त्यो बेला समाज अचेत जस्तै थियो। शिक्षा थिएन, सचेतना थिएन, अन्धविश्वास व्याप्त थियो। त्यसैको फाइदा उठाएर शासकहरुले पनि तानाशाहीरुपमा शासन चलाएका थिए। धनी र शासकहरुको होमा हो मिलाउनेहरुको लागि शान्ति थियो, सुख थियो, इज्जत थियो।
अलिकति चेतना भएकाहरु, गरिब र अल्पसंख्यकहरुको लागि भने हरेक पाइलामा विभेद थियो, अत्याचार थियो, मुर्दा घरको जस्तो शान्ति थियो अनि आँधी अगाडिको सन्नाटा जस्तो कालो बादल मडारिन लागेको थियो।
ऊ पनि एउटा चेतनशील मानिस थियो, आफै सोच्न सक्थ्यो, न्याय अन्याय देख्न सक्थ्यो। त्यसैले उसलाई त्यो समाजमा, त्यो व्यवस्थामा श्वास फेर्न गाह्रो हुन्थ्यो, उकुस मुकुश हुन्थ्यो।
अधिकांश परिवारको गरिबी देख्दा उसलाई भित्र भित्रै जलन हुन्थ्यो। आफ्नो दलित साथीलाई मन्दिरमा प्रवेश निषेध हुँदा पुजारीको झाँको झारौँ जस्तो लाग्थ्यो। आफू स्कुल जाँदा आफ्नी बहिनी स्कुल नगएर डोको बोकेर जङ्गल गएर घाँस दाउरा गरेको देख्दा मन कुँडिन्थ्यो।
दिनभरि कम्मर दुखाएर खेतमा फरुवा मार्दा पनि आफ्नो परिवारलाई भरपेट खुवाउन नसक्ने थारुलाई देख्दा टिठ लाग्थ्यो। खानको लागि जीउ बेच्नु पर्ने गरिबहरुको आँसुको भेलको भावनामा ऊ बग्न बाध्य हुन्थ्यो। संसार विकासको गतिमा लम्कदै थियो तर उसको समाज र उसको देश भने मध्य युगिन जीवन शैलीलाई अंगिकार गर्दै त्यसैमा जनतालाई भुलाएर मिथ्या तथ्याङ्क र तथ्य बनाएर एकल शासन प्रणालीको औचित्य प्रमाणित गर्न व्यस्त थियो।
उसलाई थाहा थियो, देश रोगी थियो, देश बिरामी थियो। तर त्यही बिरामी देशमा पनि शासकहरुले मातृभूमिका सुकिसकेको स्तनहरु चुस्न तल्लीन थिए। देश पीडाले रोएको थियो, तर शासकहरु भने त्यो पीडाको चित्कार नसुनी देश दोहन गर्नमा व्यस्त थिए।
उसले आफ्नो देशको त्यो बिरामी निको पार्न चाहन्थ्यो, देशको रोग निदान गर्न चाहन्थ्यो, शोसक शासकहरुबाट देशलाई उनमुक्ति दिन चाहन्थ्यो। उसले परिवर्तन देख्न चाहन्थ्यो, समानता देख्न चाहन्थ्यो, वास्तविक शान्तिमा बाँच्न चाहन्थ्यो। देशको चिन्ताले उसलाई निकै पीडा हुन्थ्यो तर केही गर्न सक्दैनथ्यो।
त्यही चिन्ता बढ्दै जाँदा एकदिन अचानक उसलाई छाती दुखे जस्तो भयो, श्वास फेर्न गाह्रो भयो, मातृभूमिको त्यो दुर्दशा देख्न नसकी ऊ मुर्छा पर्यो अनि कोमामा गयो। उसलाई बचाउन धेरै प्रयत्न भयो तर अहँ उपाय लागेन। जीवन मरणको दोसाँधमा उसले आफ्नो प्राणको त्यान्द्रो झुन्ड्याइ रह्यो। न त चेतनशील जीवनमा फर्कन सक्यो न त देह त्याग नै गर्न सक्यो।
