कविता
लाग्थ्यो घाम कहिल्यै डुब्दैन जिन्दगीको
तर समयको भनौं या कोरोना कहर
मृत्युुदेखि अत्तालिएर देश खोज्दै
सीमा छेउसम्म गुहारें!
मेरो आश्रयको मूल ढोकामै गजबार लागिसकेछ
खै देशले चिनेनकी,शासकहरूले!
सुन्दै छु उता राष्ट्र दोहन चल्दै छ रे!
यता म निन्दा र गिल्लाको पात्र बन्दै छु
बाँचिवर्ती मात्रै जानुपर्ने र’छ
देख्नभोग्न पाइने र’छ।
मृत्युको बिम्बमा नि:शब्दता नै शब्द हो भन्थे
ज्यूँदै मृत्युले शब्दविहीन बनाइदियो
ज्यूँदै मृत्युले प्रतिक्रियाविहीन बनाइदियो
घरिघरि दैव मेरो भाग्य खोस्न आइपुग्छ,
स्वदेश रहँदा भूकम्प,विदेश रहँदा कोरोना!
उचाल्छ,थेचार्छ,मृत्युको मुखमा पुर्याउँछ
लाग्छ ज्यूँदै लास भइसकेछ जिन्दगी
कास कता हरायो खोइ?भविष्यको मीठो सपना!
मेरो भाग्य लेख्ने भावीले,
मेरो छैंठीको विधाताले
यतिनै गरिखानु भनेको रै’छ के रे!
लाग्दैछ फक्रिझरेको फूल भएछु,
सुकिसकेको मूल भएछु
मानवता हराएको मानिसहरूको भीडमा हुल भएछु
र पनि किन बाँचिरहेछु ?
भयो आत्मा पछुतो जस्तो!
थियो सपनाको हार, थियो नमीठो दर्द
रहेन अनुहारमा उज्यालो आभा
बरू एक किसिमको उदासी निर्लिप्त
र पनि आत्तिएको छैन
जित्नु छ एउटा अन्तिम युद्ध
अपार उत्साह बोकेर।