विक्रम सम्वतको ४० को दशकको अन्ततिरको कुरा हो। त्यति बेला गाउँघरतिर भर्खर-भर्खर बोर्डिङ स्कुलहरू खुल्न सुरु गरेका थिए। सहरहरूमा पनि एक दुईभन्दा बढी बोर्डिङ स्कुल हुँदैनथे भने गाउँमा खुल्नु त झन् निकै ठूलो कुरो हुन्थ्यो। सहरबाट अलि नजिकैको गाउँ भएकोले हामीले पढ्ने स्कुल नजिकै बोर्डिङ स्कुल खुलेको थियो र त्यो समाचार जिल्लाभरी नै फैलिएको थियो।
त्यो बेला सबैले सरकारी स्कुलमै पढ्थे, मैले पनि गाउँकै सरकारी स्कुलमा पढ्थेँ। अधिकांश सरकारी स्कुलहरूमा स्कुल पोशाकको कुनै नियम हुँदैनथ्यो, हाम्रो स्कुलमा पनि थिएन। केही नाम चलेका ठूला स्कुलहरूले पोशाकको नियम लगाए पनि त्यसको खासै पालना हुँदैनथ्यो। कसैले लगाइहाले पनि मैला, च्यातिएका, खुम्चिएका अनि रंगहरू नमिलेका पोशाकहरु हुन्थे।
तर त्यसको विपरति बोर्डिङ स्कुलहरूमा स्कुल पोशाक अनिवार्य थियो र बोर्डिङ स्कुलहरू पोशाकको मामलामा निकै कडा पनि थिए। बुझ्नेले पनि, नबुझ्नेले पनि स्कुलको पोशाकलाई ‘ड्रेस’ भन्थे। किन भन्थे भन्ने कुरा मैले अलि ठूली भएपछि मात्र थाहा पाएकी थिएँ।
बोर्डिङमा पढ्नै सबै विद्यार्थीहरूले बोर्डिङले भनेकै दर्जीमा लगेर पोशाक सिलाउनु पर्थ्यो। कपडा पनि उसले नै खरिद गर्थ्यो। बोर्डिङको ड्रेसमा उसको एकाधिकार थियो। तर त्यसमा नै स्कुल र अभिभावक सबैलाई फाइदा पनि थियो। पहिलो कुरा त सबै पोशाकको ठ्याक्कै रंग मिल्नु पर्ने, अनि डिजाइन पनि एउटै हुनुपर्ने र अर्को कुरा एकै पटक त्यति धेरै विद्यार्थीको पोशाक सिलाउँदा कपडाको मूल्य र सिलाउने ज्यालामा पनि सहुलियत मिल्ने। त्यसैले आफै गएर पोशाक सिलाउनुभन्दा अभिभावकहरूले बोर्डिङले भनेको दर्जीसँग सिलाउँदा सस्तो पाउँथे र कसैले पनि सिकायत गर्दैनथे।
पोशाक मात्र हैन विद्यार्थीहरुले बोक्ने ब्याग पनि उनीहरूले भनेको रङ र डिजाइनकै हुनु पर्थ्यो। त्यसको अलावा जुत्ता पनि पालिस लगाएर टिलिक्क टल्कने छालाका जुत्ता हुनु पर्थ्यो। कपाल पनि राम्ररी काटेको र कोरेको हुनु पर्थ्यो। नङ् पनि काटेको हुनु पर्थ्यो। पाइन्टमा बेल्ट बाँधेको हुनु पर्थ्यो भने नाकमा सिंगान हुनु हुँदैनथ्यो। सिंगान आइहाल्यो भने पनि पुछ्नको लागि कमिजमा एउटा सानो ‘ह्याङ्की’लाई खिपले झुण्ड्याएको हुनु पर्थ्यो।
त्यति राम्रो पोशाकमा सजिएका बोर्डिङ जाने विद्यार्थीहरूको सानै अर्कै हुन्थ्यो। अर्कोतिर सरकारी स्कुलमा पढ्ने हामीहरू राति सुत्दा लगाएको लुगामै पनि स्कुल पुग्थ्यौं। फित्ता चुँडिए पछि आगोले पोलेर अथवा अलपिनले अड्काएर बनाएको चप्पल अनि हातमा किताब बोकेर सिंगान आएमा नाडीले पुछ्दै हामी स्कुल दौडन्थ्यौं। कपाल कोर्न जरुरत थिएन भने नङ काट्न हामीलाई अल्छी लाग्थ्यो। धेरै जसोका नाक मुन्तिर र दाहिने हातको सर्टको बाहुलामा सुकेर कटकटिएको सिंगानका चिन्हहरू सजिलै देख्न पाइन्थ्यो।
