कोशीको तिरैमा चखेवाको जोडी,
ए! मन मलाई पनि पूर्व उडाई लग,
उडिरहेछन् ती जसरी।
बगिरहेछ सप्तकोशी समेटेर सातै नदी,
इन्द्रेणीको झझल्को दिइरहन्छ सधैभरि।
कोशीको फाँटैमा छ पवित्र भूमि,
रामधुनी,चतरा,बराहक्षेत्र छन् त्यँही।
माथि पहाडमा उग्ले पुगिन्छ धरान, धनकुटा,
बाटैमा रहेको विजयपुर, भेडेटारको डाँडा।
मन मुग्ध हुन्छ,नमस्तेको झरना हेरी,
स्नान गरे दिन्छ सितलता सम्झिने गरी।
मनमोहक छ नागबेली,
बाटो हिले तेह्रथुमको,
गुराँसैले ढकमक्क छन्,
गाउँघर बसन्तपुरको।
हिले पश्चिम लेगुवामा अरूण तरी,
भोजपुर,मुन्दुम ट्रेलमा फन्को लगाइन्छ।
उत्तरमा दिङ्लाहुँदै फेरि अरुण तरी,
खाँदवारी,चैनपुर पुगिन्छ।
हिले र गुफाको बेग्लै छ आर्कषण,
छिनछिनमा कुहिरोले लुकाउँदै, देखाउँदै,
खेलिरहन्छन् लुकामारी सँधै।
गुफाको पोखरीमा, आफ्नो प्रतिबिम्ब हेर्दा,
मकालुदेखि कन्चनजंघा झुल्केको देख्छु,
सँगै हिम शृङ्खला पोखरीमा उत्रेको पाउँछु।
साँच्चैमा रमणीय छ मेरो कोशीको तिरैतिर,
अनेकौं छन् गाउँ ठाउँ डुल्ने,
प्रकृति अनि पूर्वेली संस्कृतिसँग मिल्ने।
हेर्नुहोस् तस्बिरहरू