सहर न तिमी जस्तो छ
न म जस्तो छ
तिमीलाई कसरी भनूँ,
सहर कस्तो छ?
बैँसले उन्मुक्त कुनै षोडशी टपमा
नुहाउन बसेजस्तो छ सहर।
ललाटमा वर्षेको पानीका बुँदहरु
उन्नत अवयहरुलाई घात गर्दै
नाभिस्थलबाट जलासयमा
समाहित हुँदा अलिकति लाजले,
अलिकति चिसोपनले,
खुम्चिँदै चिसिँदै
बैंसालु अवयहरुमा बादलका घुम्टो तानेर
हावासँग आँखमिचौली खेलिरहेछ सहर।
निलो तलाउको किस्तीमाथि
बाटाहरुको जाली रुमालले
यौवन ढाकेर
कुनै परी जल-क्रिडामा
बसेको जस्तो छ सहर।
र त सहरको उन्मुक्त अदाकारितामा
र वैभवतामा बैंसहरु सहर हानिएका छन्,
षोडसी सहरको मादकतामा,
मायवी जालमा
धेरै सपनाहरु सहर भासिएका छन्।
अन्त्यहीन जाली रुमाले बाटाहरुमा
मान्छेहरु सहर पस्ने बाटा खोजिरहेछ
दिगभ्रमित बनाउने भ्रमित बाटाहरु
बैँस बोकेर हिँडेका पैतालाहरु
सुलसुल्ती निलिरहेछ
तर मौन छ,
मायवी सहर,
आफ्नै मायवी जालमा मस्त छ।
ठूलो पहाडको चट्टानको फेदीमा
समयानुकूल रंग बदलेर
अजंगको अजिंगर लम्पसार परेर
बसेजस्तो छ सहर।
निरीह चल्लाहरुलाई बाजले उडाएजस्तै
अनगिन्ती सपनाहरुलाई उडाइदिने
शिकारी बाजजस्तो छ सहर।
अहोरात्र जाग्राम रहेर धुरीमा बसी
ऐंठन गर्ने हुचिलजस्तो छ सहर।
बाटाहरुको चक्रव्यूहमा अल्झिएर
आफैले आफूलाई हराइदिने
माझीहरुको महाजालजस्तो छ सहर।
र त यो जालैजालको सहरमा
कोही सहर खोज्दाखोज्दै हराएका छन्
कोही बाटाहरु खोज्दाखोज्दै हराएका छन्
कोही सपना बुन्दाबुन्दै हराएका छन्
कतै हराउने र खोज्नेको संगम हो कि सहर!
कोही हराइरहेछन्, कोही खोजिरहेछन्
तर मौन छ सहर
हराउने र खोज्नेको तमसा मस्त छ।
कोरली पोथी
अण्डा कोरलेर बसेको जस्तो छ सहर।
ढुङ्गा गोडेर कंक्रिट फलाउने
तातो भट्टीजस्तो छ सहर।
बेमौसमी फसल फल्ने
फसलैफसलको पसलजस्तो छ सहर।
हरेक वस्तुको विनियम दर तोक्ने
मूल्य र मान्यताहरु तराजुमा जोख्ने
खुला र थोकमा बिक्री गर्ने
बजारजस्तो छ सहर।
र त मूल्य र मान्यताहरु बोल कबोलमा
सपनाहरु उधारोमा,
इच्छाहरु बन्दकीमा छन्।
सबैसबै सर्सतमा उनिएका छन्,
सहर न बोल्छ, न हाँस्छ
न कसैको वास्ता छ
न कसैले वास्ता गर्छ
यो बेवास्ता र मनहीनताको
मूर्दाहरुको बस्तीजस्तो छ सहर।
अनि झिसमिसमा ऋण उठाउन हिँडेको
हर्के साहूजस्तो छ सहर।
यसैले त-
सहर न तिमी जस्तो छ
न म जस्तो छ
कसरी भनूँ सहर को जस्तो छ?