खोलाको छेउमा बसिरहेको छु
खोला बग्दै आइरहेको छ, बग्दै गइरहेको छ
यात्रा लामो छ
भिमकाय पहाडहरु काट्नु छ
चट्टानहरु छिचोल्दै
क्रुरताले भरिएका सहरहरुमा पौडिएर बग्नु छ
सहयात्री भए यात्रा सहज हुनेछ भन्ने सोचले
भनेको छैन खोलाले
यात्रामा सँगै हिँडौँ भनेर बगरलाई।
बगर बसिरहेको छ, हेरिरहेको छ
लामो यात्रामा
एकछिन थकाइ मार न
आज बस न बास यतै बगरमा
भोलि जाँउला सँगसँगै
भनेको छैन बगरले खोलालाई।
जीवनका सबै रंगहरु देखेको छ खोलाले
जीवनको खरानी रंग मात्रै देखेको छ बगरले
सुखदुःख साटे हलुंगो हुने थियो- जीवनको भारी
साटेनन् दुवैले।
यदि खोलाले हेरेको भए
सहयात्रीको रूपमा बगरलाई
बगरले नै हिँड्छु सँगसँगै भनेको भए खोलालाई
खोलाको आकार मेटिने थियो।
यदि बगरले दिएको भए एक रात
थकाइ मार्न खोलालाई
खोलाले नै मागेको भए
एक रातको लागि बगरमा बास
बगरको अस्तित्व गुम्ने थियो।
हेरेको छैन
खोलाले बगरलाईऽ बगरले खोलालाई
रोकिएको छैन
खोलाको यात्रा, बगरको मौनता
त्यसैले त युगौंदेखि युगौंसम्म
खोलाको आकार बगिरहेको छ, बगिरहनेछ
बगरको अस्तित्व रहिरहेको छ, रहिरहनेछ
चुपचाप-चुपचाप
एक्लै-एक्लै।
म सोचिरहेको छु-
आफू-आफू जस्तै बन्न त
कसैले खोलाबाट सिकोस
कसैले बगरबाट।