(विवाह गरेको केही वर्षपछिका ती व्यवहारहरु श्रीमान श्रीमतीबीच।)
‘के हो यस्तो, तीन चोटि घण्टी बजाएपछि मात्रै ढोका खोल्नु पर्ने? घरमा बस्या छ, काम दाम छैन। मान्छे भने थाकेर आएको छ अफिसबाट, पाँच मिनेट ढोकामा उभिइरहनुपर्ने?’
(घर भित्र छिरेपछि।)
‘यो घर हो कि नर्क? यता हेर्यो कपडा, उता हेर्यो खेलौना। कुनै चिज राख्ने ठाम छैन जस्तो? कपडाहरु पट्टाएर आ–आफ्ना ठाममा राख्न पनि सकिदैँन?’
‘हैट यो ओछ्यानमा त बस्नै सकिँदैन। बेड कभरबाट पिसाबको गन्ध आइरहेको छ। बच्चाको थाङ्ना जहाँ पायो त्याहीँ सुकाएपछि गन्ध आउँदैन। कहिलेकाहीँ धुप पनि बाल्ने गर। तिम्रो त बाह्रै महिना नाक बन्द हुन्छ, तिमीलाई गन्ध दुर्गन्ध केही मतलब भए पो।’
‘अँ, तिमी सारा दिन के गर्छौ भन्या? एउटा बच्चा, खाली त्यसलाई खेलाएर हुन्छ? मेरो आमाले सात–सात बच्चा पाउनु भएको थियो, तैपनि त्यति गर्दा पनि घर सफा सुग्घर हुन्थ्यो।’
‘ह्या, फेरि त्यही केराको लस्सी। तिमीलाई थाहा छ, मेरो घाँटी दुखेको छ। गिदि छ तिम्रो। जाऊ एक कप चिया बनाएर ल्याऊ। अबदेखि यो चिसो लस्सी नल्याऊ। बिरामी भए भने धान्न सक्दिनँ मैले। घर खर्च, आदि इत्यादी, सबैतिर सोच्नु पर्दछ मैले। तिमीमा कुनै सोच त छ? आफूजस्तो स्लो ठानेको छ सबैतिर?’
‘पूरा दिन घरमा किन बसी राख्छौ? यसो बाहिर तिर घुमघाम गर्ने, अलिकति मिलाएर कपडा लगाउन आउँदैन? कपाल मिलाउन पनि समय छैन तिम्रो? कपाल छोटो बनाऊ। अनुहार पनि राम्रो देखिन्छ। छिमेकीका राम्रा महिलाहरुसँग उठबस गर।’
‘बाबालाई खाना दियौ? कति पटक भन्ने? उहाँलाई समयमै खाना देऊ भनेर। खाना दियौ की नाई? तिमी मुखबाट बोल्ने गर क्या, जबसम्म बोल्दिनौ, मलाई कसरी थाहा हुन्छ?’
‘अँ सुन, त्यो किताब कहाँ राख्यौ तिमीले? टेबलको यताउता सबैतिर खोजेँ। तिमीलाई कुनैपनि चिज ठामको ठाम राख्न आउँदैन? गल्ती भो मेरो की तिमीलाई पढ भनेँ। तिमी स्वास्नी मान्छेबाट दिक्क भइन्छ भन्या, खाली नुन तेलको जोहो गर्दै बस्दै गर।’
‘यो कुनै खाना हो? खाली भात उसिनेको छ, लौका र स्क्वास आलु मात्रै? आलुबिना कुनै तरकारी बन्दैन यो घरमा? लौकामा आलु, स्क्वासमा आलु, सागमा आलु दिक्क भएँ। केही काम नगरेपछि कमसेकम खाना त मिठो बनाउ न यार। जाउँ एक महिना आफ्नो आमासँग बसेर खाना बनाउन सिकेर आऊ।
तिम्रो आमा त खुबै मिठो खाना पकाउनु हुन्छ त। तिमीलाई कुनै खाना बनाउन सिकाएनन्? कहिलेकाहीँ चाइनिज खाना बनाऊ। कहिले कन्टीनेन्टल बनाऊ। खानाको अनेक अनेक तरिकाका बनाउँदा हुन्छ नी यार।’
(अब दुवैजना ओछ्यानमा पुगे।)
‘तिमी यता आउन, मेरो लागि तिमीसँग समय नै छैन है। सुन त, बाबालाई दबाई दिएर आऊ, जाऊ।’
