यो अवस्थासँग सामना गर्नुपरेन। खैर, मलाई यी सब कुराहरूको बानी परिरसकेको थियो। तिमीले तिम्रो शिक्षालाई पैसा कमाउन मात्र प्रयोग गर्यौ।
तर मैले आर्जित शिक्षाबाट जीवन समग्रतामा कसरी बाँच्न सकिन्छ भन्ने कुराको हेक्का राखेर हिँडें र बच्चाहरूमा एक प्रकारको संस्कारका बिजारोपण गर्नमा सफल भएँ। जसको कारण आज उनीहरू असल मान्छे भएर उभिएका छन्।
बिजय कत्ति धेरै कठ्यांग्रिनु। म आफैंलाई सम्झाउन थाले, एउटा लक्ष्य बनाएँ। कस्तो हाँस उठ्दो लक्ष्य! कुनै दिन केही क्षणका लागि भए पनि आफ्नानिम्ति आफ्नै तरिकाले बाँच्ने ‘लक्ष्य’।
केही समयपछि तिमीले तिम्रो प्रोफेसनल कामबाट अवकास लिनुपर्छ होला शायद। र, यसैसँग तिमी र तिम्रो घरप्रतिको मेरो कर्तव्य पनि लगभग सकिसक्यो। त्यसैले तिम्रो घरबाट म जाँदैछु। उमेरले साथ दिएको खण्डमा बचेका केही समय अब आफ्नै लागि आफ्नै तरिकाले बिताउने अभिप्सा पलाएको छ। जीवनका उत्तरार्धको समय केवल ‘आफ्नो लागि’ हुनेछ। हरपल आफ्ना लागि। केही क्षण जिन्दगीसँग निर्वाधरूपमा सुस्ताउन चाहन्छु। जीवनलाई अंगालो हालेर मस्त निदाउन चाहन्छु।
छोराहरूको चिन्ता नगर उनीहरूले तिमीलाई र मलाइ राम्ररी चिनेको छन्। उनीहरूको चाहना पनि यही छ कि म आफ्नो तरिकाले बाँचु। उनीहरूमा तिमीप्रतिको इज्जतको भावनालाई मैले खल्बिलिन दिएकी छैन। तिमीलाई गाह्रो भए उनीहरूसँग गएर बस्न सक्छौ। तर मलाई लाग्दैन उनीहरू अब यहाँ फर्केलान् भनेर।
अहिलेलाई उनीहरूसँग बस्ने मेरो सोच छैन। कता जान्छु तिमीलाई भनिरहन आवश्यक पनि ठानेकी छैन। बस ! तिमीसँग गाँसिएका सम्बन्धहरूको अध्याय समाप्त गरी यो जीवनबाट मुक्त हुन चाहन्छु।
बिहानीको शीतको थोपाहरूझैं पातमा नाँच्दै आनन्दसँग खस्न चाहन्छु। त्यही ‘आनन्द’ जसलाई तिम्रो सुनको पिँजडामा मैले बन्धकी बनाएर राखेकी थिएँ। सरर् हावाको गतिसँगै मन लागेको गीत गुन्गुनाउँदै उन्मुक्तताको मादकतामा हराउन चाहन्छु।
हो! बिजय मैले जीवनका यी अन्तिम क्षणहरूमा धेरै अपूरा तृष्णाहरू पूरा गर्नुछ। त्यसैले मेरो लागि अब तिमी केही नसोच्नू र मप्रति कहिँकतै अलिकति पनि सदभाव तिमीमा छ भने खोज्ने चेष्टा पनि नगर्नू। तिमी आफ्नो शरीरको भने ख्याल राख्नू। डाक्टरले भने अनुसार आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनू। छोराहरू र म तिम्रो स्वास्थ्यप्रति सधैं चिन्तित रहन्छौं।
धन्यवाद
पूजा।
यो मेल पढिसक्दा बिजयको आँखा अगाडि पूरै अँध्यारो छाउँछ। मोटो फ्रेमको चश्मा खोलेर भुइँमा घुँडा टेक्छ। आफ्नो जीवन सिनेमाका दृश्यहरू बनेर रिवाइन्ड बटन थिचे जस्तै पछाडि फर्किरहेछन्। फुटिसकेको जीवनका टुक्राहरू खुट्टामा नराम्ररी बिझिरहेको आभाष हुँदै गइरहेको छ। ऊ गहन सोचमा डुब्छ। जीवनका उत्तरार्धमा जब पूजाको सबभन्दा बढी आवश्यकता छ आफ्नो वरिपरि उसलाई नपाउँदा शून्यतामा विलिन भएको जस्तो महशुस गरिरहेको छ ऊ।
यत्तिकैका हातमा चिया र खाजा बोकेर सीता आउँछिन्।
‘सीता तिमीलाई थाहा छ म्याडम कता गइन् ?’
‘थाहा छैन, सा’ब तर जान दिनुस अब उनलाई। परिस्थिति र संघर्षसँग जुध्दै गर्दा पूरै टुटिसकेकी छन्। यो घरले मागिरहेका कर्तव्यहरू सबै पूरा गरेर गइन्। अब पनि बोलाउनु भयो भने हजुरलाई पाप लाग्नेछ सा’ब,’ भारी स्वरमा सीताले भन्छिन्।
‘तर हो ममा अलिकति पनि मानवता छ भने पूजाको यो यात्रामा बाधा हाल्नु हुँदैन।’ बिजय मनमनै सोचमग्न हुन्छ।
‘अनि सा’ब एउटा कुरा भोलिबाट म पनि यो घरमा काम गर्न आउँदिनँ। उमेर भइसक्यो काम गर्न छाडिदे भनेको मेरो लोग्नेले पाँच वर्ष भइसक्यो। म्याडमको लागि म यो घरमा आउँथेँ। अब त्यो माध्यम छुटिसक्यो,’ आँसु पुछिरहेकी सीताका यी शब्दहरूले विजयमा थप भय बढाउने काम गरिरहेको थियो।
दुइटा महिला जसले यो घरका लागि अक्सिजनको काम गरिरहेका हुन्थे उसैका सामुन्ने एकै दिन बिलाइरहेका थिए। पखेटा काटिएको पंक्षी सरह ऊ छट्पटाइरहन्छ अनि नि:शब्द भइ एकोहोरो भइरहन्छ।