मलाई लाज लाग्दैन,
किनकि मैले यस्ता पार्टी त कति फेरे कति
कसले लियो होला फाइदा मैले लिए जत्ति
कुन दलमा गएर मैले के फाइदा लिएको छैन होला
कुन दलको नेताले मलाई चिन्दैन होला।
तपाईंहरुले जस्तै एउटै दल छोपी रहने होइन म
यो राजनीति हो र परिवर्तनशील हुनुपर्छ
परिवर्तन आफै हुँदैन, हामीले गराउनु पर्छ भन्ने हुँ म
त्यसैले मैले दल फेरिरहन्छु र त मलाई लाज लाग्दैन।
राजनीति कुनै धर्म होइन जुन
तपाईंहरुले कालन्तरदेखि एउटै दल समर्थन गरिरहनु भएको छ
तपाईंहरुलाई दिक्क लाग्दैन एउटै दल, अनि एउटै नेतालाई नेता मान्न?
बा-आमा, काका-काकी, मामा-माइजू, दाइ-भाइ आफन्तको कारणले
तपाईंहरु जस्तो एउटै पार्टीमा रहने र बन्ने होइन म
पार्टी परिवर्तन गरिरहनु पर्छ र फाइदा लिइरहनु पर्छ भन्ने हुँ म
हामीले जिताएका नेता र नेतृत्वले कति फाइदा लिइसके
कति प्रगती गरिसके
तर तपाईं अहिले पनि लजाउनु हुन्छ, भन्नु हुन्छ
यो नेता राम्रो, यो दल राम्रो
तपाईंले छोपिरहेको दल, नेता र नेतृत्वले गर्ने व्यवहार देखेर
मलाई त त्यसरी तपाईंहरु जस्तै लजाउनु परेको त छैन नि
किनकि मैले धेरै पटक दल र नेता फेरिसके
त्यसैले मलाई लाज भन्ने फिटिक्कै लाग्दैन।
तपाईंहरु भने छेपारोले झिक्रा छोपेजस्तै गरी सधैँ एउटै पार्टीमा बस्नुस्
अनि तिनै बुढापाका र पञ्चायतदेखि अहिलेसम्म नेता भैरहनेहरुलाई
तपाईंको अमूल्य मत र समर्थन दिएर जिताउनुहोस्
अनि सराप्नुहोस, यो देश नेताहरुले बिगारे भनेर
अनि मलाई हेर्नु त
मेरो प्रगति कति भयो, नेतृत्व परिवर्तन गर्न त मैले पनि सकिनँ
तर मलाई त परिवर्तन गरे नि,
मजस्तै तपाईंहरु पनि दल फेर्दै र नेता फेर्दै हिँड्नु त
हाम्रा नेताहरु बल्ल सुध्रिन्छन् अनि
हामी जनतालाई मान्नेछन्
महत्व दिनेछन्
यहाँ सिद्धान्त कसले मान्यो, विचार कसले मान्यो?
अहिले पनि दल र नेताको लागि आपसमा झगडा
गरिरहनु भएको छ नि
खै! तिनी नेताहरुले चुनाव जित्दा तपाईंलाई
आशा र भरोसा बाहेक केही दिए?
पिए र सचिवालयमा परिवार र आफन्तले भरे
घर-घडेरी र सम्पत्ति जोडे
पद र पैसाको लागि सिद्धान्त र विचार छोडे
अनि तपाईं भने फलानो नेता हाम्रो र राम्रो भन्दै
लड्नुहोस, झगडा गर्नुहोस, उनीहरुलाई गाली गर्नेलाई सराप्नुहोस्
अनि बन्छ देश र विकसित देशको नागरिक बन्नुहोला
कुनै पनि दल नराम्रा होइनन्, हाम्रा नेता र नेतृत्व हो नराम्रो
भन्ने कहिल्यै सोच्नु भएको छ?
तपाईंहरु जे भन्नुहोस, दल फेरुवा, अवसरवादी
जे भने पनि मलाई फरक पर्दैन,
किनकि म दल फेरुवा र सिद्धान्त फेरुवा हुँ
नेताले फाइदा लिन हुने अनि मैले दल फेर्दै फाइदा लिन किन नहुने?
मैले फाइदा पनि लिएँ अनि नेता पनि बनेँ
दल पनि फेरिरहन्छु त मलाई केको लाज?