‘आउ मेरो नजिक। सुन, मैले यति धेरै प्रस्ताव आउँदा तिमीलाई नै विवाहको लागि किन छानेँ? यस कारण की तिमी पढेलेखेकी छौं, संगित सिकेकी छौ, कथा कवितामा तिम्रो रुचि छ भनेर नि। तिमीले आफ्नो अनुहार हेरेकी छौँ, कस्तो हालत छ तिम्रो? किताब ल्याएर दिएँ पढ्ने होइन। एउटा पनि खोलेर पढेकी छैनौं? यस्तो श्रीमतीको श्रीमान फेरि अर्को केटीको चक्करमा पर्यो भने? आफूलाई सुधार्ने प्रयास गर। छि तिम्रो त कपडाबाट बेबी गन्ध र तेल मसालाको गन्ध आइरहेको छ। सुत्नुभन्दा पहिला नुहाउने गर। सफा सुग्घर हुने गर।’
‘म बोलिरहेको छु, तिमी सुतिसक्यौ? बल्ल त साढे दश मात्रै बजेको छ। यो कुनै सुत्ने टाइम हो? खाली घरको काममा यति धेरै थाक्छौँ भने बाहिर अन्य कामको लागि तिमी त लायक नै छैनौ नि।’
(त्यसपछि, विवाह गरेको एक दशकपछि।)
तिम्रो बानी कहिल्यै नसुध्रिने भो। अफिसबाट आउने बित्तिकै एकछिन सोफामा मसँगै बस्ने गर। आउने बित्तिकै चिया होइन, खाना पस्किदेऊ। भोकले आँखा नदेख्ने भैसकेँ। जताततै किताब छ। न यस्ट्रे छ न बाथरुममा टावेल छ। आउने बित्तिकै चिया होइन, चिसो कागती पानी पिलाउ न। अहो! यतिधेरै पत्रिका किन छ यहाँ? बजारमा निक्ले जति पत्रिका तिमीले नै हो किन्ने? समाचार त एउटै हुन्छ सबैमा।
‘खाना के छ? बोर भएँ सधैं एउटै खाना? खाली सुप। बोइल भेजिटेवल। कन्टिनेन्टल होकी चाइनिज, दिक्क भएँ यो नुडल्स खाएर। घरमा खाली होटल जस्तो खाना होइन। होइन भन्या दाल भात, रोटी तरकारी लौका आलु, स्क्वास, फर्सी, साग बनाए हुन्न भन्या? खाली विदेशी नक्कलको खाना बनाएर दिक्क बनायौ।
‘यो के हो? मेरो जुत्ता रिपेयर गर्न दिएनौ तिमीले? बिजुलीको बील पनि तिरेको छैन? घरमा राम्रोसँग बसे हुन्न? स्कुलमा पढाउँछौं। सक्किगोनी। फेरि यो समाजसेवा भन्दै दौड्न किन पर्या हो? किन जान्छौ त्यो समाजसेवाको अफिसमा? त्यहाँ सबै हिपोक्रेट महिला मात्रै छन्, के पाइन्छ? त्यहाँ गएर न पैसा न कुनै सामान? उल्टो आफ्नो खोल्तीबाट हाल्नु पर्दछ।’
‘यो तिम्रो छोराको रिजल्ट। नैतिकमा तेइस, इतिहासमा बीस, गणितमा दश। फेल नभएर के हुन्छ? आमाको फुर्सद छैन छोराको लागि। स्नातकोत्तरकी टप तिमी। आफ्नो छोरालाई पढाउन सक्दिनौ? तिमीलाई गणित आउँदैन भने ट्युसन राखिदेऊ। अब त तिमी पनि कमाउँछौ, सारा दिन समाजसेवा र टेलिभिजन देख्नुभन्दा त आफ्नो छोरालाई राम्रो शिक्षा दिनेतिर सोचे हुन्न? ’
‘यो कपाल यति छोटो किन बनाएको? मलाई सोधेकीसम्म छैनौ। तिमीलाई लाग्दो हो हैन, छोटो कपालमा सुन्दरी देखिन्छु भन्ने? अनुहारलाई सुट गरोस् नगरोस्, कपाल छोटो गर्न पर्ने?’
‘सुत्ने होइन? १२ बजीसक्यो? खुब पढन्ते बनेकी छौ आजकल? तिमीलाई सुत्नु छैन भने अर्को रुममा गएर पढे हुन्न? कृपया यस रुमको बत्ती निभाएर मलाई सुत्न देऊ। ओके।’
‘अब हातबाट किताब त हटाऊ। रियल भनीराछु। मलाई रिस नउठाऊ। नत्र मैले रुमको सबै किताब बाहिर फाल्न नपरोस्, हेरम्ला कसरी पढ्ने रैछ?’
