नमस्ते सर ,
आफ्नो कार्यकक्षमा अत्यावश्यक फाइल खोज्दै गर्दा कुनै महिलाको स्वरले म झस्किन्छु। तर पनि, आगन्तुक महिलातर्फ ध्यान नदिई व्यस्तताको संकेत दिन खोजिरहन्छु।
‘के थियो ?’ ती महिलातर्फ नहेरी नै प्रश्न गर्छु।
‘केही काम थियो।’
‘अलि, छिटो भन्नुस् है त म्याडम।’
‘सर , म सञ्जिवनी पौडेल।’
‘ए, हजुर।’
म भएको टेबुलतर्फ ती महिलाले एउटा सर्टिफिकेटको फाइलअघि बढाउँछिन्।
‘सर यसमा सिग्नेचर गरिदिनुपर्ने थियो।’
‘ए हुन्छ, म हेर्छु राख्नुस् न।’
उनको फाइलमा रहेको एउटा कागज मेरो टेबलबाट भुइँमा खस्छ। खसेको कागज उठाउन दुवैसँगै निहुँरिन पुग्छौं। उनको पछ्यौरीले मेरो हत्केलालाई छुन्छ र , मेरा आँखा उनी भएतर्फ अनायासै मोडिन्छन्। ती महिलाको अनुहारमा मेरो नजर रोकिन्छ। उनले ओढिरहेको पछ्यौरीको स्पर्शको उष्णता र आत्मीयताको आभाष मभित्र निमेषमै सल्बलाइसकेको थियो।
म फरक्क फर्कन्छु र उनको अनुहार हेर्छु।
‘सञ्जिवनी! तिमी’
आश्चर्यचकित हुँदै उनी मलाई हेरिरहेकी थिइन्।
‘मलाई चिनिनौ ?’ म प्रश्न दोहर्याउँछु ।
मलाई देखेपश्चात सञ्जिवनीको अनुहारमा बेग्लै भावको रंग पोतिँदै गइरहेको थियो। उनी चुपचाप उभिरहन्छिन्। मसँगै भित्रभित्रै धूमिल यादका पत्र उखेल्दै थिइन् शायद।
सुबोध ! उनको मुखबाट निस्किन्छ।
‘सुबोध होइन तिमी?’
हामी दुवैका निम्ति त्यो अप्रत्यासित भेट थियो तर, हामी एकअर्काप्रति हार्दिकता चाहेर पनि प्रकट गर्न सकिरहेका हुँदैनौं। त्यो समयमा मौनता नै अत्युत्तम थियो, त्यसैले शब्दहरूलाई हराउन दिन्छौं हामी। त्यो भावशून्यताले निम्त्याइरहेको इतिहासको पुनरावृत्तिमा हामी यसरी अल्झिरहेका थियौं, मानौं एकपटक पुनः समयले बनाएको मोहरालाई समयले नै आमुन्ने-सामुन्ने ल्याएको थियो।
मेरा कार्यकक्षका सामान मेरा वरिपरl फनफनी नाँचिरहेका थिए। यत्तिका वर्षपछि यो अनुहार मेरासामु यसरी प्रकट होला म लगभग बिर्सिसकेको थिएँ। अहँ ! यो कुरामा त म स्वंय आफैंलाई पनि ढाँटिरहेको थिए। कसरी बिर्सन सक्छु र जीवनपर्यन्त सञ्जिवनीप्रति रहने मेरा संवेदना! त्यो अतृप्त प्रेमको संवेग जसलाई महशुस गर्नबाट रोक्न कुनै कुराले सकेकै छैन। सञ्जिवनीले ओढेको कलेजी सलले मेरा नशा नराम्ररी झंकृत गराइरहेको थियो। फेरि नजर त्यतै डोर्याउँछु, अझै राम्ररी नियाल्छु।
‘हे भगवान् ! यो सल त ठ्याक्कै त्यस्तै पो छ। धत् अहिलेसम्म कहाँ सँगै होला र त्यो सल! के बजारमा यस्तै अर्को सल हुँदैन र?’ मेरो उद्वेलित भइरहेको मनतर्फ स्वयंको प्रतिप्रश्न थियो। कुनै एउटा कलेजी सलको याद मेरो कलेजोमा गाँठो बनाएर मसँगै हिँडिरहेको छ। त्यो रंगले मेरो मुटुमा एउटा पृथक धमनी सरह काम गरिरहेको छ।
‘अँ म यहाँको प्रिन्सिपल, बस न’ म केही सहज भावमा भन्छु।
‘होइन ठीक छ बरु तिमी एकपटक यी कागज हेरिदेऊ। अहिले म हतारमा छु।’
