केही दिन अगाडि श्रीमती रिंकु र मैले नेट फ्लिक्समा ‘क्लास अफ ८३’ फिल्म हेरेका थियौं।
रिंकुलाई बबी देवलको कम व्याक गजब लाग्यो तर मलाई भने त्यस्तो जबर्जस्त लागेन। हुन त रिंकुलाई बबी देवलको खानदान नै मनपर्छ। अझ उनी त अभय देवलको गालामा पर्ने त्यो डिम्पलको डाई हार्ट फ्यान हुन्। अभय देवलको ‘देव डी’ फिल्म हेर्दा उनले स्क्रिनमा बारम्बार आफ्नो ओठ लगिन्। त्यतिखेर म आफ्नो डिम्पल नबस्ने गालालाई घोचिरहें।
खैर, लेट मि गो ब्याक टु ‘क्लास अफ ८३’ फिल्म। फिल्म रिलिज भएको भोलिपल्ट एउटा भारतीय अनलाइनले बबी देवलको केही भनाइ पनि छापेको थियो। बबी देवलले दुई तीन वर्ष काम नगर्दा आफूले आफूलाई एकदमै श्ररापेको कुरा त्यहाँ उल्लेख गरिएको थियो। ती वर्ष घर बस्दै गर्दा उसले उनी अत्यन्त रक्सी पिउने गरेको पनि बताएका थिए। अनि एकदिन जब उसले आफ्नो छोराछोरीको आँखामा मेरो बुबा दिनभरि घरमात्रै बस्नुहुन्छ भन्ने भाव देखे अनि उसलाई लागेछ ओहो! मैले ठूलो अपराध गरिरहेछु र म एकदमै गलत रहेछु।
उसको यो भनाइ पढेपछि एकदिन मैले मेरो आठ वर्षीय छोरीलाई मौका मिलाएर सोधें– बुनु, मम्मी सधैं काममा अनि बाबा सधैं घरमा देख्दा तिमीलाई कस्तो लाग्छ ?
उनले तोते बोलीमा नै जावाफ दिइन्–ड्याडी मलाई त एकदमै रमाइलो लाग्छ। हजुर घरमा बसेर मेरो केयर गर्दा मम्मीलाई कति सहयोग भएको छ।
तर पनि तिमीलाई लाग्दैन ड्याडी पनि बाहिर गएर काम गरोस् भनेर ? मैले छोरीसँग डराइडराई सोधें।
उनले त्यसपछि मैले नसोचेको उत्तर दिइन् – हजुर बाहिर गएर काम त गर्नुभएको छ नि अस्ति भर्खरै आँगनमा तुलसी रोप्नु भएको होइन र ? त्यो पनि त घर बाहिरको काम त हो नि। सरले भन्नुभएको तुलसीले त धेरै अक्सिजन दिन्छ रे। हजुरले त घरमा अक्सिजन रोपेर डाक्टरको काम गर्नु भएको छ।
छोरीको जवाफले म मुर्छा परेर हाँसें। भनिन्छ बालबालिकाको बोलीमा भगवानको बास हुन्छ। मेरो अबोध छोरीको अबोध उत्तरले हाँसोसँगै मलाई एकछिन सोचमग्न पनि बनायो।
मेरो आठ वर्षको छोरीले त तुलसी रोप्ने कामलाई ठूलो काम ठान्छिन् भने तमाम श्रीमानहरूले आफ्नी श्रीमतीले बिहानदेखि बेलुकासम्म घर स्याहार्ने कामलाई चाहिँ किन काम ठान्दैनन् भन्ने मलाई लागिरह्यो।
त्यो दिन मैले छोरीको बोलीबाट एउटा ज्ञान सिकेको थिएँ। आँगनमा तुलसीको मठ रोपेर दिनहुँ त्यसलाई पानी हालेर हुर्काउनु पनि त जीवनको एउटा महत्वपूर्ण काम हो।
साँच्चै तुलसी मौलाउँदै गएमा यसबाट हुने वैज्ञानिक र आध्यात्मिक उपलब्धिहरूलाई हामीले कसरी पाखा लगाउन सक्छौ र?
