सन् २०२१ को लगभग मध्यमा पुस्तक र पुस्तक प्रेमीका संसारमा धेरै पुस्तक प्रवेश गरेका छन् र ती मध्ये दुई वटा पुस्तकले पुस्तक प्रेमीका मन र मस्तिकलाई विशेष तरंगित बनाएका छन्। पहिलो पुस्तक अर्थशास्त्रमा नोबल पुरस्कार विजेता भारतीय अर्थशास्त्री तथा दार्शनिक अमर्त्य सेनको पुस्तक ‘होम इन द वर्ल्ड’ हो भने दोस्रो पुस्तक हो भारतीय अर्थशास्त्री कौशिक बसुको पुस्तक ‘पोलेसी मेकर्स जोर्नल’।
विद्यार्थी जीवनमा कौसिक बसु अमर्त्य सेनका चेला हुन्। गुरु र चेला दुवै लोकप्रिय अर्थशास्त्री हुन् र दुवैको पुस्तक पनि सँगसँगै प्रकाशित भएको छ। दुवै पुस्तकको लोकप्रियताको ग्राफ दिन प्रतिदिन बढिरहेको छ। सेनको पुस्तक आफ्नो जीवनीमा आधारित छ भने बसुको पुस्तक उनको सात वर्ष उच्चतम् नीति निर्माणमा संलग्न भएका वर्षमा लेखिएको आफ्नो व्यक्तिगत डायरीमा आधारित छ। दुवै लेखक हाल अमेरिकामा अर्थशास्त्रका प्राध्यापकको रुपमा कार्यरत छन्।
होम इन द वर्ल्डको बारेमा
चार सय त्रिसट्ठी पृष्ठको यो पुस्तक पाँच भागमा विभाजित छ र पुस्तकमा छब्बीस वटा निबन्ध संकलित छन्। अधिकांश निबन्धमा सेनले आफ्नो जीवनका विशेष कालखण्डमा भोगेका, देखेका र अनुभव गरेका विषयलाई आकर्षक ढंगले छोटकरीमा उतारेका छन्। लेखन शैली र भाषामा दह्रो पकड भएका सेनले उनको यो पुस्तकमा धेरैभन्दा धेरै स्थान, व्यक्ति र पात्रको बारेमा उल्लेख गरेका छन्।
उनले सिद्धान्त र दर्शनको बारेमा लेखेका छन्। तत्कालीन ढाका सहरको बारेमा, बङ्गालका नदीका बारेमा, आफ्ना हजुरबुवा-हजुरआमासँग बिताएका बाल्यकालको बारेमा, तार्किक संसारको बारेमा, रविन्द्रनाथ टेगोरको बारेमा, त्यसबेलाको भोकमरीको बारेमा, भारत र बेलायतको बारेमा, कलकत्ता सहरको बारेमा, कलकत्ताको कलेज स्ट्रीटको बारेमा, कार्ल मार्क्सको बारेमा, त्यसबेलाको बेलायतको बारेमा, साथीसंगीको बारेमा, अर्थशास्त्रको बारेमा, युरोपको बारेमा, राजनीतिको बारेमा, क्याम्ब्रिज लागायत अरु केही बिषयमाथि समर्पित उनका निबन्ध तथ्य र ऐतिहासिक घटनाक्रममा आधारित छन्।
विश्वका विभिन्न देश, विभिन्न विश्वविद्यालय र अनुसन्धान केन्द्र, लेखक, अनुसन्धानकर्ता, दार्शनिक र राजनीतिक व्यक्तिका बारेमा पनि उनले प्रसङ्गवश धेरै स्थानमा उल्लेख गरेका छन्। लेखकको अरु पुस्तक झैं यो पुस्तकको लेखन शैली पनि दार्शनिकीय नै छ। समग्रमा, यो पुस्तक अर्थशास्त्र, शिक्षाको दर्शन र इतिहासमा चासो हुने सबै प्रकारका पाठकको लागि रुचीपूर्ण हुने देखिन्छ।
पोलेसी मेकर्स जोर्नलको बारेमा
तीन सय पचहत्तर पृष्ठको यो पुस्तक दुई भागमा विभाजित छ। पहिको भागमा पाँच वटा निबन्ध छन् भने दोस्रो भागमा चार वटा निबन्ध संकलित छन्। सन् २००९ देखि सन् २०१२ सम्म डा. मनमोहन सिंहको नेतृत्वमा बनेको भारतीय सरकारको प्रमुख आर्थिक सल्लाहकार भएको समयमा लेखेको डायरीमा आधारित भएर उनले पुस्तकको पहिलो भाग लेखेका छन् भने दोस्रो भाग सन् २०१२ देखि सन् २०१६ सम्म विश्व बैंकको प्रमुख अर्थशास्त्री भएको बखत लेखेको डायरीमा आधारित छ। जसरी दैनिकी लेख्दा दिनदिनै लेखिन्छ त्यसैगरी पुस्तकका अध्याय पनि दैनिकीको रुपमै छन्। उनको लेखन शैली अत्यन्त रोचक छ।
आफ्नो विद्यार्थी जीवनको बारेमा, परिवारको बारेमा, शिक्षकको बारेमा, आफूले अध्ययन गरेका कलेजका बारेमा र अमर्त्य सेनका बारेमा पनि रोचक ढंगले उल्लेख गरेका छन्। त्यसैगरी, भारतीय कर्मचारीतन्त्र, भारतीय राजनीति, विश्व बैंकको वातावरण र कर्मचारीतन्त्रमाथि पनि लेखकले छोटकरीमा लेखेका छन्। उक्त सात वर्षमा भेट भएका महत्वपूर्ण व्यक्तित्व र कार्यको बारेमा पनि पुस्तकमा छोटकरीमा उल्लेख गरिएको छ। प्राज्ञिक संसारको सोच विचार र वातावरण भन्दा नीति निर्माताको संसारको सोचविचार र वातावरणका फरक आयामहरुलाई लेखकले रोचक पारामा वर्णन गरेका छन्।
समग्रमा, सात सालको दैनिकीमा आधारित भएर लेखिएका अनुभवलाई लेखकले पुस्तकको रुपमा प्रकाशित गर्न सफल भएका छन्। यो पुस्तक सम्पूर्ण नीति निर्माता, राजनीतिज्ञ, प्राज्ञिक कार्यमा संलग्न सबैका लागि रुचीकर र लाभदायक हुने देखिन्छ।