तर एकदिन कसैले नसोचेको, पहिले कहिले नभएको चमत्कार भयो। कसैको तिलस्मी हात आएर छोएर मुर्दा फेरि जीवन्त भए जस्तै ऊ पनि अचानक वर्षौको कोमाबाट पुनः जीवन्त भयो। जीवन्त मात्र हैन ऊ निकै फुर्तिलो पनि भयो। वर्षौंसम्म लडिरेहको ओछ्यानबाट कुनै कठिनाई बिना ऊ जुरुक्क उठ्यो।
उसले आफूलाई हेर्यो, अचम्म लाग्यो, आफू नै हुँ की हैन भन्ने शंका भयो। आफ्नो पहिलेको अनुहार सम्झ्यो, तर कोमाबाट ब्युझेको ऊ त पहिलेको जस्तो थिएन। उसका दाह्री पलाएछन्, जुंगा बढेछन्, अग्लो भएछ, मोटो भएछ। १२-१३ वर्षको ठिटोबाट ऊ बुढ्यौली लाग्न लागेको अधवैँशे जस्तो भएछ।
उसलाई थाहा भयो, कोमामा गए पनि उसको शारीरिक विकास रोकिएको रहेनछ। अंग्रेजी कथाको रिप भ्यान विन्कल जस्तै भएँ भनेर खुसी हुँदै ऊ देश कस्तो भएछ भनेर हेर्न बाहिर निस्क्यो।
ऊ जन्मे हुर्केको गाउँ त शून्य भएछ, त्यत्रो ठूलो गाउँमा एक दुई घर मात्र बाँकी रहेछ। युवाहरुको खडेरी लागेछ, गाउँ त बालक, वृद्ध र महिलाहरुको मात्र बासस्थानमा परिणत भएछ। गाउँको साहुको घर बमले ध्वस्त भएर खण्डहर भएको रहेछ, उनको जग्गा जमिन उजाड भएछ।
ऊ आफ्नो बाल्यकालको साथीलाई खोज्न गयो। उसको साथी त विदेश गएछ, धन पनि कमाएछ, अनि त्यही धनले उसको मकै रोप्ने बारीमा पक्की घर बनाएछ। तर विचरा स्वास्नीलाई पोइल पठाएछ।
साथी नभेटेपछि ऊ धान खेततिर लाग्यो। धान खेतहरुमा त घडेरीका प्लटिङ भएको रहेछ, खेत खेतमा सडक पुगेछ, धानका बाला झुल्ने गहराहरुमा अजम्बरीको झाङ बढेछ। त्यहाँबाट ऊ आफू डण्डिबियो खेल्ने चौरमा गयो, चौरको त नाम निशान मेटिएछ, चौरमा मान्छेको बस्ती बसेछ।
हर्केको छोरा ठूलो मान्छे भएछ, सिंगान पुछेर नाङ्गै खुट्टा हिंड्ने ऊ मन्त्री भएर गाडी चढ्ने भएछ। धनबीरकी छोरी पनि पढेर शिक्षित भइछ। मन्दिरमा जाँदा सबैको लागि प्रवेश खुलेको रहेछ, समाज परिवर्तन भएछ। उसलाई लाग्यो सबैतिर कति ठूलो विकास भएछ। संसार सानो भएछ।
खेत बाँझा भए पनि, जनतासँग पैसा भएछ, खेतहरु घडेरीमा परिणत भएपनि जनतासँग छिमेकी देशबाट चामल किन्न सक्ने शक्ति भएछ। त्यो सबै देखेर उसलाई खुसी लाग्यो, ऊ कोमामा गए पनि देशमा निकै विकास र प्रगति भएछ।
