मेरा पैराखी हात कता गएछन्
अर्काको घर बनाईसकी कहिले फर्किनेछन्।
यो देश मानव उत्पादक देश भएछ
अर्काको सेवा र देश निर्माणमा मरिमेटी रहेछ।
श्रमजिवी हात मात्र कहाँ, पढेलेखेको वुद्धि पनि विदेशीयो
हुने खाने घरकाले, सन्तति पढ्न र बस्न उतै नै पठाइदियो।
हुन त वीर गोर्खालीले इतिहास रचेका छन्
आफ्नो सम्पूर्ण उर्जा, अर्काको रक्षा र सेवामा दिएका छन्।
अब ति गोर्खाली वीर नेपाल फर्कन चाहँदैनन्
कोही भारतीय गोर्खा र कोही ब्रिटिश गोर्खा भएका छन्।
केही रहरमा, केही बाध्यतामा पलायन भए
विदेशीको सुखसुविधा र चकाचौधमा उतै नै रमाए।
जहाँ बसे पनि उनीहरु सुखी सम्पन्न रहुन्
हाम्रो संस्कृति र पहिचान जोगाई रहून्
कहिलेकाँही माटो सम्झी यता पनि आउन्।
अब हामी मात्र भावना र भाषाले बाँधीएका छौँ
भूगोल बेग्लै भए नि, रगतको नाता न छुटोस।
हाम्रो देशको वुद्धि र बल विदेशीए
खोक्रो जीउ लिई यता, आमा-बा आशैआशमा बसे।
हुन त अफ्रिकी बलिया हातहरुले युरोप अमेरिका बनाए
तर आफ्नै देश बनाउने मौका चाँहि गुमाए।
हाम्रा पनि बलिया हातहरु खाडी तिर गएछन्
गाउँघर शून्य पारी, विकासका कुरा नै हराएछन्।
आमाको हात छोडी विदेशीएका ती हातहरु
सक्छौ भने, फर्की आउ, समयमै सीप र जाँगर लिई।