‘म यहाँ कान्छो छोराको भर्नाका लागि आएकी हुँ।’
‘चिया खाएर जाऊ न सञ्जिवनी’
उनका आँखामा वर्षौदेखि जमेर रहेको गुनासारूपी ढिक्काको सजिलै भेउ पाउन मलाई क्षणभर लागेन। हुनसक्छ, आँखामा टिलपिल गरिहेका आँसुमा म थिएँ, त्यो हृदयभित्रको आवेगमा म थिएँ , हो ! शायद म नै थिएँ।
‘कुनै अर्को दिन।’ मेरो आत्मसंवेगलाई उनका शब्दले बिथोलिदिन्छ।
सञ्जिवनी गइन्। तर कुनै समयका उनीसँगै गाँसिएका यादका छालका ज्वारभाटा मेरो मुटुमा निरन्तर उठिरहे।
आफूभित्र उब्जिरहेको निरिहता म स्वयंसँग छल्न सक्दैनथें। मेरो मुटुको धड्कनको गति नाप्न नसकिने गरी सीमा बाहिर गइरहेको थियो। मथिंगल रन्किरहेको थियो।
म थचक्क कुर्सीमा बस्छु।
समयको बदलावले निम्त्याउने प्रभाव सञ्जिवनीको आवरणमा उतिसारो परेको थिएन। कसिलो जिउडालमा सामान्य कुर्तासुरूवालको पहिरन, उमेर र समयको घेरा कपालले जनाइरहेको भएता पनि, बाँकी त हुबहु उस्तै थिइन् जस्तो मैले पच्चीस वर्षअघि उनलाई छाडेर गएको थिएँ।
अर्ध चन्द्राकारा आँखीभौंका तल समुद्रझैं लाग्ने गहिरा आँखामा लपक्क गाजलको कालो परिधिले झनै चंचलता थपिरहन्थ्यो। कस्तो उत्कण्ठ आकांक्षा पलाएर बसेका थिए ती आँखामा डुब्की लाउन।
अनुहारमा कुनै बहाना नभई छाइरहने पुरानो चञ्चले बालसुलभ मुस्कानको अभाव भने उनको व्यक्तित्वमा अहिले कतै भेटाउन सकिरहेको थिइनँ, या अटाउनै नसकेको हो?
सञ्जिवनीलाई भेटेपछि काम गरेर बसिरहन मन लागेन। सन्चो नभएको बहानामा म घरतर्फ दौडिन्छु। मभन्दा अघि मेरा अतीत दौडिरहेको थियो, जुन शायद मेरो अवचेतन मन हो, जो सदासर्वदा संजिवनीलाई आफ्नो मानेर बसेको थियो। मुटुमै टाँस्सिएका पुराना धूमिल फोटा स्पष्ट हुँदै एकपछि अर्को गर्दै मेराअघि पल्टिँदै गइरहेका थिए, सबै छरपस्ट भई खसिरहेका थिए। पत्तै नपाई कुन सूरमा म गाडी हुइँकाउँदै घर पुगिसकेको हुन्छु।
यो बेला घरमा कोही हुँदैनन्। सुमित्रा अफिसमा त बच्चाहरू स्कुल गएका हुन्छन्। म ढोका लाएर रिडिङ रूममा एकान्तमा कुर्सीमा बस्छु। चुरोट सल्काउँछु। दुई पेग पिउँछु।
हो! प्रायः म सञ्जिवनीलाई सम्झँदै रक्सी पिउने मेरो पुरानो आदत हो। यी सबै गरिरहँदा सञ्जिवनी मेरो अगाडि आएर मुस्कुराइरहेकी हुन्थिन्। साँचो अर्थमा म उनलाई बिर्सन सकेको थिइनँ। यो लगभग असम्भवप्रायः थियो मेरा लागि।
उनी पूर्णिमाको चन्द्रमाजस्तै थिइन् मेरानिम्ति। चन्द्रमाको भ्रमित स्वरूप देखाउने तलाउको पानीजस्तो बनाएको थिएँ मैले आफ्नो जीवन। सञ्जिवनीको आभाष मात्रले पनि हरदम अन्र्तरंगमा ऊर्जा थपेर जान्थ्यो।
किताबको र्याकमा मैले सजाएर राखेको मुनामदन खण्डकाव्य हातमा लिन्छु। त्यो किताब ओर्काइफर्काइ गर्दै सुम्सुम्याउँछु , छातीमा टाँस्छु। एकक्षण, रेगिस्तानमा पानीको निम्ति तड्पिरहेको प्यासीजस्तै तिर्खा मेट्छु।