अनि त्यही माथि तुलसी रोप्ने र त्यसलाई पानी हालेर हुर्काउने व्यक्तिहरूलाई पनि हामीले कसरी नजरअन्दाज गर्ने!
छोरीको यो दिव्यवचन सुनेपछि मैले उनलाई जिस्काउँदै भने– हो नि छोरी, तुलसी रोप्ने पनि काम हो अनि ड्याडीले बुनेको आची धोइदिएको पनि त काम नै हो । तर हाउ स्याड बुनेले आची धोइदिएको पैसा पो दिन्न त।
छोरी काखमा लाडिँदै भन्छिन् –पैसा त म ठूलो भएर मम्मी जस्तै जागिर गरेपछि दिने हो। अहिले त मैले ड्याडी चुप्प मात्रै दिन सक्छु।
मान्छे यति सानो कुरा भने कति जानेकी जिरे खुर्सानीले भनेर मैले उनको पेटमा काउकुती लगाएँ।
म जिरे खुर्सानी भए ड्याडी डल्ले खुर्सानी भनेर उल्टै छोरी काउकुतीले हाँस्दै मलाई जिस्काइन्।
हामी बाबा र छोरी समय मिलेपछि घरमा यसरी नै बात मारेर जिस्केर बस्छौं। घरमा मात्रै होइन यसरी छोरीलाई स्कुल ल्याउँदा लैजाँदा बाटोमा पनि बात मार्दै हामी हिँड्छौं।
यसरी छोरीसँग गफ गर्दा मैले छोरीबाट धेरै ज्ञानज्ञुनको कुरा सिकेको पनि छु। जुन कुरा मैले बेवास्ता गरिरहेको हुन्छु, त्यही कुरा उनले बढो गजबको साथ महत्व दिएर गर्छिन्।
म पनि उनलाई अहिलेदेखि नै सशक्त बनाउने प्रयास गर्दैछु। उनलाई नयाँ सोच र नयाँ दृष्टिकोण दिने प्रयत्न गर्दैछु। यसरी कुरा गर्ने शिलशिलामा घरी छोरीले मबाट र घरी मैले छोरीबाट धेरै जीवनदर्शनको कुराहरू सिकेका छौं।
हामीले सकारात्मक सोचहरूको उत्खनन् गरेर जीवनभर एउटा बाटोमा हिँड्ने प्रतिवद्धता पनि गरेका छौं। तर रिंकु कहिलेकाहिँ आफू व्यस्त हुँदा छोरीसँग यसरी गफ गर्न नपाएकोमा पनि गुनासो गर्छिन्।
यो गुनासो भन्ने कुरा पनि अचम्मको हुने रहेछ।
छोरी जन्मेको तीन वर्षसम्म म एकदमै व्यस्त हुँदा छोरीसँग समय बिताउन नपाएकोमा दुःख व्यक्त गर्थें। त्यही दुःखको अनुभव अहिले रिंकुले गर्दैछिन्।
यो स्वभाविक प्रक्रिया हो भनेर म रिंकुलाई ढाडस पनि दिइरहन्छु।
यदि मैले उनलाई सजिलो नपारिदिने हो भने फेरि आमाको मन त हो, आफ्नो बनिरहेको करियर सबै छोड्न पनि बेर लगाउँदिनन् उनले।
त्यसैले बेलाबेलामा म उनलाई भन्छु पनि–हामी त भाग्यमानी हो रिंकु यो समयमा मैले एउटा माताको महत्व बुझिराखेको छु अनि तिमीले एउटा पिताको धर्म पनि बुझिराखिकी छौ।
एउटा गृहस्थी चलाउन दुवैको भूमिका उत्तिकै हुने रहेछ भन्ने हामीले चाल पाइराखे छौं। योभन्दा ठूलो उपलब्धि हामीलाई के होला भन त?
