चराको चिरबिरे आवाजले म आज बिहानै उठ्छु, झसंग भएर। मैले कुनै भयावह सपना पो देखेछु क्यार! उठ्दा हात पनि फिजिएछ। हात ठोकिएर होला, छेउमै भएको अम्खोरा घोप्टिएछ।
त्यसैले मनमा शंकाका बादलहरुले बाक्लो घेरा बनाएको छ। मेरै आफ्नै आँखा अगाडि, त्यो बादलका घेराले मेरो मन भयभित भएको छ। त्यही बादल झन्-झन् बाक्लिदै छ। लाग्छ, त्यो बादल अब आँसु बनेर पानी परे झैँ बर्सिनै लागेको छ।
म स्थिर हुन्छु, स्थुल पनि हुन्छु। लाग्छ, म अर्धचेत बनिसकेको छु। राम्रो त के, अब केही नराम्रो सोच्न सक्ने मेरो धैर्यले क्षितिज समेत पार गरिसकेको छ। अब बिहानी हुनै लागेको छ।
क्षितिजपारिबाट सूर्य उदाउन कोशिश गर्दैछ। ठूलो नाङ्लो झैँ चम्किलो बनेर अगाडि अगाडि सर्दैछ। लाग्छ हजारौँ आशा त्यही सूर्यको किरण बनी मेरो मनमा बास गर्न आँखाको नानीको सहारा खोज्दैछ। त्यसैले मेरा सहयोगी नयनहरु तिनै सूर्यका किरणतिर तेर्सिन्छन्।
सूर्यको किरणको आशापूर्ण तरंगले होला, म आफूलाई केही हदसम्म सम्हाल्छु। सपनामा मैले के देखेँ, सबै बिर्सिएछु तर देशमा हिजो के भयो सबै सम्झिएछु। दुईतिहाई बहुमतको सरकारले आफ्नो असक्षमता सहर्ष नस्वीकारेर देशको ढुकुटी रित्याएर भएपनि नियमित चुनावको समय अगाडि नै गर्ने गरी संसद विधटन गरेको पनि सम्झिए छु।
विदेशबाट आएको रेमिट्यान्सको अनि जनताको करले संगालेको ढिकुटी रित्याउने खालका करोडौँ खर्च विवरणका सरकारी कार्यक्रमहरु पनि सम्झिएको छु। भारतले सित्तैमा दिएको खोप लागउन करोडौँ खर्च हुने सरकारी प्रस्तावहरु पनि सम्झिएको छु।
हिजो भर्खरै मैले मेरो कोठाको झ्यालबाट हेर्दा देखेको देशका बेरोजगार जनताका हुल सडकमा आफ्नै लागि कुबाटो रोज्दै गरेको पनि सम्झिएछु। दुर्गन्धित राजनीतिको दुर्गन्धले भरिएको त्यो भीड आफैमा देशकै राजनैतिक असफलताको प्रतीक थियो भने आफूले केही गर्न सक्दिनँ कि भन्नेहरुको काफिला मात्र थिएँ भन्ने पनि सम्झिएको छु।
आफ्नो अत्मसम्मान समेत धरौटीमा राखेर देशलाई बर्बाद पार्न तल्लीन राजनैतिक पार्टीहरुका लागि एक दिने भत्तामा काम गर्ने अबोध कार्यकर्ता थिए ती, देशका नागरिक त कतै देखिएनन्। सायद उनीहरु नागरिक भइदिएको भए देश विकासका बारेमा सोच्थे होला, पार्टीको कार्यकर्ता त अवश्य बन्ने थिएनन्।
सायद तिनै राजनैतिक अस्थिरताले हाम्रो देशमा निम्त्याएको बेरोजगारीको असर थियो, यस्ता जमघट भेला भइराख्छन्। आज यो पार्टी, भोलि त्यो पार्टी, अनि पर्सि देश नङ्ग्याउनेहरुको अर्को कुनै पार्टी।
बोलीमै सबै रनभुल्ल हुनेहरुले बोलीको वास्तविकता कहिल्यै तौलिन सकेनन्। बरु लाग्छ, सायद उनीहरु एक दिने भत्ता र एक थाल मासु भातमै रनभुल्ल हुने गर्दछन्। आफ्नो बौद्धिक अनि शारीरिक क्षमताको मूल्यांकन गर्ने कहिल्यै मेसो नै पाएनन्। तर समय बलवान छ, कसैका लागि पर्खिदैन। आफूले सोचेको जस्तो पनि हुँदैन, हुन्छ त केवल समयले जे चाहन्छ।
अब सूर्यको किरणले पनि दिशा बदल्दै छ, क्षितिजपारिबाट आएको सूर्य केही नजिक आए झैँ लाग्छ। तर बाटो बद्लिएछ, अब मेरो मनमा बस्ने गरी मेरो आँखाको सहारा खोजेको छैन। बरु केही कडा स्वभावमा बदलिए झैँ लाग्छ।
