जीवन त खै के रहेछ?
जे जस्तोमा पनि चल्दो रहेछ।
हिजो जात्रा,यात्रा र भोजमा
रमाएका ती दिनहरु!
आज केही नगरी,मित्र-आफन्त,
नभेटि पनि कट्दो रहेछ।
कोरोनाको दोस्रो कहर,
घर घरमा त्रासले डेरा गरिरहेछ।
मृत्युले नांगो नाच खेली रहेछ।
महादेवसँगै हामी पनि मुकदर्शक भईरहेछौ।
कहिलेसम्म नाक मुख लुकाई,
आजको यो समय छल्नुछ?
निराशाले भरिएका यी दिनहरू,
कहिलेसम्म भोग्नुछ?
सुख,दुख: भोग्दै चल्दो रहेछ यो जीवन।
यी गाह्रा दिनहरू पनि, बित्ने नै छन्।
खुसीका ती पलहरु फेरि फर्किने छन्।
तर खै? कोरानाले टिपी लगेका ती आफ्ना फूलहरू।
नफर्कि,सम्झनामा मात्रै सधै फर्कि रहनेछन्।
जुनिभरीको पीडा यस मनमा दिई रहने छन्।
तर जसले जे जस्तो भने पनि।
यो कुरा त साँचो नै हो।
जीवन त जस्तो पनि चल्दो रहेछ।
स्मृतिमा मात्र नयाँ पन्ना थपिँदो रहेछ।
जीवन जिउनु आफैंमा कला हो।
जीवनमा खुसीले बाँच्न चाहिने सहारा नै हो।
आफ्नो मान्छे गुमायौं भने,
जिउनमा त्यो मिठास कहाँ रहन्छ?
हुन त जीवन नियतिको खेल पनि हो।
परिस्थितिमै बाँच्न खोज्नु नै उत्तम उपाय।
न कि पछुताउनु पछि,जिवन रित्ताई।
छैन,यहाँ कसैको कुनै आश र भरौसा।
सुरक्षित भई अघि बढ्नु नै हो वास्तविकता।
समय पनि त एकनास रहन्छ
त्यसैले यो समय पनि रहन्न।
खै कति लाचार हामी!
दुई मुठी सासको लागि तड्पी रहेछौ।
जीवन त यस्तै रहेछ।
जे जस्तोमा पनि चल्दो रहेछ।
स्मृतिमा मात्र नयाँ पन्ना थपिदो रहेछ।