‘ ए बाबा, म बोलिरहेछु तिमीले सुनिनौं? जतिसुकै किताब पढ, तिम्रो बुद्धिमा कुनै फेरबदल आउने होइन।
(अर्को अनुहार र संवाद श्रीमतीबाट बीस वर्षपछि।)
‘आउनु भयो होइन महाराज? खाली हात हल्लाउँदै आइस्यो? मैले केही चिज ल्याउन भनेको थिएँ, याद आएन? अब म बाहिर पनि काम गरुँ, घरको पनि गरु? चप्पल कहाँ लिएर गएको? बाहिरका धुलोहरु रुमभित्र फैलायौ फेरि? चप्पल ढोका बाहिर निकाले हुन्न? सारा घर फोहोरो मात्रै गर्ने? तिमी पुरुषको जातै उस्तो।’
‘यस्तो बिग्रेको चप्पल लगाउन खुब मज्जा आउँछ क्या? दश दिनदेखि हेरिरहेकी छु। दुई मिनेट बसेर सिलाएर ल्याए हुन्न? सारा दिन क्याफेमा बसेर फुँकफुक सिगरेट उडाउन समय छ महाशयलाई, टुटेफुटेको चप्पलमा शान छ होइन?’
‘यो छोरो झन् बाबुकै गोता गाको। मैलो भएको कपडा धुन दिन्न। महिनादिनसम्म एउटै जिन्सपाइन्ट लगाउँछ। दारी कपाल जिङरिंग राखेको छ। जस्तो बाबु, त्यस्तै छोरो। भातको थाल नखाइ उठेको? यो उमेरमा पनि नखरा। पकाउनु नि मलाई परेको छ, खुवाउन दियो नखरा मात्रै?
बाटोबाट तरकारी ल्याइदिन्नन्। थैलो हातमा लिए लाज लाग्छ यिनका बाबु-छोरालाई। खाना खान लाज सरम छैन। एक/दुई पटक आफै किनेर ल्याएपछि थाहा होला नि कति महंगो छ भन्ने। मेरै कमाइले कति दिन चल्ने घरमा?
‘यत्रो डट्पेनहरु घरमा राखेको, सबैमा मसी सकिएको छ। दराजको साडी कसलाई दिएको? पल्लो घरमा काम गर्नेले महाशयको टिसर्ट लगाइराछ। १ हप्ता तालिममा बाहिर गएको घरको सामान अरुलाई बाँड्नु पर्ने? यो एरियामा महाशय नै दाता? खुब समाजसेवा गर्नुपर्ने? ल अब किताब पढ्ने बाबु छोराले। सत्य त यिनीहरुलाई के पच्छ? जसलाई पर्छ नि उसैको मुखबाट निक्लन्छ नि।
(श्रीमानले जोडले ढोका लगाएपछि)
'ढोका जोडले लगाएपनि मेरो आवाज बन्द हुँदैन, बुझ्यौ तिमीहरु बाबु छोराले। छोरालाई पढाएको भए अहिले कमसेकम जागिर त गर्दथ्यो। महाशयको जस्तो चुप बस्न त पर्दैनथ्यो छोराले। मैले पो महाशयलाई झेलेँ। यसको स्वास्नीले मैले झैं के सहेन्छे? छोडेर जान्छे तिम्रो छोरालाई हेर्दै जाऊ।’
‘कहिलेकाहीँ म दिक्क हुन्छु। घरमा हामी तीनजना तार कुना चार छ। सब एउटा एउटा कुना समातेर कसैले मोबाइल, कसैले ल्यापटप समाएर बस्याछन्। बाबु-छोराको त स्वभावै रत्तिभर फरक छैन। दिमाग खराब। तिमीहरु बाबु छोराले सँगै बसेर आपसमा सरसल्लाह गरेका छौं कहिल्यै? यसो केही राम्रो कुरा गर्यो, बाबुले उडाउँछ अनि छोराले। बहस गर्दछन्। बीस वर्ष भो यिनलाई झेलेको, दिक्क भएँ। अलिअलि कमाउँछौं कहाँ जान्छ? सधैँ खोल्तीमा पैसा हुन्न महाशयको?’
