ग्रामीण परिवेशमा हुर्केका हामी।
कृषि नै हो, हाम्रो प्रमुख आधार।
वर्षौंदेखि गर्दै आईरहेछौं
त्यहि खेतीपाती र गाउँघरको व्यवहार।
गाउँ नै गाउँले बनेको यो देश।
प्रत्येक गाउँको आफ्नै छ
मौलिक संस्कृति र पहिचान।
तराईका फाँट र पहाडका गैरी खेत नै हुन्
हाम्रा अन्नबाली र फलफूलका भण्डार।
कृषिले नै ओगटेको छ यहाँ ठूलो स्थान।
झन्डै सयकडा ६० को पेशा र त्यही छ वासस्थान।
कृषि हाम्रो पेशा हो कि वाध्यता?
यो कुरा अझै बुझ्न सकिएन।
खेतीपाती नगरौं, खानै पुग्दैन।
यसैमा लागौँ, उम्कनै सकिन्न।
कृषकको लगानी र श्रम उठ्नै सकेन।
बिना बजारको पहुँच र प्रविधि केही गर्नै सकिएन।
कृषकको मेहनत खेतैमा।
सरकारको सहयोग र लगानी रेतैमा।
बिचौलियाको मनोमानी, मिलोमतोमा।
मिठो मसिनो खान,सबै जानि सक्यौँ।
पुग्ने अन्नबाली उब्जाउनु कहिले हो ?
बाहिरदेखि नकिनी पुग्दैन जहिले पो !
हामी कृषि प्रधान देश रे!
जहाँ सधै आकासको छ भर।
छिमेकीले दिए मात्र खेतमा छ मल !
विश्वका कुन देश कृषि बिना बनेका छन् ?
सबैको बन्ने आधार कृषि नै रहेछ।
जनताको पेटपाली गर्छन् अन्य व्यापार।
कृषिले नै खोल्ने छ दिगो समृद्धिको बाटो एक दिन।
विविध भूगोल र वनस्पति नै हुन् प्रमुख आधार।
राम्रो निती र प्रविधि ल्याई सम्भव छ कृषिको विकास।
कृषिलाई पर्यटनसँगै पनि लान सकिन्छ।
एकले अर्कालाई तान्न सकिन्छ।
विश्वभरि मौलाएको छ अर्गानिक खानपान।
गाउँघरको वास,दिन्छ नेपाली मौलिकताको आभाष।
गाउँ मै बसी खेती र घरवास गर्न सकिन्छ।
आफ्नै खेती हेरी,पर्यटकको सत्कार गर्न सकिन्छ।
समुन्नत खेती सँगै,पर्यटनमा नयाँ आयाम थप्न सकिन्छ।
हुन त सिरुवारी,घलेगाउँदेखि यो लहर चलिसक्यो,
विगत एक दशकमा देशभरि थुप्रै घरवास बनिसक्यो।
अब कृषक र खेतको व्यवस्थापन गर्न जरुरी छ।
टुक्रा टुक्राको,भन्दा सामुदायिक खेतीमा जानु बेस छ।
अब हामीले आफ्नो गाउँ घर छोड्न पर्दैन।
यी दुई पेशा जोडी,काम गर्दा विदेशिनु पर्दैन।
त्यसैले अब सम्भव छ।
कृषिको समय कृषि,बाँकी समय घरवास!
त्यसैले चल्छ अब हाम्रो चुलो बाह्रै मास!