म सानो छँदा
घरमा नारायण पूजा लगाए
पल्लो गाउँको पण्डित आए।
शास्त्र फिँजाए
मन्त्र भट्भटाए
ओम नमः शिवाय...!
पण्डितकै निर्देशनमा
कलशलाई फूल चढायौं
गणेशलाई दियो जगायौं
अग्निलाई घिउ चटायौं
मेरो कलिलो मनमा प्रश्न उब्ज्योः
स्वयं स्वर्गका राजालाई चढ्यो
हामीले छोएको प्रसाद र पञ्चामृत
पण्डितलाई किन चढेन?
नारायण अनन्तजीत ठूलो कि
मर्त्यलोकका पण्डित ठूलो?