कुनै दिन मुनामदन नै बनेको थियो सञ्जिवनी र मेरो सम्बन्ध जोड्ने माध्यम। सारमा भन्नुपर्दा बिछोड पनि त भयो हाम्रो। त्यतिबेला मुनामदन मैले उनीसँग पढ्नका लागि मागेको थिएँ तर, खै कता अल्मलिएपछि मैले उनलाई फर्काउन सकिनँ।
सञ्जिवनी त्यसका लागि निक्कै रिसाएकी थिइन्, कत्तिका गाल पाएको थिएँ , कत्ति थोक सुन्न परेको थियो मैले। के थाहा त्यतिबेला त्यो मुनामदनको अल्मलिनुको अर्थ उनको नासो मसँग आजीवन रहिरहोस् भन्ने नियतिको चाहना थियो ।
समयले गरेका कतिपय निर्णय समय बितिसकेपछि थाहा लाग्दो रहेछ। मैले पनि समयको त्यो मीठो सिकाइ उनीसँग बिछोड भएपछिमात्र बुझेको थिएँ। त्यसै पनि उनलाई रिसाउन कुनै बहाना चाहिँदैनथ्यो। उनको ठुस्किने बानी र प्रतिक्रियामा मेरो मुस्कानसहित उनलाई फकाउनु एक अर्काका पर्याय बनेका थिए जस्तोकी एउटाको अभावमा अर्कोको कुनै अस्तित्व नै हुँदैन।
जब उनका यादले मलाई बिचलित तुल्याउँथ्यो, म यही मुनामदन स्पर्श गर्छु र तृप्त हुन्छु।
मानौं, त्यो मधुशालाको कुनै प्याला हो जसको नशा जीवनभर उत्रिनेछैन।
म अतीततर्फ झर्दछु ।
०००
भन्नलाई त सञ्जिवनी र म साथी थियौं। तर मलाई उनीप्रतिको आकर्षण केही अलौकिक पनि लाग्थ्यो। त्यसैले त उनी किताबका पानामा टक्क आएर मलाई मुस्कान छाडेर जान्थिन्।
बिहान केतुलीबाट मसँगै हात समात्दै कपमा चिया खन्याउँथिन्। म झस्किन्थें, उनी मुस्कुराउँथिन् ऽऽऽऽओझेल पर्थिन्। म उनको सुगन्ध उनको अनुपस्थितिमा पनि पाइरहन्थें। तर सञ्जिवनीको मप्रतिका भावनाका लागि म अनभिज्ञ थिएँ। त्यसैले कहिलेकाहीँ लाग्थ्यो म हावामा महल खडा गरिरहेको छु।
सञ्जिवनीको चुल्बुलाहटमा म मुस्कुराउँथें र उनी तर्किन्थिन्। मलाई आकाशबाट खसेकी ताराजस्तै लाग्थिन् जसलाई मैले जीवनभर आफ्नो पोल्टामा कैद गरेर राख्नु पर्नेछ, अहँ ! कैद होइन,सजाएर राख्नु थियो।
उनले बोल्न सुरू गरेपछि बोल्ने प्रवाहलाई रोक्न सक्दैनथें। म मौन सुनिरहन्थें। उनका कुरा पुतलीझैं कहिले कुन प्रसंगको रस निकाल्थ्यो त कहिले कुन। सञ्जिवनी निश्कपट उफ्रिरहन्थिन् म दंग पर्थें।
सञ्जिवनीलाई मैले प्रस्ताव राख्ने हिम्मत गरिनँ वा राख्नै चाहिनँ किनभने मलाई लाग्थ्यो त्यो प्रेम जसलाई “प्रस्ताव” गरेर सीमित बनाउनु थिएन, त्यो प्रेम जसलाई “परिभाषित” गरेर संसारिक बनाउनु थिएन। त्यो प्रेम जसलाई “व्यक्त” गरेर बहावबाट रोक्नु थिएन। त्यो सुफियाना प्रेमलाई आजीवन मुटुमा कैद गर्नु थियो। साहित्य त धेरै पछि बुझेको थिएँ,तर प्रेमको परिभाषालाई धेरै अघि नै मेरो मुटुले व्याख्या गरिसकोको रहेछ।
०००
पुल्चोकका कलेज बाहिरको कफी हाउसमा सधैं शुक्रबार तीन बजेपछि हामी दुवै कफी पिउन निस्कन्थ्यौं।
‘सञ्जिवनी तिमी मान्छे ठीक होइनौ है।’
‘किन?’
