आहा! हामी कति भाग्यमानी,
अरूकै भरमा चल्छ यो जिन्दगानी।
काम होस् या माम,
अर्को कै भर पर्नुरहेछ।
आफ्नो त के छ र,
सुन्दर, शान्त विशाल देश महान!
विश्वले जे जति प्रगति गरे नि के भो?
हामी त्यसको उपभोग गर्ने नै छौँ।
उत्पादन विश्वमा जहाँ भए नि,
आयात गरिनै रहनेछौं।
आफ्नो श्रम र शक्ति विदेशमा बगाई,
दुई पैसा घर भित्र्याउन सिकेकै छौ।
मिठो मसिनो खाने कुरा,
लत्ताकपडा, मोटरगाडी,
जे खोजे नि विदेशबाट आईहाल्छ।
केको कमी छ हाम्रो खानपानमा,
खर्च गर्नु नै पर्यो आफ्नो शानमा।
हामी यसका गौरवशाली जनता,
आफूले केही गर्न नसके के भो,
अर्काको सामान किनी दिए त भो!
स्वदेशमा उत्पादन खासै नगरि,
एसियाली मापदण्ड पुगेकोमा छ गर्व
भयौं है,समृद्ध र सुखी नेपाली।
नारा हाम्रा,जहिले नि चर्का,
विदेशी सामान नै किन्न पल्केका।
एक दशकमा चार गुणा व्यापार घाटा पुर्याएका।
आत्मनिर्भर कहिले हुने,
हामीले किन सोच्ने?
अरूले सोची,गरिदिए पुग्ने।
हामीलाई के पुगेको छैन र,
यस्ता पनि कुरा गर्ने ?
भोलि कसले देखेको छ र,
आजसम्म हामी नै भाग्यमानी,
उत्तर,दक्षिण मागे पुगिहाल्छ,
माग्दा माग्दै यो उमेर गईहाल्छ।
सोचम् है साथी! समय जान के लाग्छ र?
प्रजातन्त्र आएको सत्तरी वर्ष,
गणतन्त्र आएको पनि भएछ सोर्ह वर्ष ।
आहा! साँच्चैमा हामी भाग्यमानी,
यस्तै छ हाम्रो जिन्दगानी।