त्यो त हो पनि भन्छिन् रिंकु अनि फेरि अरूले भनेको कुरा पनि मनमा लिन्छिन् – मलाई साथी रश्मीले भनेको लोग्नेलाई घरमा दबाएर खुब वकिल्नी भएर खाइ टोपलेकी भन्छन् रे वरिपरिको मान्छेहरूले।
रिंकु यसो भनिरहँदा म उनको मनको भाव बुझ्थें।
त्यसैले पनि म उनलाई सम्झाइरहन्थें–भन्न त यो समाजले मलाई यसरी घर बस्दा नामर्द पनि भन्छन्। स्वास्नीको कमाइ खाएर बस्न पाएपछि काम किन खोज्थ्यो र पनि भन्छन् होला।
छोरीलाई स्कुलबाट घर लिएर आउँदा मलाई देखेर अरुले ओठ चुचो पार्दै कुरा नकाटेका पनि होइन। उनीहरूले ओठ चुचो पारून्, ओठ लेप्राउन् वा कानेखुसी गरून् जबसम्म त्यसको असर हामी दुईबीच पर्दैन हामीले टाउको दुखाउनु पर्ने जरूरी नै छैन जस्तो लाग्छ।
यदि म बाहिर काम गर्न गएको भए पनि तिमी छोरीलाई हेर्न घर बस्नै पर्थ्यो । अनि छोरी त हामी दुवैको हो र म अहिलेको परिस्थितिमा मेरै इच्छाले ‘हाउस हजबेन्ड’ भइरहँदा कसैलाई आपत्ति हुनुपर्ने जरूरी देख्दिनँ म।
मेरो कन्सर्न भनेको तिमी र छोरीले के सोच्छौ भन्ने हो। यदि तिमीहरू दुवै मेरो यो निर्णयमा खुसी छौ भने मलाई केही आपत्ति छैनौ।
बस् बबी देवलले जस्तो मैले तिमीहरूको आँखामा मेरो लोग्ने र मेरो ड्याडी दिनभरि केही काम नगरी घरै बस्छन् भन्ने महशुस गर्नु भएन।
यति भनेपछि रिंकु बल्ल खुसी भइन्।
प्लस टु साइन्स पढेकी रिंकुले बिहेपछि वकिल पेशा अपनाउने रहर गरेकी थिइन्। बिहे भएको ताका मेरो यता सानोतिनो जागिरसँगै इन्जिनिरियङको अन्तिम पढाइ पनि चलि नै रहेको थियो।
हामी दुवै करियर बनाउन लागि परिरहेको बेलामा बिहे गरेका थियौं। बिहे गरेपछि एउटाको करियर चाहिँ उचाइमा जानुपर्ने अर्कोको करियर चाहिँ थन्किनु पर्ने भन्ने कुरामा म कहिल्यै राजी भइनँ।
यदि रिंकुले आफ्नो करियरमा चासै नदिएको भए बेग्लै कुरा तर उनी चाहे जे सुकै होस् म आफ्नो पढाइ र करियरलाई निरन्तरता दिन्छु भन्ने सोच भएकी व्यक्ति थिइन्।
उनले हाम्रो बिहेपछि ल फिल्डमा दक्ष हुन्छु भन्ने अठोट लिइन् र मैले किन बिहे पछि ल पढ्ने इच्छा गर्यौ भनेर प्रतिप्रश्न गर्नु गलत थियो। म पनि पढिरहेको छु अब तिमी पनि किन पढ्नु पर्यो भन्नु पनि गलत हुन्थ्यो। त्यसैले पनि म उनको लक्षप्राप्तिमा तगारो हुनु हुँदैन भन्ने लाग्यो।
जस्तो मेरो इच्छा मलाई प्यारो हुन्छ उनको पनि त त्यस्तै इच्छा हो भनेर उनको ल पढ्ने निर्णयमा साथ दिएँ।
उनी कक्षामा हरेक वर्ष प्रथम हुँदै गइन्।
पढिरहँदा उनले एउटा प्रतिष्ठित ल फर्ममा इन्टर्नसिप पनि गरिन्।
तर यही दौरानमा छोरी हाम्रो गर्भमा आइन्। त्यो समय अहिले पनि मलाई झलझली याद आउँछ।
नौ महिनाको कोख बोकेर सकिनसकी भए पनि रिंकु ल को अन्तिम परीक्षा दिन गएकी थिइन्।
डाक्टरले दिएको डेट नाघिसकेको थियो तर रिंकुलाई व्यथा लागिरहेको थिएन। एकातिर परीक्षाको तनाव अर्कोतिर अहिलेसम्म बच्चा आएन भन्ने चिन्ता। यही चिन्ता र तनावमा रिंकु परीक्षामा बसिन्।
तर अन्तिम परीक्षा दिएर आएको राति बल्ल रिंकुलाई व्यथाले च्याप्यो। त्यो पल मेरो लागि एकदमै हृदयविदारक थियो।