‘तिमीलाई थाहा छ इलेक्ट्रोनिक्सको कक्षामा तिम्रो ध्यानै हुँदैन। उपन्यासका पानाहरूमा घोत्लिरहेकी हुन्छ्यौ। अलि गम्भीर बन्ने गर है पढाइमा,पछिल्लो सेमेस्टरमा पनि तिम्रो राम्रो नम्बर आएको छैन।’
‘माइ च्वाइस’
‘तिमी किन यसरी मनमौजी हुन सक्छ्यौ संजिवनी, बुझ्ने कोशिस गर।’
उनका घुम्रेका कपाललाई हावाले झन् मिलाइरहेको हुन्थ्यो उसै पनि कांगियोभन्दा बढी बतासले बढी मिलाउन सक्थ्यो उनको कपाललाई। कपालजस्तै आफू पनि अव्यस्थित थिइन् । लाग्थ्यो कुनै बतासले नै उनको जीवनलाई व्यवस्थित बनाउने छ।
‘भयो सुबोध, पढिराख तिमी नै माइक्रोइलेक्ट्रोनिक्स, सिग्नलस र सिस्टम सबै थोक। मैले त मम्मी र बुवाको जिद्दीले इन्जिनियरिङ पढेकी हुँ।नत्र त मलाई पहाडको हरियालीको बीचमा घण्टौं बसेर प्रकृतिसँग बात मारेर टि एस इलियट, लक्ष्मी प्रसाद देवकोटा , रवीन्द्रनाथ टेगोरमा हराउन मनपर्छ।’
‘किन प्रत्येक कुरालाई यति सहजै लिन्छ्यौ सञ्जिवनी?’
‘हेर तिमी मेरो चिन्ता गर्न छाडिदेऊ। म त छुइमुई कुमारी हुँ। छोयो कि हराउने।’ व्यंग्य कस्दै लामो हाँसोऽऽऽ ।
‘ल म जान्छु सुबोध, बाई । पैसा तिमी तिर, अर्को दिन म दिउँला’
‘सञ्जिवनी पर्ख सँगै निस्कौं’
हाम्रो सम्बन्धको गति सामान्य थियो जस्तो अरु थोक आफ्नै गतिमा रहन्छ। अचानक एकदिन अस्ट्रेलियाको विश्वविद्यालयबाट छात्रवृत्तिको चिठी मेरो हातमा पर्छ। कोतुहलता थियो, खोलेर हेरें। म नेपालबाट एमएसको लागि छानिएको थिएँ। खुसी हुनु स्वाभाविक थियो। जब मैले त्यो चिठीको अन्तिममा खाली स्थानमा सञ्जिवनीको अनुहार आएर टक्क अडिएको देखें, मेरो यो खुसी मलाई एकै क्षणमा खल्लो र अर्थहीन लाग्यो। तर म जानु आवश्यक थियो। जीवनको महत्वपूर्ण उद्धेश्य पूरा गर्नु जो थियो।
सञ्जिवनीसँग छुट्टिने कुराले म खिन्न भइरहेको थिएँ। अर्कोदिन बिहानै मैले उनलाई सधैंझैं कफी हाउसमा बोलाएँ। त्यो दिन मैले सञ्जिवनीलाई गोकर्ण जान आग्रह गरें।
‘किन त्यति टाढा?’ सञ्जिवनी आँखा तन्काउँदै सोध्छिन्।
‘जाऔं तिमीलाई हरियाली मन पर्ने होइन र?’
