आँखा भरि हेर्न सकिन्छ मेरो यो संसार।
मुटु भरि पाइन्छ यहाँ माया र सत्कार।
आँखाको तारो मुटुको प्यारो
सबैको ढुकढुकी मेरो प्यारो गण्डकी।
कल्पना भन्दा मिठा छन्।
मेरा ताल,हिमाल र गाउँ संसार।
चित्रकारको क्यानभासमा झै माछापुच्छ्रेको आकार।
फेवा, बेगनास सँगै वरिपरिका डाँडाले डोर्याउँछ संसार।
बिहानी देखि राति सम्म
उठेदेखि सुते सम्म
जिवन्त छ पोखरा!
रहर छन् आफ्ना, प्रहर छन् आफ्ना
खोजे भन्दा माथि छ मेरो प्यारो पोखरा।
गोर्खाली विरहरुको अदम्य छ गाथा।
जता फर्क्यो, त्यतै जित्यो संसार
हिजो मात्र होइन,आज पनि तैयार
त्यही साहस सँगै रक्षागरी बाँड्दै शान्ति आज।
भिक्टोरिया क्रस पाउने विरहरुको घर गोरखा।
माता मनकामना र गोरखकालीको वासस्थान।
चुम उपत्यका हुँदै पुगिन्छ मनास्लु वेसक्याम्प।
लम्जुङ्गे जिल्ला गुरुङहरुको किल्ला।
घरवासमा सत्कार यहाँको अरु भन्दा राम्रो।
त्यसैले त सार्कले छान्यो उत्कृष्ट घलेगाउँ हाम्रो।
तल छ डुम्रे माथि छ माया
त्यै माया पाई भएछु बन्दी, बन्दीपुरमा।
बादलको माथि कसरी हिँडौं मानहुँकोटैमा।
आमा बुबाको सेवा नै हो परमोधर्म भनि।
श्रवण कुमारले चिनाए स्याङ्जा आँधीखोलाको भूमि।
माथि डाँडामा छिन् माता आलमदेवी।
जुनको कृपाले जिते शाहहरूले नेपाल भूमि।
स्याङ्जाको सिरुवारी अर्को छ प्रेरणा।
जसले देशलाई सिकायो घरवास बाट गाउँघर बनाउन।
मिर्मी तल नवलपुर वरपर अनेकौं छन् आकर्षण।
रोचक छ जलयात्रा कालिगण्डकीमा बग्दै नारायणी त्रिवेणीसम्म।
भानुभक्त, लेखनाथ र माधव सपुत हुन गण्डकीका।
ऋणि छ हाम्रो भाषा,साहित्य यिनको योगदान देखि।
सोरठी र घाटु नाँच गाउँ घरको शान।
नबिर्सी पुग्छन् सबै मेला र उत्सव।
सारंगीको धुन, दोहोरीको रंगमा जम्छ रोदी घरैमा।
बेनीको बजार पर्यटक आउँछन हजारौं हजार।
अन्नपूर्णको पदयात्राले, चिनायो हाम्रा घरबार।
तातोपानीको न्यानो सेकाई, मगर गाउँको बसाई।
पुनहिलको सूर्योदयले दिईरहन्छ झझल्को जिवनभरी।
झोलुङ्गे पुलहरुले दियो बाग्लुङको नयाँ पहिचान।
कालिका भगवती र पंचकोटीधाम यहाँका पवित्र स्थान।
बुर्तिबाङहुँदै पुगिन्छ ढोरपाटन आरक्षको मैदान।
आकाशे पुलले जोडेको छ बाग्लुङ र पर्वत जिल्ला।
विश्वको अग्लो स्वीङ र बन्जी खेल्न पुगौ है कुस्मा,पर्वत जिल्ला।
मनाङ र मुस्ताङ एउटै मोहरका दुई पाटा।
एकलाई मात्र हेरि,अधूरो छ हिमाल पारिको यात्रा।
मनाङको ताल, पिसाङ, चामेहुँदै पुगिन्छ थोरङ्ला।
पारि झरि मुक्तिनाथ, जोमसोम,लेते हुँदै पोखरा।
बेग्लै छ संसार, बेग्लै छ संस्कृति, दक्षिणमा छ निलगिरी।
उत्तरमा दामोदर कुण्ड,तल कागबेनीमा पूर्खा सम्झी दिईन्छ पिण्ड।
थकाली खाना, मुस्ताङे आलु।
स्याउ, च्यांग्रा र मार्फा अतिनै मिठो।
नबिर्सी ल्याऊ मायाको चिनो, सधै भरी सम्झिन्छ।
सर्वोच्च हिमताल तिलिचो र विश्वको गहिरो गल्छी।
टुक्चे, मार्फासँगै उत्तरमा लोमान्थाङ वरिपरि।
अतुलनीय सम्पदाले भरिएको छ मेरो हिमाल पारी।
जिवन्त संस्कृति र प्रकृतिले भरिपूर्ण ।
आँखा भरि हेर्न र मुटु भरि पाइन्छ माया र सत्कार।
त्यसैले त सबैको मनको ढुकढुकी,मेरो प्यारो गण्डकी।