मन्द मन्द चलिरहेको हावासँगै,
हल्लिरहेका चिल्ला पातहरू,
गालामा खेलिरहेका तिम्रा लटाहरू,
उन्मुक्तताको मादकतामा हराइरहेका छन्,
सामिप्यता होइन,
तिम्रो वरिपरिको सुगन्ध खोजिरहेको,
अतृप्त मनका निम्ति,
यो गोधुली साँझमा,
आऊ एकछिन भए पनि बात मारौं ।
सपनाहरू छरपस्ट छाडिदेऊ न एकछिन,
ती स्वयं तरंगित हुने नै छन्।
निस्तेज थकाईहरूलाई थाती राख न,
ती हिँड्न बिर्सने छैनन्
लामो सुस्केरा लिँदै सुस्ताऊ एकछिन
आकांक्षाहरू फेरि प्रफुल्लित हुने नै छन्।
यो गोधुली साँझमा,
आऊ एकछिन भए पनि बात मारौं
लटरम्म फलेका आलुबखडाहरू,
हेर न् कति राताम्य भइ पाकेका छन्।
स्वाद लिने तिम्रो जिब्रोमा,
व्यस्तताको लेउ जमेको छ।
प्वाँख फैलाउँदै पटक पटक कौसीमा आउने,
ढुकुरहरूलाई केही भन्न दिऊँ न ।
लालिमाले लुकाउँदै गर्दाको दिनलाई
एकछिन सँगै बसेर हेरौं न।
यो गोधुली साँझमा,
आऊ एकछिन भए पनि बात मारौं।
त्यो नजिकै देखिने हिमालको चुचुरो ,
अलिक माथिको क्षितिजिय आकाश,
रुमानी बादलका छिद्रहरू ,
सुकुमार मनलाई आराम दिने कलेवर,
स्वतन्त्र उडिरहेका चराको सौन्दर्य,
मनका कंपनहरूलाई निस्तेज पार्दै,
इन्द्रधनुषलाई एकछिन सँगै नियालौं न ।
यो गोधुली साँझमा,
आऊ एकछिन भए पनि बात मारौं।
त्यो अबोध बालकको मुस्कान,
दौडिरहेका आशक्तिका चाङहरू,
कुप्रो परेको जीवनका मेरुदण्डहरूमा ,
प्रतिबिम्बित भइरहेको हाम्रै जीवन त हो।
संकिर्णताको अमिलो भूमरीमा कति अल्मलिनु,
प्रज्वलित हुन खोजिरहेका दीपहरूलाई,
बल्न दिउँ न एकछिन।
चिनीको क्षणिक गुलियो भन्दा ,
तिम्रा र मेरा बातका मधुरतालाई चाखौं।
अस्ताइरहेको समयलाई,
एकछिन च्याप्प कैद गरौं न ,
यही क्षण पूरै जीवन बाँचिदिउँ न सँगै।
यो गोधुली साँझमा,
आऊ एकछिन भए पनि बात मारौं।