‘एक हप्तादेखि ट्युबलाइट बिग्रीराछ। कसैलाई केही मतलब छैन। यो बिजुलीको बील पनि तिरेको छैन क्या हो? खाली किचकिच गरी यो आइमाइले भन्दा हौ, होइन? मैले बीस/बाइस वर्ष महाशयलाई झेलेँ। कुनैपनि महिलाले यसरी झेल्दैनथ्यो। अब म स्कुलबाट हाफटाइममा आएर बील तिर्न जान परो होइन? वाक्क दिक्क भएँ यी बाबु छोरा देखेर।’
‘अब झोला बोकेर महाशय कता नि? खाना थालमा छाडेर उठेको? यो कसले खान्छ? तिम्रो जुठो कसले खान्छ? महाशयलाई खानाको के कदर छ र? आफै कमाउने, आफै पकाउन परे भापो थाहा हुन्छ? झोला बोकेर कथा, कविता लेखेर ठूला-ठूला गफ जोतेर चुल्हो बल्ने होइन क्यारे। यसको लागि बिहान बेलुका काम गर्नुपर्दछ। महाशयलाई कुनै कुराको असर पर्ने भए पो? थाहा छैन मन कस्तो हो कुन्नी?’
‘अब जाने नै हो भने यो प्रेमपत्र पनि लिएर गए भो? तिम्रो कविता राम्रो, कथा राम्रो भन्दै कुन-कुनले पठाएका पत्रहरु होलान् नि, ती सबै लिएर गए भैगो। मलाई सबै थाहा छ। आउन तयारी छन् महाशयका प्रेमिकाहरु मबाट रुकावट छैन। आएर सम्हाले हुन्छ तिमरु दुबै बाबु-छोरालाई। मलाई हाइसन्चो।
बाइस साल त बित्यो, अब कति बित्ने हो र? केक्काने कोठामा बसेर के-के गरे भनेको त कथा कविता कोर्दै बस्दै? खानेवाला छैन महाशयको जुठो। आफ्नो कमाइको पीडा मलाई नभएर महाशयलाई होला? थालभरिको खाना छाडेर झोला उठाएर हिड्न पर्ने? जान्छौ कहाँ? ढिलो वा चाँडो खाली हात हल्लाउँदै घरै त आउने होला?’
(अब जीवनका अन्तिम क्षणहरु तीन दशकपछि।)
‘छोरा अनलाइनमा आयो की, हेर त बुढा। म एक्लै जान्न है अमेरिका? तिमीसँग विवाह गरेको पनि तीस वर्ष भैसकेछ। म कति पागल्नी छु है। याद गर्दापनि आनन्द आउँछ। तिमीलाई कति गाली गर्थेँ है मैले। त्यो छोरालाई त्यति गाली नगरेको भए अहिले अमेरिकामा दुःख गर्थ्यो? मेरो हर वचन सहेर गरेको छ त्यसले। आमा होनी म त्यसको।’
(बुढोसँग लड्बडिदै।)
‘म हजुरको हेण्डराइटिङमा होनी खासमा फिदा भएको। युनिभर्सिटीको वार्षिकोत्सवको स्मारिकामा पहिलो पटक तपाईको कविता पढेपछि तपाईको नजिक जाँदा देखेको हेण्डराइटिङ। त्यसपछि हजुरले कविता वाचन गर्दा म त तपाईकै शब्दमा विलीन भएर तपाईलाई कतिबेला माया गरेछु पत्तै पाइनँ। तिम्रो पहिलो प्रेमपत्र मैले पच्चिस पटक पढेको याद छ। तिम्रो सुन्दर अक्षरहरुलाई घण्टौँसम्म हेरिरहन्थेँ, त्यहाँ तिम्रो अनुहार पाउँथेँ।
तिम्रो दारी मुसारेर छातीमा सुत्नमा जस्तो मज्जा मलाई अरु चिजमा कहिल्यै आएन। पछाडि झोला भिरेर हिड्दा मलाई हजुर संसारमा सबैभन्दा महान् र सुन्दर मान्छे लाग्दथ्यो र लाग्छ अझैँ। म कति पागल्नी थिएँ है हजुरप्रति! सोच्थेँ, केबल तपाईलाई पाउन पाएँ मलाई अरु केही चाहिदैनथ्यो। विवाहपश्चात घरका आवश्यकताहरु, छोरा हुर्काउन, पढाउन आदि इत्यादी गर्दागर्दै मेरो कपाल सेतै भए। तर हजुरलाई उही युनिभर्सिटीकै उस्तै कवि लाग्दछ।
यदि त्यो उमेर फर्काउन पाए, पूर्ण सन्तुष्टि माया दिन नसकेका पलहरुलाई फर्काउन चाहन्थेँ, कतिपय प्रेमका तड्पाइहरु पूरा गर्न चाहन्थेँ र पहिलो पटकको जस्तो संकोच मेट्न चाहन्थेँ।’
(भन्दाभन्दै श्रीमती सुति।)
श्रीमानले अर्को कविता कोर्दै गए।
‘सन्तुष्टि भइनौ र?