‘हो।’
‘जाऔं न त।’
हामी गोकर्ण पुगेर एउटा खाली स्थानमा बस्छौं।
‘सञ्जिवनी आज एउटा कुरा तिमीलाई सुनाउनु छ तर, म असमञ्जस्यमा छु यो खबर खुसीको हो वा होइन। यसपछिका समय मेरो हुनेछ वा हुनेछैन।’
‘तिमी किन आज १९६० को हिन्दी सिनेमाको हिरोजस्तै कुरा गरिरहेका छौ।, सञ्जिवनीको चिढिन् र चिढाउने तरिका प्रायः यस्तयस्तै हुने गर्दथ्यो।’
‘मैले अस्ट्रेलियाको एमएसको छात्रवृत्ति पाएँ , अब जानुपर्छ म ।’
मेरो कुराले उनलाई पारेको प्रभाव उनको अनुहारमा म स्पष्ट देखिरहेको थिएँ। म सामान्य भइरहन खोज्छु। लगातार माटो कोट्याइरहकी थिइन् सञ्जिवनी। यद्यपी , आँसु लुकाउने उनको असफल प्रयास मबाट लुक्न सकिरहेको थिएन। उनी मौन थिइन्।
सञ्जिवनीको मौनतामा अस्पष्टताका बावजुद मेरानिम्ति प्रेमको अदृश्य स्वरूप देखिरहेको थिएँ, तर अझै पनि मैले न सोध्न सकें ‘के तिमी मलाई कुर्न सक्छ्यौ’ न त उनले नै सोधिन् ‘कहिले आउँछौ फर्केर?’ ।
धेरै कुरा हाम्रो मौनताले बोलिरहेको थियो। यी सबै संकेत दुवैका मनमा पल्लवित भैसकेको “प्रेम” थियो।
‘सञ्जिवनी सुनन’
म सहज हुँदै भन्छु, ‘म हिजो असन गएको थिएँ, एउटा सल मन पर्यो, सोचें तिमीलाई यो रंग निकै फाप्छ होला र ल्याएँ।’
मेरो हातबाट सल केही नबोलिकनै लिन्छिन्। सञ्जिवनीको अनुहारमा नैराश्यता थियो। त्यसअघि मैले नदेखेको नैराश्यता थियो, त्यो ।
जतिजति मेरो जाने दिन नजिकिँदै थियो उतिउति मलाई सञ्जिवनीसँग टाढिने डरले खाँदै थियो। अन्तर्यमनमा चिसो लागिरहन्थ्यो । त्यो के प्रेम थियो या केही अरु ? यदि त्यो प्रेम भए हामीबीच न त प्रेमप्रस्ताव नै न त प्रेमको स्वीकारोक्ति नै !
अस्ट्रेलिया आइसकेपछि फोनमा कुरा हुन्थ्यो। म त्यहि चंचलता खोजिरहन्थे, सञ्जिवनी त्यत्ति नै बढी गम्भीर भएर कुरा गर्थिन्। एकदिन अचानक उनको विवाह पक्का भएको खबर सुनाइन्। जुन कुराले जहिल्यै सशंकित भइरहन्थे अन्ततः त्यही भएर छाड्यो।
भौतिक रूपमा सधैंका लागि टाढा भएता पनि उनीसँग गाँसिएका संवेदनाका लहरहरू भने मेरो मनमा निरन्तर उठिरहन्थे। हो! म विश्वस्त भएँ , म सञ्जिवनीलाई प्रेम गर्ने रहेछु।
त्यसपछिका दौरहरू बिते जीवन सुखी थियो। सुमित्रासँग विवाह गरें। व्यवसायिक सफलता ,पारिवारिक सुख थियो, तर यी सबैका बावजुद सञ्जिवनीलाई बिर्सन सकिरहेको हुँदैनथें।त्यो कस्तो उडान थियो प्रेमको जसको विचरणको कल्पनाले मात्र पनि मेरो जीवन प्रफुल्लित भइरहेको हुन्थ्यो। भौतिकरूपमा त सबै कुरा चित्त बुझाइरहेको थिएँ, तर त्यो आत्मिक नाताको अभाव जीवनपर्यन्त खट्किरहेको हुन्छ। एउटा अधुरो र अपूरो सपनाको भट्कनलाई मैले आफैंसँग सम्हालेर राखेको छु। तर त्यो अतृप्तता शान्त थियो मानौं यसको नियति हो शान्त बस्नु।
०००
अर्को दिन कलेज जान्छु। सञ्जिवनीको छोराको फाराम मगाउँछु। फोन नम्बर हेर्छु। तर, फोन गरौं या नगरौं ? सोचें भैगो। नगरौं।
लगभग पाँच दिनपछि उनी कलेज आइन्। मलाई शायद नभेटी जान खोज्दै थिइन्।
‘सञ्जिवनी’ म चिच्याउँछु । उनी मतर्फ फर्किन्छिन्।
‘सञ्जिवनी आऊ चिया खाऊ न।’
‘कुनै अर्को दिन सुबोध , अहिले मलाई हतार छ।’
‘किन तर्किरहेकी छौ सञ्जिवनी मलाई देख्दा ? बसौं न केहीबेर , के फरक पर्छ ?’