छोरी जन्मेपछि रिंकुले तीन वर्ष पूरै छोरीकै हेरचाहको लागि समय छुटाइन्।
उनले त्यसरी घर समालेर बस्दा त्यतिखेर मैले पूरै रूपमा आफ्नो करियरलाई बढाउन मौका पाएँ।
मेरो करियर हाइ पोइन्टमा पुगेको थियो त्यही बेलामा। अनि छोरी चार वर्ष लाग्दै गर्दा हामीले उनलाई डे केयरमा राख्यौ र रिंकुले ल फर्ममा काम गर्न थालिन्।
विस्तारै रिंकुले पुनरावेदन अदालतमा वकालत गर्ने मौका पनि पाइन् र लगत्तै आफ्नै ल फर्म खोल्नतिर उनी अग्रसर भइन्।
मेरो दाइले किन अहिले नै रिंकुले सबैतिर हात हाल्नु पर्यो। छोरी सानै छ एउटा जागिर समातेर खुरुक्क घर समालेर हुँदैन भनेर सल्लाह पनि दिनुभयो।
तर म रिंकुको आँखामा आकाश छुने चमक देख्थें। जुन आँट, जोश जाँगर र दक्ष ममा थिएन त्यो उनमा देख्थें।
घरपरिवारदेखि बाहिर सबैतिर भ्याउने उनी बहुप्रतिभाशाली थिइन्। स्वर्गको फूल लिएर आउँछु भनेर हिँडेको यात्रीलाई म कसरी रोक्न सक्छु दाइ भनेर म जवाफ दिन्थें।
त्यही माथि जागिर खाँदै आफ्नो पनि कम्पनी खोल्ने उनी यो संसारमा एउटा मात्रै प्राणी होइन। यदि मैले जागिर खाँदै अरू पनि काम गरेको भए घरपरिवार, साथीभाइ, इष्टमित्र, छरछिमेकी बीचमा चर्चा र प्रशंसा हुन्थ्यो तर एउटा महिलाले अर्थात् रिंकुले यी सारा काम भ्याउँदा विश्वास नलागेर घरमै बस्न सुझाउनु चाहिँ मलाई उत्तम लाग्दैन।
मेरी पनि छोरी छे भोलि ज्वाइँले वा उसको घरपरिवारले धेरै काम गर्नु पर्दैन घरै बस भनेर दबाव दियो भने मलाई कदापि चित्त बुझ्ने छैन। दाइलाई मैले यही हुबुहु भनिदिए।
रिंकुको ल फर्म एकदम राम्रो चलिनै रहेको थियो।
उनले अफिसमा एउटा सिस्टम बसालेकी थिइन्। राम्रो व्यवस्थापन गर्न सक्नु उनको अर्को खुबी हो। अफिसको स्टाफहरू त्यही सिस्टममा बसेर काम गर्द अब उनी दिनहुँ अफिस गएर निगरानी गरिरहनु परेन।
उता उनको वकालत पनि राम्रो भइरहेको थियो अनि उनी भर्खरै सर्वोच्च अदालतमा छिरेकी थिइन्।
यसैबीचमा उनलाई पिएचडीको लागि अफर पनि आएको थियो। के गरौं भनेर मसँग सल्लाह मागिन्।
मेरो सल्लाहभन्दा उनको इच्छालाई प्राथमिकता दिएँ। अनि उनले पार्ट टाइम पढेर भए पनि पिएचडी गर्ने मन छ भनिन्।
श्रीमतीको नामको अगाडि डाक्टर लेखेको देख्ने मलाई पनि तुरून्तै रहर जागिहाल्यो। हामी दुवैको कुरा मिल्यो अनि उनी पिएचडीको तयारीतिर लागिन्।
घर, वकालत, विजनेस र पिएचडीको तयारीले उनी धौधौ भएको देख्दा दुई वर्ष अगाडि मलाई महशुस भयो यही समय हो मैले मेरी श्रीमतीलाई सहयोग गर्ने।
सहयोग गर्न सधैं मौका आउँदैन तर उनको यो व्यस्त जीवन र विषम परिस्थितिमा साथमा उभिन सक्यो भने बल्ल जीवन साथीको अर्थ अर्थिन्छ जस्तो लाग्यो।
मैले फ्याट्ट निर्णय लिइहाले अब म जागिर छोडेर हाउस हजबेन्ड बन्छु।
यदि मिल्यो भने घरबाटै गर्न सक्ने फ्याट्ट फुट्ट इन्जिनेरिङको कन्ट्याक्टहरू लिन्छु नत्र पूर्णतरिकाले हाउस हजबेन्डको मज्जा लिन्छु।
यो निर्णय मेरो लागि सहज त पक्कै थिएन तर असम्भव पनि त थिएन। कति महिलाहरू आफ्नो सफलताको उचाइमा पुग्दै गर्दा श्रीमानको लागि भनेर गुमनाम चुपचाप पनि त बसेका छन् हैन र ?
