म गर्भवती भएको थाहा पाएपछि घरमा खुशीको वर्षा भयो। तर समय पनि त्यस्तै पर्यो, श्रीमानलाई अफिसको काममा एक वर्षभन्दा बढीको लागि विदेश जानु पर्ने भयो।
मुश्किलले विदेश जाने मौका आएको, छोड्नु पनि कसरी? मेरो गर्भ रहेको थाहा भएको एक हप्ता पनि नपुग्दै उहाँ विदेश उड्नुभयो। मनै खिन्न भयो। तर एक वर्षभन्दा अलिकति बढी त होनि, त्यसपछि त फर्किहाल्नु हुन्छ भनेर मन बाँधेर बसेँ।
पहिलो गर्भ, केही अनुभव थिएन, अलि-अलि डर पनि लागेको थियो। पहिले-पहिले त त्यति खासै गाह्रो भएको थिएन तर दुई महिना जति भए पछि वाकवाकी लाग्न सुरु भयो। जे देख्दा पनि अमन लाग्ने। बन्दागोबी र मासको दालको त झन् टाढैबाट गन्ध थाहा पाउँदा नै वान्ता आउला जस्तो हुन्थ्यो।
त्यो बेला श्रीमानको अलि ज्यादा नै याद आउँथ्यो। सायद श्रीमान साथमा भएको भए बाधा अलि कम हुन्थ्यो कि जस्तो लाग्थ्यो। तर सुख भए पनि दुःख भए पनि कट्ने नै रहेछ। जेनतेन त्यो वाकवाकीको अवस्था पनि पार गरेँ।
त्यसपछि खासै गाह्रो भएन। तर पेट बढ्दै गएकोले अलि लाज लाग्थ्यो। सकभर घर बाहिर निस्कदैनथें। त्यही लाजले माइती जान पनि सकिनँ। आमा पोषणयुक्त खानाहरु ल्याएर कहिलेकाहीँ भेट्न आउनुहुन्थ्यो अनि के गर्ने, के नगर्ने, के खाने, के नखाने भनेर सम्झाउनु हुन्थ्यो।
दाइ भेट्न आउँदा मलाई निकै लाज लाग्थ्यो। उसको मुहारमा सोझै हेर्न सक्दैनथें। तर आइमाई भएपछि जे पनि सहनु पर्ने रहेछ, मैले पनि सहें। त्यो बेला शारीरिक पीडा नभए पनि मानसिक पीडा ठूलै भयो।
गर्भवती भएको समयमा आफ्नो सबभन्दा भरोसा भनेको लोग्ने नै हुँदो रहेछ। तर के गर्ने? मेरो कर्ममा लेखेको रहेनछ भनेर आफ्नै कर्मलाई धिक्कार्दै बस्थेँ।
कहिलेकाहीँ श्रीमानले फोन गरेर सान्त्वना दिनुहुन्थ्यो, अलिकति भए पनि मन सन्तोष हुन्थ्यो तर जति भएपनि आफूसँगै भएजस्तो किन हुन्थ्यो र?