त्यहाँबाट ऊ सहर गयो, तर सहर त गुजुमुज्ज भएछ। हरियाली गएछ, जताततै घरैघर मात्र ठडिएछ। देशभर रहेका अधिकांश कारखानाहरु बेचिएछ, देश पराधिनतामा धकेलिएछ। नुनदेखि सुनसम्म मात्र हैन, दाल र गुन्द्रुक पनि आयात हुन थालेछ।
पुराना राजा महाराजाको हत्या भएछ, तर देशमा नयाँ राजा महाराजाको सत्ता आएछ। देशमा बाइसे चौबिसे राजाहरुभन्दा पनि धेरै राजा भएछन्। पहिले लुकेर एक दुई जनाले चोर्थे, अब त दिन दहाडै हाकाहाकी सबैले डाँका मार्न थालेछन्। बिरामी र रोगी मातृभूमिको स्तनको दुध सकिदाँ पनि दुध नआएर मातृभूमिको रगत पनि चुस्न थालिएछ। रगत मात्र हैन, देशकै मासु लुट्न मान्छेहरुको लुछाचुँडी हुन थालेछ।
न्यायालयमा न्याय बेच्ने र न्याय किन्नेहरुको सौदाबाजी हुने भएछ। न्यायपालिका त न्यायको व्यापार गर्ने थलो भएछ। विकासको नाममा झारा टार्ने काम मात्र भएछ, कालोपत्र गरेको बाटो दुई दिनमै उप्किएर गएछ। अख्तियार नै भ्रष्ट्राचार मौलाउने केन्द्र बनेछ, जनताबाट तिरस्कृतहरुलाई पुरस्कार मिलेछ।
बालिका हुन् की वृद्धा हुन्, बलात्कारीले सबैलाई निशाना बनाएछ। दलित प्रेमीको हत्या भएछ। बलात्कारीहरु र हत्याराहरु हात हल्लाएर बाहिर निस्कने भएछन्, बलात्कृतहरुले न्याय नपाएर आत्महत्या गरेछन्। स्कुल त राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेछ।
भ्रष्ट्राचार र कुशासनको जालोले ऐजेरुको लहराले रुखलाई जकडेको जस्तै जकडेको रहेछ। दण्डहिनताले सीमा नाघेछ। सहिष्णुता र मानवता बागमतीमा बगरे गएछ। जनताहरु अत्याचारले मर्दै रहेछन् तर नयाँ राजाहरु देशको हरियो घाँसमा चर्दै रहेछन्।
कुर्सीको लागि तानातान भएछ, व्यवास्थापिका संसदमै कुर्सीले हानाहान भएछ। देशको टाउकोमा कुर्सीले प्रहार भएछ, टाउको फुटेर देश रक्ताम्य भएछ। छिमेकीबाट उसको देशको अस्मितामा नै गिद्धे नजार लागेछ, तर त्यसो हुँदा पनि आफ्ना सन्तानहरु मुक दर्शक भएर बसेको देख्दा त्यो दृष्य सहन गर्न नसकी देशको आँसु बहेछ। विचरो देश कति सहन गर्न सकोस्, रात दिन रुँदै बसेछ।
उसलाई थाहा भयो, ऊ त देशमा विकास र प्रगति भयो भनेर भ्रममा पो रहेछ। उसले देशको नाडी छाम्यो, नाडी निकै धीमा थियो। आँखा हेर्यो, दुवै आँखा बन्द थिए। मुटु र श्वास निकै मन्द चलिरहेको थियो। मात्र प्राण बाँकी थियो।
उसले देशलाई ब्युँझाउन खोज्यो, तर देशले उत्तर दिएन। उसलाई थाहा भयो, पीडा, अत्याचार, देश दोहन, कुशासन, भ्रष्ट्राचार सहन गर्न नसकी देश मुर्छा भएछ। ऊ त कोमाबाट ब्युँझियो तर अपसोच, उसको देश पो कोमामा गएछ।