अन्ततः उनी राजी भइन् चिया खान।
चिया खानलाई त बस्यौं तर, हाम्रो वरपर भारी मौनता हावी भएको थियो। न उनी केही बोल्न सकिरहेकी थिइन् न मैले नै केही भन्न सकिरहेको थिएँ। ढोकातर्फ मानिसहरूको आवाजतर्फ उनको नजर थियो।
‘तिमी विराटनगरमा कसरी ?’ म मौनता भंग गर्छु।
किन र?
‘होइन सोधेको नि’
मेरो पहिलो प्रश्नको उत्तर नआएपछि म अर्को प्रश्न गर्छु
‘कस्तो चलिरहेको छ जीवन?’
‘ठीक छ। सामान्य मानिसको जस्तो चलिरहेको हुन्छ त्यस्तै। त्योभन्दा बढी केही छैन।’
त्यही प्रश्न उनले मतर्फ सोझ्याइन्।
‘तिमी भन’
सबै कुरा ठीक छ ‘शायद तिमी हुन्थ्यौ त ऽऽऽऽऽ जीवनको हरियाली नै बेग्लै हुन्थ्यो।’ मेरो हृदय यस्तै केही भन्ने मनसायमा थियो तर, भन्ने अधिकार मसँग रहेन।
‘सञ्जिवनी उपन्यासहरू पढ्ने तिम्रो बानी छुट्यो कि छुटेन’ म अलि एक्साइटेड भएर सोध्छु।
‘विवाह बच्चा, घर परिवार यी उल्भलनहरूमा अल्झिँदा समय नै कहाँ बाँकी रहन्छ र पढ्न र सोच्न।‘
‘तिमी त पाठकमात्र कहाँ थियौ र एउटा पागल थियौ। त्यो सब मलाई थाहा छ।’
म मन्द मुस्कुराउन खोज्छु। उनको मुस्कुराहटले अहिेले मेरो साथ दिइरहेको थियो ।
‘तिम्रो लापर्वाह रहने बानी उस्तै छ ?’
‘समयले दिँदैन अचेल मलाई लापर्वाह हुन।’
‘तर यति गाम्भिर्यता तिम्रो व्यक्तित्वलाई सुहाउँदैन है सञ्जिवनी’। कुराकानीलाई सहजतातर्फ मोड्ने प्रयास गर्छु।
‘अब यी कुराहरूको के अर्थ छ र!’
‘किनकी तिमीसँग मेरो भावनात्मक सामिप्यता थियो। अहिले पनि म त्यो सामिप्यता यत्रतत्र हिँडिरहन्छन् सञ्जिवनी।’
मैले भनिरहँदा उनी मेरो आँखामा यसरी हेरिरहेकी थिइन् मानौं मेरो कुरा संसारको आठौं आश्चर्य भएको थियो।
‘तिमीलाई थाहा छ नि सुबोध अब हामीबीच यी सब कुराको कुनै स्थान छैन र रहनु पनि हुँदैन।’
मैले सञ्जिवनीको कुरा बुझें।
‘किन हामी साथी रहन सक्दैनौं?’
‘अलग अलग डुंगामा सवारहरू साथी भएको देखेको छौ र तिमीले ?’