मेरो सामिप्यता हैन, अब ती सूर्यका किरणलाई मसँगको बिछोड नै प्यारो भएको भान हुन्छ। म आफ्नो विस्तरामा कोल्टो फेर्छु, उकुसमुकुस हुन्छ। फेरि कोल्टो फेरेर भए पनि आफूलाई एक पटक फेरि सम्हाल्छु।
झसंग सम्झन्छु, मेरी साथी आज जापानबाट फर्कदै छिन्। हिजो मात्र उनैले फोन गरेर सन्देश छोडकी थिइन्। म उनलाई स्वागत गर्न एकाबिहानै एयरपोर्ट पुग्ने जमर्को गर्छु। अरु दिन झैँ आज मेरा कदमहरु त्यति खुकुला छैनन्।
लाग्छ, मेरो मन र मेरा पदहरु केही भारी भएका छन्। आकाश पनि केही मलिन लाग्छ। त्यो चम्किलो निलो आकाश छैन। केही सकस महशुस हुन्छ। हावा पनि नबगे झैँ लाग्छ, कुनै रोग नभए पनि कता कता श्वास फेर्न गाह्रो भए झैँ लाग्छ।
त्यही शिथिल कदमकै सहारामा म एयरपोर्ट पुग्छु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। भीड भएकोले एका कुनमा म आफ्नी साथी शलिनाको प्रतिक्षामा छु। उनकै आउने बाटो कुर्दै बसेको छु।
कुर्दा कुर्दै म टोलाउँछु, एकहोरो भएर, कहिले उनलाई सम्झन्छु त कहिले उनको आगमन पश्चातको काल्पनिक क्षण। कुन्नी के सोच्दै थिए, तर फनक्क फर्किएर हेर्दा धेरै मानिसहरु विदेशबाट थकित भएर आएको पनि देखेँ तर त्यो असन्तुष्ट मानिसहरुको भीड देखेरै लाग्यो, आज हाम्रो देश नेपालमा बेरोजगारीको धेरै रहेछ।
रोजगारीका लागि विदेशबाट फर्किएका उनीहरु नेपालमा रोजगारीको अभावले बनाएको बाध्यताले नै होला विदेशी रोजगारीमा गएको। बेरोजगारीको प्रभाव सबैतिर छ, देशभरि। बेरोजगारीको तथ्यांक नेपालमा हैन, विदेशमा केलाउनु पर्छ, छिमेकी मुलुक भारत, अनि खाडी मुलुकहरु कतार, मलेसिया अनि केही विकसित मुलुकहरु अमेरिका, अस्ट्रेलिया, क्यानडा आदिमा रहेका नेपालीको संख्या गनेर।
मेरी साथी आउने समय नजिकिँदै छ। म पुलकित हुन पनि खोज्दै छु। शलिना आउने समय भएर होला चञ्चल स्वभावको म केही शालिन पनि बन्दै छु। तर समय बलवान छ।
मेरो पुलकित बन्न खोजेको मन एकाएक स्तब्ध हुन्छ जब सेतो कपडामा बेरिएको लासहरु छेउकै अर्कैबाटो भएर एयरपोर्टको भित्री गेट बाहिर निकालिन्छ अनि गाडीमा राखिन्छ। म स्तब्ध भएको छु, मेरा शरीर गले झैँ लाग्छ, खुट्टा पनि स्थिर हुन्छ तर पनि म केही साहस जुटाउँछु।
म बसेको छेउको सिसाको नजिक जान्छु। तर, जब विदेशबाट आएका १७ लासका लस्कर देख्छु अनि विक्षिप्त हुन्छु। एकोहोरो भएर यही मात्र सोच्छु, आफ्नो परिवारको खुसी, अनि दैनिक जीवनयापन गर्न विदेशी माटोमा संघर्ष गर्नु पर्ने, अनि त्यही भूमिमा आफ्नो प्राण त्याग्नु पर्ने, प्राण त्याग गर्दा पनि आफन्तको अँगालोमा बाधिन नपाउने, परिवारले पनि आफन्तको मृत्युबरणको समयमा दुई थोपा आँसु पोखेर मनको व्यथा कम गर्न नपाउने।
केवल पीडा मात्र सहन गर्नु पर्ने, कहिले पैसाको अभावमा, कहिले ऋणको ब्याजमा, कहिले एक्लोपनको चिन्तामा, कहिले छोराछोरीको शिक्षाको आशामा कहिलो आमा-बुबाको बुढेसकालको वेदनामा, अनि के-केमा के-केमा।
दुर्गन्धित राजनीतिका नैतिकहीन शासकहरुको कमजोर दूरदर्शिता, लोभ-लालच, स्वार्थीपन, हठीपन अनि वैमनश्यताका कारण देशले कहिल्यै सुखद् कोल्टो फेर्न सकेन। समयअनुसार तुलनात्मकरुपमा केवल पछाडि पछाडि मात्र धकेलिएको छ।
