हिउँदमा छरेको दुई ड्याङ् जौ
आमाले निफनेर पोको पारेको रात
मैले दाँत झरेको सपना देखेँ
भोलिपल्ट सबेरै
बाले ओछ्यानमा सपनाको पोखरीमा
डुबुल्की मारिरहँदा
आमाले पिँढी पोत्ने पोतारोमा
पौडी खेलिरहेकी थिइन्
बा दायाँबायाँ कोल्टे फर्किरहँदा
आमाले जाँतो घुमाइसकेर
धारोमा पानीको गाग्री भर्दै थिइन्
भर्दा भर्दै
आमाले अन्तिम श्वास फेरिन्
अँध्यारोले रातसँग बिदा मागी नभ्याउँदै
लिपपोत गरेर आफैंले सफा पारेको घरको पिँढीमा
एकैछिन सुस्ताएर जीवनभरको थकाइ मार्न पनि दिएनन्-
मलामीहरुले लगिहाले घाटतिर
आमाको चिता बल्दै गर्दा
मलामीहरु अड्कल काट्दै थिए-
गाग्री बोक्दा धारोमा चिप्लिएर लडी
धारो छेउको कुवामा मुख गाडिएर मरी
दमको बेथा थियो, दम बढेर मरी
प्रेसरको औषधि खान्थी, प्रेसर बढेर ढली
तर, कसैका अड्कलले पनि यो कुरा काट्न सकेन-
भिरालो बाटोमा पृतिसत्ताको गाग्री बोकेर हिँड्दा
चिप्लिएर लडी
वर्षौंदेखि पृतिसत्ताको बाथले
स्वतन्त्रता र खुसी सुन्निएर
सुख कक्रक्क परेको थियो
उपचार नपाएर मरी
कारण जेसुकै भए पनि
आमा विलीन भइन्
आमासँगै धेरै कुराहरू विलीन भए-
मेरो बाल्यकाल विलीन भयो
बिहान सबेरै बाको खाटमा आइपुग्ने
चियाको कप विलीन भयो
बाले खाएपछि थालमा बाँकी रहेका
खानाका जुठा अवशेषहरु खाइदिने
हातमुख विलीन भयो
दिनभरि जम्मा भएका रिसको थुप्रो
बेलुका लेराएर फाल्ने- बाको कन्टेनर विलीन भयो
घाँसपानी खुवाउने
भकारो सोरिदिने
गोठमा रहेका गाई-भैंसीको
सुसारे विलीन भयो
अब देख्न पाउँदैनन् बाले
जुत्ता लगाउने बेलामा जुत्ता पुछिदिने श्रीमती
नुहाएपछि कट्टु धोइदिने श्रीमती
भोक लाग्न ठिक एक मिनेटअगाडि
खाना तयार पार्दिने श्रीमती
आफूलाई नरुचेका मासुका चोक्टाहरु
खेर जाने लोभले खाइदिने श्रीमती
जीवनका कविताहरु लेख्न बस्दा
कलममा मसी भरेर टेबुलमा राखिदिने श्रीमती
कहिल्यै देख्न पाउँदिनन् आमाले
आफ्नी सानी छोरी ठुली भएर
श्रीमतीको रुप धारण गरेकी
आमामा रुपान्तरण भएकी
र कसैका लागि बाँचिदिएकी
सानै थिएँ म
बा हाँस्दा रुन मन लाग्दा लाग्दै पनि
हाँस्ने गर्थिन् आमा
बा रुँदा हाँस्न मन लाग्दा लाग्दै पनि
रुने गर्थिन् आमा
आफू थाकेर- बाको थकाइ मारिदिने गर्थिन् आमा
अब देख्न पाउदिनँ मैले
आमाले सानो गल्ती गर्दा रिसाएका बा
बाले ठूलो गल्ती गर्दा हाँसिरहेकी आमा
हिजोआज
मलाई आविष्कार गर्न मन लागिरहेको छ
रहस्यमय कुराहरू पत्ता लगाउने मेसिन
पत्ता लगाउनु छ-
किन विलीन हुन्छन् यस्ता सबै कुराहरू
आमाको शरीर चितामा विलीन भएसँगै?
बाँचुन्जेल किन नाँघ्न सकिनन्, किन नाँघिनन् आमाले
बालेजस्तै घरको मूल ढोका?
आफ्नो थकाइ पालेर
किन बाको थकाइ मारिदिने गर्थिन् आमा?
किन प्रतिरोध गर्न सकिनन् आमाले आफ्ना रहर,
र सपनाहरूको सभा विघटन भएको दिन?
जिन्दगीको आयतन किन सानो हुन्छ
बाको भन्दा आमाको?
बाले कविता लेख्ने कलममा
सधैं मसी भरिदिने आमाले
किन कहिल्यै लेखिनन् आफैंले जीवनको कविता?
आज आमालाई सम्झिँदा लागिरहेको छ-
जिन्दगी जिउनुको नाममा
हातखुट्टा चल्नु र शरीरबाट श्वास बाहिर-भित्र गर्नुमात्र
बाँच्नु होइन रहेछ
आमालाई सम्झिँदा लागिरहेको छ-
हातखुट्टा चल्न छाड्नु
शरीरबाट श्वास बाहिर भित्र गर्न छाड्नु
शरीरबाट प्राण उडेर जानुमात्र
मृत्यु होइन रहेछ
आमालाई सम्झिँदा लागिरहेको छ-
शरीरबाट श्वास उडेर जानु
बाहरुको लागि मृत्यु हुनु हो
तर, आमाहरूको लागि मुक्ति मिल्नु हो
आँखा खोलेपिच्छे
घरी बाले
घरी मैले
घरी बहिनीले
घरी समाजले
जो कसैले प्रष्ट देख्न सक्छ
यतिखेर मेरी आमा
स्वतन्त्रताको आकाशमा
मोक्षको विमान चढेर उडिरहेकी छिन्
स्वतन्त्रताको आकाशमा उड्न
आमाहरूले मृत्यु कुर्नै पर्ने
धुवाँ बन्नैपर्ने यो परिवेशमा
कसको प्रतीक्षामा
केको आवाज सुन्न
बोधिवृक्षको फेदमा
कान थापेर मौन बसिरहेको छ
यो मौनता?