यदि श्रीमतीहरू आफ्नो जीवनसाथीको लागि यतिसम्म त्यागी हुन सक्छन् भने हामी श्रीमानहरू आफ्नो जीवनसाथीको लागि किन हुन नसक्ने?
हामी पनि त त्यागको प्रतिमूर्ति भएर चिनिन सक्छौ ? यही ख्यालले नै धेरै दायाँ बायाँ नसोची म हाउस हजबेन्ड भएँ।
तर समाजमा तरंग त आउनु नै थियो।
घर परिवार, समाज, साथीभाइ अनि रिंकुको माइतीतिर पनि खैलाबैला मच्चियो।
श्रीमतीलाई काममा लगाएर घर बसेर खान पल्केकोसम्म पनि भन्न भ्याएछन् कसैकसैले।
यदि म काममा गएर रिंकुलाई हाउस वाइफ मात्रै बनाएको भए पनि समाजले ऊ त्यत्रो पढेलेखेको श्रीमतीलाई चार दैलोमा कैदी बनाएर राखेछ भन्थ्यो।
जे गर्दा पनि सुख छैन भनेर यहाँ काग कराउँदै गर्छ पिनास सुक्दै जान्छ भनेर परिस्थिती अनुकूल नहुनुन्जेल म हाउस हजबेन्ड हुने निर्णय गरें।
यसरी विगत दुई वर्षदेखि म पूर्ण रूपमा हाउस हजबेन्ड भएको छु। मैले मेरो छोरी हेर्ने कुरालाई पनि एक प्रकारको फूल टाइम जागिरको रूपमा लिइरहेको छु।
यसरी घर बसेर छोरीसँग रमाउँदा मैले आफूले आफूलाई पराधी ठानेको छैन। पैसा आउने मात्रै काम नत्र अरु सबै बेकाम भन्ने सोचले म पनि ग्रसित भएको भए सायद म हाउस हजबेन्ड बन्ने निर्णय लिँदैनथें होला।
अनि त्यहीमाथि म कहिल्यै मेरी हजुरआमा, आमा, श्रीमती र तमाम हाउस वाइफहरूको यति धेरै इज्ज्त गर्न जान्दैनथें होला।
म फूलटाइम वाउस हजबेन्ड भइरहँदा महशुस भयो संसारको सबभन्दा जटिल काम, जति पैसाले पनि किन्नै नसक्ने काम र सबभन्दा आत्मसन्तुष्टि दिने काम रहेछ।
कामले हामीलाई वर्गीकरण गर्दैन तर कामलाई हामीले वर्गीकरण गरेर अवहेलना गर्ने कुरा पनि मैले यही समयमा महशुस गरें।
मलाई छोरीसँग रमाइलो समय बिताएर बेलुकी रिंकु अफिसबाट आउँदा उनलाई मनपर्ने करेलाको अचार बनाएर राख्न पाउँदा आनन्द लाग्छ।
छोरीले स्कुलमा मेरो ड्याडीले मेरो लागि यो खाजा प्याक गरिदिनुभएको भनेर गर्वसाथ साथीहरूलाई भन्दा मेरो शिर ठाडो नै हुन्छ। यसमा लजाउनु पर्ने केही कुरा लाग्दैन मलाई।
अस्ति बुबाको मुख हेर्ने दिन छोरीको स्कुलको प्रिन्सिपलले हामी सबैलाई जुम मिटिङमा बोलानु भएको थियो। बुनुको कक्षाको सबै बुबाहरू आफ्नो छोराछोरीसहित उपस्थित हुनुहुन्थ्यो।
प्रिन्सिपलले आफ्नो परिचय दिँदै मिटिङ बोलाउनुको औचित्य पनि भन्नुभयो।