अलि पछि-पछि हरेक महिनामा अस्पताल जानु पर्ने भयो। सासु आमालाई के सताउनु भनेर एक्लै अस्पताल जान्थें। त्यहाँ जँचाउन जाने धेरैजसो लोग्ने-स्वास्नी सँगै जान्थे। लोग्नेले निकै माया गरेर स्वास्नीलाई डोर्याएर लिएर यताउता गरेका हुन्थे।
उनीहरुको जमातमा आफूलाई एक्लो देख्दा मनै कुँडिन्थ्यो। उनीहरुले मलाई हेरेर हाँस्दा पनि मेरो बारेमा उनीहरुले के सोचे होलान् भनेर मनमनै नानाथरी कुरा खेल्थे।
समय बित्दै गयो, पेट पनि बढ्दै गयो। लुकाएर पनि लुकाउन नसकिने। त्यतिमात्रै भए त हुन्थ्यो, कहिले ढाड दुख्थ्यो कहिले बच्चाले पेटमा हान्थ्यो। राति राम्ररी सुत्न पनि पाइँदैनथ्यो। आफूलाई घोप्टो सुत्नु पर्ने तर पेटले दिँदैनथ्यो।
त्यसमाथि डाक्टरले यसो गर्नु, उसो गर्नु, यसो नगर्नु, उसो नगर्नु भनेर नानाथरी के-के भन्थ्यो। त्यसको पनि पालना गर्नै पर्यो। पालना नगरे आमालाई र जन्मने शिशुलाई असर गर्छ रे।
आफूलाई त जे होस्, खासै फरक पर्ने थिएन तर शिशुलाई असर गर्ने भन्ने सम्झने बित्तिकै मनै सिरिंग हुन्थ्यो। कस्तो हुँदो रहेछ यो आमाको माया पनि? जन्मन पाएको छैन, आफ्नोभन्दा उसको पिर लाग्न थालिसकेको थियो।
कस्तो जन्मेला? केही शारीरिक समस्या या मानसिक समस्या भएको जन्म्यो भने के गर्ने भनेर समय समयमा मन झस्किन्थ्यो। कहिलेकाहीँ उसकै चिन्तामा रातभरी निद्रा लाग्दैनथ्यो। डाक्टरले पेटभित्र बच्चाको चाल याद गरिराख्नु, धेरै बेर चलेन भने खतरा हुन सक्छ भनेको थियो।
कहिलेकाहीँ साँच्चै नै धेरैबेर नचल्दा निकै छटपटी हुन्थ्यो। आफ्नो पेट छामेर उसलाई चल्न उत्साहित गर्थें तर पनि ऊ चल्दैनथ्यो। अनि रुन मन लाग्थ्यो उसलाई केही भै’गो कि भनेर। अनि त्यसैबेला अचानक उसले फ्याट्ट खुट्टाले पेटमा हिर्काएपछि सबै पिडा र चिन्ता बिर्सिएर संसारकी सबभन्दा सुखी मै हुँ कि जस्तै लाग्थ्यो।
तर पेटको बच्चा चल्न थालेपछि उसले मेरो श्रीमानको अनुपस्थितिलाई बिर्साइदिएको थियो।
पछिपछि अस्पताल जाने क्रम पनि बढ्यो। भिडिओ एक्स रे गर्दा मन ढुकढुक् हुन्थ्यो, कस्तो देखिन्छ भनेर। अनि डाक्टरले सबै राम्रो छ भन्दा ढुक्क हुन्थें। तैपनि पापी मन जहिले पनि केही न केही नराम्रो सोचिरहन्थ्यो।
जति जति बच्चा जन्मिने दिन आयो, उति उति वेचैनी हुँदै गयो। छिटो जन्मिए हुन्थ्यो जस्तो लाग्थ्यो, तर आफूले भनेर नहुने। पूरै नौ महिना नपुग्दै जन्मिने छाँटकाँट देखिएन। तर पर्खेपछि त्यो दिन पनि आयो र बच्चा जन्मियो। छोरो भयो।
मलाई त छोरो भए पनि छोरी भए पनि केही फरक थिएन तर, छोरो भएकोमा परिवारका सदस्यहरु अलि बढी नै खुशी थिए।
नर्सले बच्चालाई उठाएर मेरो गालामा लगाइदिइन्। आफ्नो बच्चालाई आफ्नो शरीरमा स्पर्श गर्दा म कति रोमाञ्चित र भावुक भएँ, वर्णन गर्न सक्दिन। मैले उसलाई हेरें, मेरो आफ्नो रगत, आफ्नो मुटुको टुक्रा, आफूले नौ महिना पेटमा राखेको, त्योभन्दा खुशी मेरो लागि अरु के हुन्थ्यो र? ऊ मेरै शरीरको भाग थियो- मैले खाएको खाना, मैले पिएको पानी र मैले लिएको प्राणवायु लिएर मेरो पेटभित्र हुर्केको।
