यो मन किन आस गरिरहन्छ?
राम्रा दिन किन सधै खोजीरहन्छ?
आसका ती मिठा कल्पनासँगै।
जीवनको यो यात्रा निरन्तर अघि बढिरहन्छ।
हुनत यहाँ समयको आफ्नै छ गति।
मन त्यै समयलाई पछ्याउन खोजिरहन्छ।
मनले आफ्नो समय भेटाउने हो होईन?
ठम्याऊनै सकिन्न?
तै पनि यो मन सधै पछ्याउन छोड्दैन।
मायामोहले नयाँ आस जन्माईरहन्छ।
त्यहि आसमा त जीवन चलिरहन्छ।
बा-आमाको बच्चासँगको।
श्रीमतीको, श्रीमान्सँगको।
आफन्तको, आफन्तसँगको।
व्यक्तिको, व्यक्तिसँगको।
जन्म देखि मृत्युसम्मको।
आशाको यो चक्र त,चलिरहन्छ।
हरेकको छ,यहाँ आफ्नै सपनाको संसार।
त्यहीँ सपनाको पछ्याईमा,आस थपिरहन्छन्।
आखिर किन यो मन आस देखाईरहन्छ?
बुझ्नै सकिनँ।
जीवनको विभिन्न कालखण्डले।
बेग्लाबेग्लै आशाका प्रहर देखाईरहन्छ।।
आस बिना त जीवन कहाँ सम्भव रहेछ?
त्यहि आसमा त यत्रो लामो यात्रा गरिन्छ।
आज भन्दा भोलि होला,भन्दा भन्दै।
जीवनको यो यात्रा नै सकिन्छ।
तै पनि यो मन सधै आसमा अल्झिरहन्छ।
भोलि त पक्कै होला भन्दै,
दुःख,पीडा भूल्दै जीवन अघि सरिरहन्छ।
यो मनको आसको तिर्खा,
सदैव बढिरहन्छ।
जति पाए त्यतिनै थपिरहन्छ।
आफ्नालाई माया गर्नु।
अर्काको आस नगर्नु।
समय सापेक्ष भई सँगै चल् सके
नै हुन्छ सबै भन्दा जाति।
दुःख पीडा कहाँ छैन र?
मनको सागर जहिले पनि उर्लिरहन्छ।
छिनमै माथि,छिनमा तल झरिरहन्छ।
ती छालहरु झै मन बगिरहन्छ।
छालहरु सबै कहाँ समात्न सकिन्छ र?
अन्जुलिमा अटाएको नै तिम्रो भाग हो।
बाँकी फर्किरहेका छाल त मात्र आस हो।
तर जीवन त आस र राम्रो सोचले नै चल्दोरहेछ।
आस बिना त यो जीवन लाश नै रहेछ।
त्यसैले यो मन सधै।
केही राम्रा पलहरु सम्झिरहन्छ।
आफ्ना सपना खोज्दै अघिबढिरहन्छ।