केही दिन अगाडि बुबाको मुख हेर्ने दिनको लागि भनेर स्कुलबाट बुनुको कक्षामा सबैलाई आफ्नो बुबाको चित्र बनाउने र चित्रसँगै बुबाको बारेमा केही शब्द बयान गर्ने इमेल आएको थियो।
इमेल आए अनुसार बुनुले पनि चित्र बनाएकी थिइन् र मेरो बारेमा केही हरफ लेखेकी थिइन्।
उनले बनाएको चित्र हेरेपछि मैले उनलाई केही सुझाव पनि दिन जरुरी ठानिनँ।
छोरीले जुन भावले त्यो चित्र बनाइन् र जुन गहिराइमा त्यो शब्द लेखिन् त्यसको निर्णायक म कदापी बन्न सक्दैनथें।
उनको त्यो स्वतस्फूर्त आएको भावनालाई परिवर्तन गराउनु मेरो ठूलो मूर्खता हुने थियो त्यसैले पनि उनको त्यो चित्र र शब्दहरू जस्ताको तस्तै स्क्यान गरेर इमेल गरिदिएँ।
मिटिङमा प्रिसिन्सपलले सबैले बनाएको चित्रहरू देखाइरहनुभएको थियो।
मलाई देखाइरहेको ती सबै चित्रहरू साह्रै राम्रो पनि लाग्यो । ‘माई सुपर म्यान ड्याड’ भनेर कसैले आफ्नो बुबाले प्लेन चलाइरहेको चित्र बनाएको थियो। कसैले लाइफ सेभर माई ड्याड’ भनेर डाक्टरको ड्रेस लगाएको चित्र थियो।
अनि कसैको ‘माई विजनेस टाइकन ड्याड’ भनेर टाई सुट लगाएको चित्र थियो। चित्र सबैको राम्रो थियो। म बुझ्न सक्थें ती सबै बाबु नानीहरूले आफ्नो बुबा जुन स्वरूपमा देखें त्यही चित्र बनाए र भाव कोरे। आफ्नो बुबा जुन रूपमा भए पनि सबैलाई आफ्नो उहाँप्रति गर्व लाग्नु स्वभाविक नै हो।
अनि अब पालो थियो मेरो छोरी बुनुको चित्र देखाउने।
चित्र देखाउनुभन्दा पहिला प्रिन्सिपलले भन्नुभयो– यो चित्र अन्तिममा देखाउनुको कारण विशेष छ। उहाँले त्यो चित्र देखाउँदै भन्नुभयो हामी सबैले वेवास्ता गरेको तर सबैभन्दा महत्वपूर्ण सन्देश दिने चित्र छ भन्नुभयो।
प्रिन्सिपलले अरु पनि धेरै कुरा भनिरहनुभएको थियो।
प्रिन्सिपल बोलिरहँदा मेरो आँखा रसाइहाल्यो। छोरीले त्यही चित्र हातमा लिएर आफ्नो प्रिन्सिपललाई ध्यानपूर्व सुनिरहेकी थिइन्। छोरीको हातमा रहेको चित्र आफ्नो हातमा लिएर पुन: हेरें।
बुनेको चित्र कर्याङ्ग कुरुङ्ग गरेर कोरेकी थिइन्। त्यो कर्याङ्ग कुरुङ्गमा मैले उनको दिसा सफा गरिरहेको, अनि अलिपर उनको मम्मी ल्यापटपमा काम गरिरहेकी थिइन्। त्यस चित्रको पुच्छारमा टेडेमेडे अक्षरमा लेखिएको थियो– ‘मम्मी एण्ड बुनुज् ग्रेट हेल्पर, वि लभ यु ड्याड’ ।