नर्सले मलाई उसलाई दुध चुसाउन भनिन्। उसले दुध चुस्दा मलाई पहिले अलि-अलि काउकुति लागे जस्तो भयो। तर आफू आमा हुँ भन्ने महशुस भएपछि सबै बिर्सेर स्वर्गीय आनन्द आयो। बच्चालाई हेरें, आफ्नै अनुहार देखें।
ती आँखा, ती हातका औंला, त्यो नाक, त्यो मुख सबै ठ्याक्कै आफ्नै जस्तो, मलाई आमा हुनुमा गर्व लाग्यो। उसलाई जन्माउँदाका पीडाहरु सबै बिर्सिएँ।
सुत्केरी भएर घर आइयो। श्रीमान अँझै आउनु भएको थिएन, केही समय बाँकी नै थियो। छोरो बढ्दै जान थाल्यो। राति राम्ररी सुत्न पाइँदैनथ्यो। दुई पटक उठेर दुध खुवाउनु पर्थ्यो। कहिले बिना कारणै रोएर सताउँथ्यो।
कहिले रुघा लाग्दा र ज्वरो आउँदा मन आत्तिएर राति-राति नै अस्पताल पुर्याउनु पर्थ्यो। कहिले खोप लगाउने भन्यो, कहिले उसका लुगा धुने भन्यो, कहिले नुहाइदिने भन्यो, एकछिन फुर्सद हुँदैनथ्यो।
त्यसमाथि घरको काम पनि अलि-अलि गर्नै पर्यो। तैपनि आफ्नो सन्तानको लागि सबै सहेर कुनै सिकायत नगरी सबै कुरा पूरा गरेकी थिएँ किनभने म आमा थिएँ। ऊ मेरै प्रतिबिम्ब थियो, उसलाई पीडा हुँदा मेरो छाती दुख्थ्यो, ऊ रुँदा मेरो आँसु झर्थ्यो। त्यसैले जन्माएर मात्र पुग्गैनथ्यो, आफूले जति दुःख सहेर भएपनि मैले उसलाई पालन पोषण गरेर हुर्काउनु थियो।
कति छिटो समय बितिसकेछ। श्रीमान पनि फर्किनु भयो। छोरो देखेर निकै खुशी हुनु भयो। छोरोलाई काखमा लिन खोज्नु भयो तर छोरोले मानेन। विचरो चिने पो मानोस्। छोराको पास्नी आउँदै थियो, घरको तेस्रो पुस्ताको पहिलो सन्तान भएकोले ठूलै भोज गर्ने निर्णय भयो।
त्यसै पनि आजभोलि भोज गर्ने भनेको आफ्नो आर्थिक रवाफ देखाउने मञ्च भएको छ। त्यसैले हामीले पनि आफ्नो रवाफ देखाउन साथीभाइ इष्टमित्र सबैलाई भोजमा निमण्त्रणा गर्यौं।
ठूलो होटेलमा भोज चल्दै थियो। श्रीमानलाई बधाइ दिने साथीहरुको भीड नै थियो। पहिलो कुरो त विदेशबाट भर्खर फर्केको, दोश्रो कुरो छोरो जन्मेको। उहाँ आफ्ना साथीहरुकै जमातमा व्यस्त हुनुहुन्थ्यो। म भने छोरोको हेरचाहमै थिएँ।
कहिले दुध खुवाउने, कहिले सुताउने, कहिले काखा लिने त्यस्तै। उसलाई एक्लै छोड्न पनि त मिलेन, आमा भएकोले मैले नहेरेर अरु कसले हेरोस्?
पाहुनाहरु सबैले भोजको रमाइलो लुट्दै थिए। त्यसैबेला होटलका वेटरहरुले एकापसमा कुरा गर्दै थिए, मैले सुने।
'के को पार्टी रहेछ यो?'
'पास्नीको हो रे।'
'कस्को रै’छ?'
'ऊ त्यहाँ निलो कोट लगाएर गफ दिंदै गरेको मान्छे छ नि, हो त्यसैको छोरोको हो रे,' वेटरले मेरो श्रीमानलाई देखाएर उसको साथीलाई भन्यो।
उसको उत्तरले म झसङ्ग भएँ र ती दुई केटाहरुलाई हेरें, केही भन्न मन लागेको थियो तर के भन्ने, मनमा केही विचार आएन र सायद आँट पनि आएन।
काखमा रहेको छोरोलाई हेरेँ- काटीकुटी मेरै अर्को रुप थियो, मेरै शरीरबाट निस्केको मुना थियो, मेरै दुध चुसेर बाँचेको थियो तर बिडम्बना समाजको लागि उ मेरोभन्दा बढी मेरो श्रीमानको छोरो थियो।