त्यो बिरामी मान्छेको
गाला सुकिसकेको छ
आँखामा कुनै चमक छैन
बिरामी हाँस्न खोज्दछ,
हाँस्न सक्दैन
बोल्न खोज्छ
बोल्न पनि सक्दैन,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
उसको हाँस्ने, बोल्ने,
खुसी महशुस गर्ने,
सामर्थ्य गुमेको देखिन्छ,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
उसको नजिक जान
निषेध गरिएको छ
उसलाई छुन वर्जित छ,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
अरुबेला ऊ सामान्य बिरामी हुँदा
अस्पताल जानुपरे पुर्याउने,
अनि गइसकेपछि भेट्न आउनेहरूको
लाइन लाग्थ्यो अरे!
तर, यस पटक कोही कसैको
अत्तोपत्तो महशुस गर्न समेत पाएन,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
ऊ एकोहोरो हेर्ने भएको छ
केवल उपचारमा संलग्नहरूको
आउने बाटोतिर मात्र
उसको ध्यान अनि हेराइ
एकोहोरो भएको छ,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
उसका आफन्तहरूसित
भेट्न मनाही छ।
अनि आफन्तहरूले उसको जानकारी
सहजै माग्न सक्ने वातावरण छैन,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
उसको श्रव्य-दृश्य
जोडफल सहितको
मुखाकृति, हाउभाउलाई
मिडियाकर्मीहरुद्वारा
प्रदर्शित दृश्यले
सबैको मुहारमा अत्यास
अनि भयले सताइरहेको प्रस्ट देखिन्छ,
किनकि, ऊ कोरोना संक्रमित हो अरे!
तर पनि,
यस्तो विषम् परिस्थितिमा
ऊ आफ्नो छातीलाई विशाल पारी
अहोरात्र खटिएको,
अनिश्चितता र डरको
समयमा प्रकाश ल्याउनमा
क्रियाशील सबै विशाल
मन भएका अग्रपंतिमा सेवारत
सबैलाई ‘हिरो’ को संज्ञा दिन्छ।
ऊ यी सबै हिरोहरूलाई
प्रेम, सम्मान, कदर,
उच्च प्रशंसा पठाउँदै
यो बफादार सेवाको लागि
सम्मान र सराहनाका साथ
सलाम गर्दछ।
ऊ चाहन्छ,
यी सबै हिरोहरू अनि विज्ञानको
कसरतले पूर्ण सफलता पाओस्,
छिट्टै नयाँ बिहानीको सुरुआत होस्।
सबै प्राणीजगतको मुहारमा,
खुसी अनि उमंग आओस्।
ऊ प्रार्थना गर्दछ कि,
तपाईं हामीहरू सबैले
निर्धक्क रूपमा
यो श्वासन सिन्ड्रोम रहित
श्वास फेर्न सकूँ
सबैको जय होस्।