स्कुल जाँदा बाटोमा हामीले कसैका आँप, कसैका अमला र कसैका बेलौती चोर्दै स्कुल लिएर जान्थ्यौँ। बोर्डिङ पढ्नेहरूले ‘टिफिन बक्स’मा लिएर गएको खाजा खाने बेलामा हामी तिनै काँचा र ठेट्ना फलफूलहरू घरबाट चोरेर ल्याएको नुनसँग जिब्रो पड्काउँदै खान्थ्यौँ।
हाम्रो स्कुल नजिकै खुलेको बोर्डिङ स्कुलमा सुरुमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। वरपरका गाउँका अलि हुने खानेहरूले आफ्ना बच्चाहरूलाई त्यहीँ राखेका थिए। बोर्डिंङमा पढ्ने बच्चाहरू हाम्रै स्कुलको अगाडि रहेको बाटोबाट लहर लागेर सानसँग जान्थे। हामी पनि उनीहरूलाई निकै उत्सुकताका साथ डाह मानेर हेर्थ्यौं। उनीहरूको शान देख्दा मलाई पनि बोर्डिङमा पढ्ने इच्छा जाग्थ्यो तर आफ्नो इच्छा बुवाआमासँग भन्ने आँट थिएन।
मेरो सानो मस्तिष्कले हामी बोर्डिङमा पढ्ने हैसियतका छैनौं भन्ने बुझेको थियो। सानै भए पनि बोर्डिङमा पढ्न धेरै पैसा लाग्छ भन्ने थाहा थियो। पैसै नतिरी स्कुलमा नपढाएर बुवाआमाले मलाई बोर्डिङमा राख्नुहुनेछ भन्ने कुरो सोच्नु नै गलत थियो। त्यसैले मैले त्यतातिर ध्यान दिएकी थिइनँ र बोर्डिङ जाने केटाकेटीहरूलाई हेरेर चित्त बुझाउँथेँ।
तर म गलत रहिछु। बुवाआमा बोर्डिङमा पढाउन सक्षम हुनुहुँदो रहेछ। म तीन कक्षामा पढ्ने हुँदा भाइ पनि स्कुल जाने भयो। बुवाआमाले सल्लाह गरेर भाइलाई बोर्डिङमा हाल्ने विचार गर्नु भएछ तर मलाई थाहा थिएन। मलाई कसैले भनेको पनि थिएन।
नजिकै भएकोले भाइ बोर्डिङमा बस्नु पर्दैनथ्यो। दिनदिनै भाइलाई बोर्डिङ पुर्याउनु पर्थ्यो। मलाई कहिले पनि स्कुल पुर्याउन नगएका बुवा भाइलाई हरेक दिन बोर्डिङ पुर्याउन जान थाल्नु भएको थियो। त्यसको लागि बुवाले साइकल पनि किन्नु भयो। हरेक दिन सबैरै बुवाले भाइलाई साइकलमा राखेर बोर्डिङ पुर्याउनु हुन्थ्यो तर भाइको बोर्डिङ र मेरो स्कुल सँगै हुँदा पनि बुवाले मलाई कहिले पनि साइकलमा राखेर भाइसँग लिएर जानु भएन।
मलाई पनि थाहा थियो, त्यो साइकल चढ्ने मेरो अधिकार थिएन भन्ने त्यसैले मैले पनि जिद्दी गरिनँ। साइकलमा चढेर जाँदा बाटोमा अमला र बेलौती पनि चोर्न नपाइने हुनाले म पैदल स्कुल जानमै रमाउँथेँ।
