अचेल जीवन सूक्ष्म जीवाणुको
त्रासमा अल्झेको छ।
शब्दहरूको संघारमा,
मौनताले प्रश्रय लिइरहेको छ।
भविश्य अन्धो र वर्तमान टुहुरो बनेको छ।
झ्याल बाहिर देखिने चिल्ला सडकहरू,
भार बिसाएर लम्पसार परेका छन्।
स्तब्धताले लहरो परैसम्म फैलाएको देखिन्छ।
बेसुरा बनिरहेको मानिसको घमण्ड,
एकपटक निरिह बनेर विवेकसँग
प्रश्न खोजिरहेको छ।
कता कता सन्नाटाको बीचमा,
पल्लो झोपडीबाट
बालक रोएको आवाज सुनिँदैछ।
आज उसलाई खान पुगेको छैन रे।
परदेशिएका मजदूरहरू
राज्यकै द्वारमा छट्पटिएका छन्।
आफ्नै घरमा आतंककारी भएका उनीहरू ,
कालीमा होमिएर
घर फर्कने बाध्य हुँदैछन् रे।
हातमा गुन्टा र दूधेबालक च्यापेर,
खाली सड्क पछ्याउँदै छन् आमाहरू।
जीवन र मृत्युबीचको दोसाँधमा,
मानिसका छट्पटाउने क्रमहरू जारी छन्।
एउटा जीवनलाई बचाउने अर्को जीवन,
आफ्नै जीवनका निम्ति त्रसित बनेको छ।
संताप जीवनहरू बाँच्ने राग अलाप्दै ,
सूक्ष्मतामै कैद सबै,
बन्द कोठामा अस्तित्वको बिस्कुन सुकाइरहेका छन्।
तर , प्रकृतिले प्रफुल्लित हुने मौका पाएकी छ,
आकाश स्वयं एक पंक्षी सरह प्वाँख फैलाइरहेछ।
आफ्नै निर्मलतामा पानी चुर्लुम्म डुबिरहेछ।
चराहरूको चिरबिराहट कर्णप्रिय लागिरहेका छन्।
काँचुली फेरिरहेको बसन्त ऋतु,
झनै अल्हादित बनेको छ ।
क्षण क्षणमा पराजित भइरहेको जीवन
उमंगका लागि आत्तिएको छ।
तर, हुनु छैन उसलाई अपांग र अन्धो,
ऊ पुनः दौडिन चाहन्छ
अहिले ऊ संयमताको क्यानभाषमा कोरिँदैछ,
फेरि बाँच्न , अभिप्सालाई मलजल गरिरहेको छ।