कहाँ पुगे
सत्ता समीकरणका कुरा?
ए, ठूला मान्छे!
चाँडो गर्नु होला
नत्र... पूरा नहुन सक्छ
लिगलिगे दौड,
सत्ताको भर्याङ
हजुरको इच्छा
ए, मझौला मान्छे!
ढिलो नगर्नु होला
नत्र... अधुरो रहन सक्छ
गजबको चाकाचुली,
उफ्रिपाफ्री रमिता
तपाईंको आकांक्षा
ए, साना मान्छे!
आफैँ राख्नू है आफ्नो ख्याल
नत्र... सकस हुनसक्छ
फोक्सोले मागेको सास
सिलिन्डरको अभाव
तिमीहरूको छट्पटी
मान्छे छान्दैन संक्रमणले
'तपाईं'ले जसरी
भेदभाव जान्दैन मृत्युले
'मान्छे'ले जसरी
थाह छैन
कस-कसलाई मैले श्रद्धाञ्जली दिएपछि
कस-कसले मैलाई श्रद्धाञ्जली दिन पाउने हुन्
टुङ्ग्याइ हाल्नुहोस्
सत्ता समीकरणका कुरा
मरेपछि चिता पाइयोस् या नपाइयोस्
हजुरलाई 'बधाई' दिन त भ्याइयोस्!