क्षितिजपारि अस्ताउन
लागेको सूर्यजस्तै,
मेरो जिन्दगी पनि
अस्ताउन लागेको त हैन!
कतै म,
रणभुल्लमा परिरहेको त छैन!
बिहानीलाई दिन देख्छु,
दिनलाई साँझ,
साँझलाइ रात देख्छु।
ओ डियर जिन्दगी!
कतै म
पृथ्वीको अर्कै गोलार्द्धमा
पुगेको त छैन?
प्रिय डियर जिन्दगी
यो घोर कलियुग हो
सत्यको सधैँ जित हुन्छ भन्छन्
त्यो सत्यको जितका लागि
साक्षी बसिरहेका,
प्रतिक्षारत रहेका न्यायप्रेमीले
जालझेल, प्रपन्च, लुट, कमिसनबाट
कालोधन कमाएर,
राज्यको दोहन गरेर,
सत्यलाई सधैँ किचेर बसेका,
शासन र सत्ताको सिंहासनमा
बेलगाम राजगरी
पिल्साइएका तमाम
सर्वहारा श्रमजीवीहरुले
सन्तोषको सास फेर्ने
दिन कहिले आउँछ होला?
ओ डियर जिन्दगी!
राजनीतिको नाममा
सिद्धान्त र विचारलाई
गलहत्याउँदै
अस्थिरतामा रमाउन खोजी
सधैँ सत्ता र शक्तिमा रहिरहने,
खोक्रो राष्ट्रवादको नाममा
चिल्ला कुरा गरेर
जनतामा भ्रम फिजाइरहने,
विकासको नाममा राज्यकोषको
दोहन गरिरहनेहरुको शासनसत्ता
कहिलेसम्म रहिरहन्छ होला?