देशमा विकास हैन, सामान्य उपचार गर्ने समेत आधार छैन। सबैले शिक्षा पाएका छैनन्, रोजगारीका लागि विदेशिनु बाध्यता बनिसकेको छ तर पनि विदेशबाट आएको रेमिट्यान्स अनि जनताको करले संचित रकमको सक्दो दुरुपयोगमा होमिएका सरकार ती लासका बारेमा सोच्ने समय पनि निकाल्न सक्दैनन्।
बरु उनीहरु राति राति दुई प्याक लिएर रोष्टुराँ अनि नाचघर तिरै लम्कन्छन्, नभए आफ्नै बासस्थानमा रात्रि भोज आयोजना गर्छन, अनि योजना बनाउँछन्। ती लासहरुको शिंहासन कसरी बनाउने अनि त्यही गद्दीमा कसरी राज गर्ने।
म निकै शिथिल भइसकेको छु। शलिनाको प्रतिक्षा पनि धेरै लामो भएको महशुस हुन लागेको छ। म त्यहीं टोलाउछु अनि त्यो लास बोक्ने गाडी नजिक पुग्ने कोशिश गर्छु। त्यहाँको माहोल कारुणिक बनेको छ आफन्तको आँखामा आँसु मात्र छ, म झन्-झन् कमजोर भएको महशुस गर्छु।
त्यहाँको माहौल त अस्ति ललितपुरको एका गाउँमा म गएको क्राइम-सीन अगाडिको दृष्यभन्दा पनि बढी कारुणिक थियो। मृत्यु त आफ्नो गाउँ–ठाउँमा पनि हुन्छ तर आफन्तको अँगालोमा हुन्छ, सामिप्यतामा हुन्छ, बेदना साट्न पनि पाइन्छ।
तर त्यहाँ केही थिएन, एउटा पञ्चतत्वको सपाट शरीर त्यो पनि बाकसहरुमा। माथि सेतो कपडा अनि फूलमालाले बेरिएको तस्बिर। संयोग नै मान्नु पर्छ, तीमध्येको एउटा लास बोक्न ल्याइएको गाडीमा पछाडि एउटा सन्देश लेखेको रहेछ 'हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ।'
सायद यही सन्देश लेखेको गाडी अनि त्यसमा राखेको मृत शरीरबाट आफ्नो देशको सम्भावना बुझ्न सायद नै कसैलाई अप्ठ्यारो भयो होला। त्यही सन्देशले मेरो मन केही फराकिलो हुन खोज्छ तर सक्दैन, त्यही मृत नेपाली दाजु–दिदीको अगाडि कसरी होस् त फराकिलो मन!
शलिना आउने समय घर्किंदै गएकोले म भित्र नै पस्छु अनि अघिकै कुर्सीमा बस्छु। शलिना आउँछिन्, अँगालोमा बाध्न खोज्छिन् तर आज किन किन त्यो अँगालो पनि खुकुलो लागेको छ।
मेरो मन अझै शिथिल नै छ, विगतमा उनीसँग बाधेको अँगालोको उत्साह छैन, छ त केबल त्यही कारुणिक दृष्यको भयावह तस्बिर मात्र। उनी पनि छोटो समयमा नै विदेशबाट नेपाल फर्किएकी छिन्। उनी पनि त्यहाँ निकै असन्तुष्ट भएर फर्किएकी हुन, पीडाबोध भएर फर्किएकी हुन्।
हामी बाहिरिन्छौँ, त्यो गाडी त्यहीँ छ, गाडीमा लेखेको सन्देश पनि त्यहीँ छ। शलिनाले पनि देख्छिन् अनि पढ्छिन्, उनी पनि स्तब्ध हुन्छिन्। ज अनि म तिर फर्केर पीडा बोध गर्छिन् र एकोहोरो म तिरै हेर्छिन्। हतार गर्दै घर जाउँ भन्छिन्।
घर आउँदै गर्दा बाटोमा किसानले खेत खन्दै गरेको देखेर त्यही खेतमा पुग्छिन् अनि माटो हत्केलामा लिएर भन्छिन्, 'हो रैच, सुन फल्ने माटो त यही पो रहेछ, मेहनत गरे यहीं सुन, अनि यहीं हिरामोती सबै फलाउन सकिन्छ।'
सायद उनी अब कहिल्यै विदेश जाने छैनन्, मेरी हनी मेरो सामिप्य मै रहने छिन्, आफ्नो अँगालोमा मलाई नि बाँधी राख्नेछिन्। अब उनको मनमा पैसाको बिटोको कुनै लोभ छैन, बरु माया-प्रेम अनि आाफन्तको सामिप्यतामै रम्ने वाचा गर्छिन्।
हामी आफ्नो घर तिर लम्कन्छौँ, त्यसै समयमा खेतसँगै जोडिएको एउटा पुरानो चिया पसलबाट हाम्रो लागि पनि सान्दर्भिक हुने हिन्दी सीनेमा जय जवान जय किसानको एउटा गीतको मधुर धुन र आवाज गुन्जिरहेको हुन्छ, 'मेरे देशकी धर्ती सोना उगले, उगले हिरा मोती, मेरे देशकी धर्ती...।'