भाइलाई बोर्डिङमा राखेपछि मलाई बुवाआमाको आर्थिक हैसियत ठिकै रहेछ भन्ने ज्ञान भयो र मैले म पनि बोर्डिङमा पढ्छु भनेर माग राखेँ। मलाई पनि भाइ जस्तै ठाँटिएर सुकिला लुगा लगाएर, ब्याग बोकेर, ‘ह्याङ्की’ झुन्ड्याएर, काला टिलिक्क टल्किने जुत्ता लगाएर बुवाको साइकलमा चढेर पढ्न जान मन लाग्यो। बुवासँग त बोल्ने हिम्मत थिएन तर मैले आमालाई मेरो चाहाना बताएँ। तर त्यस्तो सोच्नु मेरो मुर्खता थियो। मेरो भाग्यमा त्यो लेखेको थिएन।
मेरो भाग्यमा मात्र हैन मेरो उमेरका मेरो गाउँका सबैजसो केटीहरूको ललाटमा भावीले बोर्डिङमा पढ्न पाउने भनेर लेख्न बिर्सिएका थिए। तर म पहिलेदेखि नै अलि जिद्दी र हठी स्वभावकी थिएँ र वास्तविकतालाई आफ्नै आँखाले देख्दा देख्दै पनि मैले आफूले पनि बोर्डिङमा पढ्न पाउनुपर्छ भन्ने माग राख्ने दुष्साहस गरेकी थिएँ।
आमाले मेरो त्यो माग बुवासम्म पुर्याउने आवश्यकता नै देख्नु भएन किनभने त्यो माग अनुचित थियो। तर मैले जिद्दी गरिरहें। बोर्डिङ जान नपाउने हो भने म भात पनि खान्न, स्कुल पनि जान्न भनेर अड्डी कसें। त्यसपछि त्यो कुरो बुवासम्म पुग्यो। जति सम्झाउँदा पनि मैले मान्दै नमानेपछि बुवाको झापडले मेरो गाला रङ्गियो। त्यो चड्कनसँगै मेरा मागहरू कुहिएका आँपहरू हावाले हल्लाएर रुखबाट भुइँमा झरे जस्तै गरी सबै झरे। अनि म चुडिएको चप्पल लगाएर खुरुक्क स्कुल गएँ।
साँझ स्कुलबाट फर्केपछि आमाले मैले नसोधीकन नै मेरो बोर्डिङमा पढ्ने अधिकार किन छैन भन्ने कुरा प्रष्ट्याउन थाल्नु भयो। म केही बोलेकी थिइनँ, आमाको कुरो सुनिरहेँ। आमाको तर्क थियो- उहाँहरूसँग मलाई बोर्डिङमा पढाउनको लागि पैसा छैन।
भाइले बोर्डिङमा पढेको देख्दादेख्दै मलाई त्यस्ता कुरा गरेर भुलाउन खोज्ने त्यो तर्कमा मैले कुनै तुक देखेन। तर मलाई शान्त गराउन आमासँग अर्को तर्क पनि थियो। उहाँका अनुसार गाउँका सबै हुनेखानेले उनीहरूका छोराहरूलाई सबैले बोर्डिङ पढाएका थिए, त्यसैले आफ्नो इज्जतको लागि भए पनि बुवा-आमाले भाइलाई बोर्डिङ पठाउनु भएको थियो।
कुनै निकै धनीहरूले आफ्नी छोरीहरूलाई पनि बोर्डिङ पठाएका भए पनि हाम्रो गाउँबाट हाम्रो जस्तो आर्थिक स्थिति भएकाहरूले कसैले पनि छोरीलाई बोर्डिङमा पठाएका थिएनन्, त्यसैले म त्यहाँ पढ्न जान्छु भनेर माग राख्नु नै मेरो मूर्खता थियो। आमाको दोश्रो तर्क मलाई पनि सही नै लाग्यो। त्यसपछि म आफ्नो जिद्दी छोडेर चुप लागेँ।
चुप त लागेँ तर भित्र-भित्र मन निकै कुडिन्थ्यो। हामीलाई छोरी भनेको दोश्रो दर्जाको नागरिक हो भन्ने पाठ घरबाट नै सिकाइएको थियो। आमा र बुवाले नै त्यो सिकाउनु भएको थियो। छोरीहरुले छोराहरुको जस्तै अधिकार माग्नु गलत हो भन्ने कुरो हाम्रो दिमागमा कहिले नमेटिने गरी घुसाइएको थियो।
