ठप्प छ दुनियाँ
स्तब्ध छन् मान्छेहरू
फिक्का गुलाबको रंग।
बहेको छ 
विना सुवासको 
बसञ्ती बतास।
निराश उडिरहेका मौरीहरू
हतास उडिरहेका पन्छीहरू 
डराइरहेका 
मान्छे–मान्छेसँग। 
रित्ता मन्दिर
मस्जिद
अनि गुरुद्वाराहरू 
के यो कलियुग 
अन्त्यको संकेत हो बसुधा??
तिमीले मान्छे बनायौ
मान्छेहरू कति सिपालु
हेर त बाँडिदिए तिमीलाई
मन्दिर, मस्जिद अनि चर्चहरूमा
तिमीले मात्र एक जाति बनायौ
मान्छे कति सिपालु!
त्यसमा रंगभेदका पर्खाल ठड्याए 
वर्गभेदको तगारो बनाए 
छुवाछुतको आग्लो लगाए।
यो कलियुग
बडो छलियुग!
आफ्नै स्वार्थमा डुबिरहन्छ
आफ्नै मज्जामा झुमिरहन्छ।
बसुधा! 
तिम्रो विनास गरेर 
विकास निम्त्याउने मान्छे
आज ‘कठै’ बनेको छ
निरिह बनेको छ
जन्मदिने आमामाथि गरेको 
कुकृत्यको सायद 
सजायँ भोगिरहेछ!
 
माकुराको बच्चाले
आफ्नै आमालाई खाएझैं 
खाइरहयौं
चपाइरह्यौं तिमीलाई। 
कति जल्यो होला
तिम्रो छाति 
मान्छेले खसालेका क्षेप्यास्त्रहरूले
कति डढ्यो होला
त्यो हृदय 
भयंकर आणविक भट्टि 
अनि ग्यास च्याम्बरहरूले।
त्यसैले 
यो श्राप दिएकी हौ बसुधा?
कोरोनारूपी श्राप।
 
यति बेला
झल्झली सम्झना आइरहेछ
पौराणिक कथा
भगवान शिवले तथास्तु भनेपछि
भष्मासुरले उनै शिवको 
शिरमा हात राखेर
उनैलाई भष्म गर्न चाहेथ्यो। 
उसैगरी मान्छेले निम्त्याएको
भष्मासुर कोरोनाले 
आज मान्छेलाई नै लखेटिरहेछ
भष्म गर्न खोजिरहेछ ।
अहँ बुझेनौं,
प्रकृति नै ईश्वर हो
ईश्वर नै प्रकृति हो ।
तिमी नभए
कहाँ टेकौंला ?
तिमी नै नभए
के देखौंला ?
माफ गर बसुधा!
फिर्ता लेऊ यो श्राप
फेरि,
तिम्रै आँचलमा लुटपुटिएर
निर्धक्क आँगनमा
खेल्न मन छ। 
तिम्रै पर्वत शृंखलाका
जलामृत
अघाउञ्जेल पिउन मन छ
हिमालसँगै हाँस्न मन छ
झरनासँगै नाच्न मन छ
सयौं वर्ष
अझै कयौंकयौं वर्ष
तिमीसँगै बाँच्न मन छ।
त्यसैले बसुधा! 
मान्छेहरूलाई 
माफ गरिदेऊ। 
कोरोनारुपी भाइरसबाट
मुक्त गरिदेऊ।