ठ्याक्कै गोटा एक वर्षअघि
साइकल सुम्सुम्याउँदैं पत्रे धुलोसाफ गरिराख्दा
कन्याउँदै, अनुनय भावमा
तेर्सिएको भाइले हच्किँदै साइकलको स्वामित्व हस्तान्तरण गर्न भन्यो
भनेन मात्रै अहम्लाई दरो च्यालेन्ज गर्यो
भलै धुलो सफा गर्ने जाबो काम हजुरले गर्ने होइन भनेर ठूलो नि बनायो
साइकल चढेर तैंले खादैनस् भनेर पाताल पनि गिरायो
सत्तरी हजार रूप्पे, साइकल पाउन साथीलाई गरेका अनुनय ठाउँको ठाउँ फ्ल्यास ब्याक भो
पाउदान घुमाइयो, पुगियो अड्डा
साइकल दैनिकी, घटेको भुँडी, स्लिम ज्यान
सपनै सही सम्झिँदा आहा! भो
साँच्ची त्यो सुन्दर कल्पना कहाँ गो
अब हिसाव हुन्छ एकएक भनी गर्जेको पनि ठ्याक्कै एकै वर्ष भएछ
अड्डा छिरेको साइकल चलाइयो कम घिसारियो
एक ठाउँबाट अर्को ठाउँ सारियो
खिया लाउनबाट बालबाल बचाइयो
एउटै काम गतिलो गरियो
साइकले साथीहरूलाई साइकल देखाइयो कुरोले लङ्का चाँहि जोडियो
दुई कोस परको कुटी पुगिएन, साइकल चढेर अड्डा छाडिएन
मसान्तका दिन छोपिएको साइकल माथिको प्लास्टिक उठाउँदै
धुलो अनि फोहरले रंगिएको प्लास्टिक अब नयाँ फेरिन्छ
अर्को वर्ष पक्कै दैनिक साइकल चढिन्छ।