मैले पछि मात्र थाहा पाएँ हाम्रो आर्थिक हैसियत राम्रै थियो र मलाई बोर्डिङ जान रोक्नुमा हाम्रो आर्थिक हैसियत त बहाना मात्र थियो, बुवा-आमाले म बोर्डिङ जाने आवश्यकता नै नदेखेकोले म जान पाएकी थिइनँ। तर मैले थाहा पाउँदासम्म मेरो बोर्डिङ स्कुल जाने उमेर गुज्रिसकेको थियो। त्यसैले यो जन्ममा बोर्डिङ गएर पढ्ने मेरो चाहना कहिले पनि पूरा भएन।
आमाको तर्क सुनेर बोर्डिङ जाने मेरो माग गलत थियो भन्ने थाहा भएपछि मैले आमासँग अर्को एउटा माग राखेँ। आमाले पनि त्यसलाई स्वीकार गर्नुभयो। माग थियो- आउने तीजमा मलाई नयाँ लुगा हालिदिने बेलामा बोर्डिङको ड्रेस जस्तै देखिने लुगा हालिदिने।
तिज आउनै लाग्दा भाइको ड्रेस सिलाएको दर्जीकहाँ गएर आमाले बोर्डिङ जाने केटीहरूले लगाउने जस्तै ड्रेस सिलाइदिनुभयो। मेरो मन फुरुङ्ग भयो। आधा च्यातिएको जामा लगाएर स्कुल जाने साथीहरूको अगाडि मेरो फुर्ती हुने भयो भन्ने सोचेर म मख्ख परेँ। छालाको जुत्ता नभए पनि छालाकै जस्तै देखिने प्लास्टिकका स्यान्डल पनि किनिदिनु भयो। मैले त ब्यागको पनि माग राखेकी थिएँ तर फेरि पनि पैसा बहाना बन्यो र मेरो ब्यागको चाहना भने पूरा भएन। तर ब्याग नपाए पनि म दुखी भइनँ, ड्रेस पाउनु नै मेरो लागि ठूलो कुरो थियो।
भर्खर तीज सकिएको थियो। भाइलाई टाइफाइड भएर ज्वरो आएर उ बोर्डिङ जान सकेको थिएन। तीजको बिदा सकिएपछि म पहिलो दिन स्कुल जाँदै थिएँ। भाइ स्कुल जान्न भन्ने थाहा पाएकी मैले सुटुक्क उसको ब्यागका किताबहरू निकालेर त्यो ब्यागमा आफ्ना किताबहरू राखेँ। त्यसपछि आमाले किनिदिएको बोर्डिङ ड्रेसमा ठाँटिएर स्कुल जान हिँडेँ।
बाटोमा सबैले मलाई नै हेरिरहेका जस्तो लाग्थ्यो। अलि-अलि लाज पनि लागेको थियो, तर लाजभन्दा खुशी कैयौं गुणा बढी थियो। म एक्लै एक्लै मुसुमुसु हाँस्दै हिंडेरेहकी थिएँ। स्कुल पुग्न ४५ मिनेटको बाटो थियो। तर आधा बाटो गैसक्दा पनि कसैले किन मलाई मेरो नयाँ ड्रेसको बारेमा केही पनि सोधेका थिएनन्। त्यसले मलाई अलि नमज्जा लाग्न थालेको थियो।
त्यहीबेला एक जनाले आफ्नो आँगनमा उभिएर बाटो तिर हेर्दै थिए र मलाई देखेपछि आफैसँग बोल्दै ‘यी नानी कति राम्रो रैछिन् तै, बोर्डिङ जान लाग्या कस्तो सुहाउँछ’ भनेर टिप्पणी गरे।
उनको टिप्पणीले मेरो मुस्कान मुहारभरी छरियो। म खुसी हुँदै मेरो बोर्डिङ ड्रेसमा स्कुल पुगेँ। साथीहरू पनि मलाई नै हेरेर मेरो डाह गरिरहेको भान हुन्थ्यो।