इतिहास भन्छ
वाद लेखेको किताब च्यापेर
यिनीहरु, खडेरीले हाहाकार मच्चिएको बेलामा
हजुरबाको पालामा आएका थिए
र, दन्किरहेको आगोलाई देखाउदै भनेका थिए
यही हो चिसो पानी।
यिनीहरुले, तातो आगोलाई चिसो पानी बनाउन
वाद लेखेको किताब पढेर सुनाए
किताबमा लेखिएको कुरा
हो जस्तै लाग्यो
हजुरबाले पत्याए।
त्यसपछि
वर्षौंसम्म हजुरबाहरुले आगोलाई
पानी भनिरहे
पानी प्यास लाग्दा आगो नै पिए
पानीले गर्ने सबै काम आगोले नै गरे।
तर, आगोले पानीको प्यास मेटेन
पानीले गर्ने काम आगोले गर्दै गरेन
बरु झन् झन्
पानी प्यासले मुख सुक्न थाल्यो
पेट पोल्न थाल्यो
डँढेलो सल्किन थाल्यो
मान्छेहरु जलेर भस्म हुन थाले।
अचानक ठूलो झरी पर्यो
आगो निभ्यो
जताततै जलमग्न भयो
पृथ्वी नै चिसो भयो
हिउँ पर्न थाल्यो
वर्षौंसम्म मानिसहरु चिसोले कठ्याँग्रिरहे।
वाद लेखेको किताब च्यापेर
यिनीहरु, चिसोले कठ्याँग्रिरहेको बेलामा
बाको पालामा पनि आएका थिए
र, हिउँका सेता डल्लाहरु देखाउदै भनेका थिए
यही हो आगोको रातो कोइला।
यिनीहरुले हिउँका चिसा डल्लालाई
आगोको तातो कोइला बनाउन
वाद लेखेको किताब पढेर सुनाए
किताबमा लेखिएको कुरा
हो जस्तै लाग्यो
बाहरुले पत्याए।
वर्षौंसम्म बाहरुले
हिउँका चिसा डल्लाहरुलाई
आगोका कोइला भनिरहे
चिसोबाट बच्न
हिउँका चिसा डल्लाहरुमा हात सेकाइरहे
आगोका कोइलाले गर्ने सबै काम
हिउँका डल्लाले गरिरहे
तर
हिउँका चिसा डल्लाले
आगोको तातो कोइलाको काम गर्दै गरेन
बरु झन्झन्
चिसो बढ्न थाल्यो
मान्छेहरु कठ्याँग्रिएर मर्न थाले।
मान्छेहरु कठ्याँग्रिएर मरिरहेका बेलामा
यिनीहरु, आज पनि आएका छन्
मलाई भनिरहेका छन्
हजुरबा र बाहरुलाई यतिन्जेल भ्रममा राखियो
आगो, आगो नै हो
पानी, पानी नै हो
अब तपाई नझुक्किनुस्
यिनीहरुले, आगोलाई आगो
पानीलाई पानी बनाउन
वाद लेखेको किताब पढेर सुनाइरहेका छन्
किताबमा लेखेको कुरा
मलाई हो जस्तै लागिरहेको छ
म पत्याउन थालीरहेको छु।
तर, मेरो कान्छो भाइले भनिरहेको छ
दाइ, अब कुनै कुरा पनि नपत्याऔँ
तर्कवादले हामीलाई दास बनाउछ
शासकले जस्तै मूर्ख बनाउछ।