‘सञ्जिवनी तिमीलाई थाहा छ तिम्रो विवाहको कुराले मलाई कत्ति गलाएको थियो। त्यसपछि मलाई अस्ट्रेलियाबाट फर्कन मनै लागेन। त्यहीँको पिआर लिएँ। केही समयपश्चात आमाबुवाप्रतिको जिम्मेवारी र देशको सुगन्धले यतै तानेर ल्यायो। दुई वर्ष भयो म यहाँ आएक । निश्चय नै खुसी छु , तिमीले सोध्नै पर्दैन तर अझै पनि कताकता कमी लागिरहन्छ।’
म आफैं सञ्जिवनीको सामु थाहै नपाई पोख्खिन पुगेछु। त्यो क्षण आत्मग्लानीले भरिन्छु, शायद भन्नु हुँदैनथ्यो सबैथोक। स्वस्फूर्त निस्केका मेरा शब्दले संजिवनीलाई भारी बनाइरहेको देखें र प्रसंग मोड्दै सोध्छु ‘तिमीलाई थाहा छ सञ्जिवनी म अचेल साहित्यको पारखी भएको छु जस्तो कि तिमी कुनै जमानामा थियौ।’
मेरा कुराले सञ्जिवनी आँखा यताउता डुलाउँछिन्। ‘ए’
सञ्जिवनी मौन थिइन्।
‘ल म जान्छु’ उनी जानका लागि उठ्न खोज्दै थिइन् , तर म एउटा प्रश्न सोध्न आतुर थिएँ।
‘संजिवनी एउटा प्रश्न नढाँटी उत्तर दिन्छ्यौ’
’कोशिस गर्नेछु, सोध न।’
‘एउटा कैतुहलता छ जसले मलाई द्रवित गरिरहेको छ। अस्ति तिमीले ओढेको सलऽऽऽऽ ?’
मेरो प्रश्नले निम्त्याएको उनको मौनताले बोल्न खोजिरहेका शब्दलाई गौण बनाएको थियो। उनका झुकेका नजरका भावमा एउटा जीवित प्रेम तैरिरहेको थियो र आँखाबाट अवांक्षित आँसु रोक्न पनि सकिनन् सञ्जिवनीले। केही नबोलीऽऽऽ सञ्जिवनी बिदा भइन्।
हुन पनि त्योभन्दा बढी त शब्दले पनि कसरी बोल्न सक्थे र? मैले थाहा पाएँ, प्रेमपूर्वक सम्हालेर राखिएको सलले मेरो प्रेमको विलय हुन दिइरहेको थिएन ! त्यो सल जसले एउटा जीवन बाँचिरहेको थियो, निरन्तर बाँचिरहने छ।
हाम्रा संवेदनाहरूलाई एकपटक विचरण गर्ने मौका त्यस भेटले प्रदान गराएको थियो, त्यो संवेदनाहरूको आलिंगन पनि थियो। मेरो भट्किरहेको एउटा अपूरो प्रेम उनीसँगै हिँडिरहेको देखिरहें। कुनैकुनै सम्बन्ध सिधै मुटुमा जरा बनाएर बस्ने गर्दछन्। हाम्रो सम्बन्धको अनुभूति हाम्रा लागि त्यस्तै रहेछ।
जसरी मैले उनको मुनामदनलाई सम्हालेर राखेको छु। त्यस्तै उनले पनि मेरो चिनो “कलेजी सल” सम्हालेर राखेकी रहिछन्। त्यो धड्किरहेको स्पन्दन नाप्न केवल भावना जीवित भए पुग्दो रहेछ।
हामीले के त्यागेको रहेछौ या गुमाएका रहेछौ , केही त रहेनछ। उनी बाँचिरहेकी छन् कलेजी सल ओढेर अनि म बाँचिरहेछु मुनामदन स्पर्श गरेर। के प्रेममा सधैं दिन र उमेरको गणना हुन आवश्यक छ र ? के प्रेममा सधैं शरीरको उपस्थितिको मात्र मान्यता रहन्छ र? सञ्जिवनी र म अगणित युगलाई बाँचिरहेका रहेछौ। म धन्य भएँ त्यो “कलेजी सल” जसले मेरो प्रेमलाई पुनर्जीवित गरिदिएको छ, सञ्जिवनी बुटीजस्तै।