भान्सामा अन्नको बाकस रित्तिएपछि
भोकै सुत्ने निर्विकल्प निर्णयमा पुग्यो ऊ
आधारातमा चलेपछि आमासयभित्र
भोकको आन्दोलन
उस्ले दियो चुनौती-
'ए भोक, लौ तँ भोकहड्ताल गरिदे!'
माग पूरा गराउन
झन् बढ्यो भोकको दबाब
हुल्याहाको हुलदंगा छ पेटमा
कसरी चैनले निदाउँछन् आँखाहरु?
आमाको पुरानो बाकस
बाकसमा बाले किनिदिएको तिलहरी,
जुन अहिले आमाले लाउन मिल्दैन!
सोच्यो-
'रित्याइदिन्छु आमाको पुरानो बाकस पनि'
यति नगरे रोक्दैन पेटले आन्दोलन
फकायो आमालाई-
'फर्कँदा ल्याइदिउँला नि आमा
नयाँ विदेशी बाकस,
ब्रिफकेश क्या!'
शोकले बौलाउनुभन्दा
भोकले मर्नु निको- लागेकै हो आमालाई
तर ठूलो भइसकेको ऊ
आमालाई सम्झाउनेसम्मको ठूलो भइसकेछ!
ऊ उड्यो
ऊसँगै उडे आमाका हर बिहान,
हर दिन, हर साँझ, हर रात र पलपलहरु
ऊ गयो
ऊसँगै गए मातातीर्थे औँसीहरू
आउँदा
उस्ले बाकस ल्याएन
बाकसले उसलाई ल्यायो
आमाले बाकस हेरिन्
र, आकाश हेरिन्।
त्यो अन्धकार आकाश
जहाँ एउटा तारा एक्लै टिल्पिलाइरहेथ्यो!