बा आफ्नै दुनियाँमा मस्त थिए। गाँजा खाएर होइन, नखाएरै।
उनका पालामा मस्त हुन गाँजै खानु पर्थेन। बरू खेत जोतिरहेको माले गोरू लखतरान परेर बारीको पाटामा थचक्क बस्दा डिलबाट गाँजाको हाँगो भाँचेर खुवाउँथे। गोरू केहीबेरमै जर्याकजुरूक उठेर जोत्न थाल्थ्यो।
मध्याह्नमा आफै गलेर सुस्ताउँदा बा कुटिरो फुकाएर भाङका दाना मिश्रित चामलका फाँक हाल्थे।
कहिलेकाँही बाख्रा, पाठालाई छेरपाटे लाग्दा गाँजैका पात खुवाउँथे।
उनका दौंतरी भन्थे, 'वस्तुभाउको लागि त वरदानै हो गाँजा।'
बा कामले गलेर खुइइय्य खुइइय्य गर्दै उकालो उक्लिएर चौतारीमा सुस्ताउँथे। चौतारीबाटै गैरीखेत नियाल्थे। प्रायः चौतारीमै बसेर ऊन कात्दै गरेका भेटिने पल्लो गाउँका बिर्खे दाइसँग दुःखसुख साटासाट गर्थे। उनैको सुल्पा मागेर अलिकति गाँजा भरेर केही फ्वाँक उडाउँदै हल्का महसुस गर्थे।
बाको पालामा गाँजा जातभात, ठूलोसानोको 'ब्यारियर' थिएन, बरू सबैलाई जोड्ने कडी थियो।
कहिलेकाहीँ बा चौतारीमा बसेर गाँजाका रेसाबाट टोपी, कोट, डोरी, गलैंचा, झोला बुन्थे। आफू पनि प्रयोग गर्थे। पैसाको खाँचो पर्दा सदरमुकाम पुगेर ती सामान बेच्थे। अर्थोकै सामान किनेर पनि ल्याउँथे।
काशी जाँदा ल्याएको काँसको थालमा तिहुन भातसँगै प्रायः भाङबाट बनेको अचारको पित्को छुट्थेन। बाको दैनिकी होस् वा कृषि, आम्दानी होस् वा औषधोपचार, धेरै कुरा गाँजासँग जोडिएको थियो।
गाँजाले बालाई कहिल्यै छाडेन। बा गाँजाबेष्ठित थिए भन्दा फरक पर्दैन। बा शान्त थिए। गाउँ पनि बाजस्तै शान्त। त्यति बेला गाउँघर, देशैभर खुल्लै थियो गाँजा। तर पनि गाउँमा कोही गँजडी भएर हिँडेका बालाई थाहा थिएन। गाँजा खोल्दा सबै गँजडी हुन्छन् भन्ने त बा अहिले मात्र सुन्दै छन्।
बाका गाउँतिर युरोप, अमेरिकाका अल्लारेहरू ओइरिन थाले। अहिले नेपाली अल्लारेहरू विदेशिएझैं। समानता के भने, न ती सीप लिएर आएका थिए, न यी सीप लिएर जाँदैछन्। फरक के भने, हप्तौं लगाएर गाडी चढ्दै, हिँड्दै, रमाउँदै फुर्के, झिल्के बनेर गाँजाको नशामा लठ्ठिन आउँथे। यी भने सिधै बोइङ चढेर कामको नशामा लठ्ठिन जाँदैछन्।
सजिला मान्छे। नशालु गाँजा। हराभरा प्रकृति। स्वर्गतूल्य भूगोल। उताका युवालाई यताको दुनियाँ मस्त लाग्यो। ती 'एक सर्को, दुनियाँ अर्को' भन्दै वर्षौं यतै रमाउन थाले। तिनलाई युरोप जति पैसा यता खर्चिनु पर्दैनथ्यो। दिनको ४-५ डलर भए छेलोखेलो हुने। गोजीको दाम सकिए आफ्ना सामान बेच्थे। त्यो पनि सकिए, पासपोर्ट नै बेच्थे अरे!
तिनका दूतावासले ती घर फर्किऊन् भनेर निशुल्क टिकट काटिदिने व्यवस्था गर्दा पनि अनेकौं बहाना बनाएर 'दम मारो दम' भन्दै मैलो जिन्स लगाएर बिन्दास पारामा गाँजाको सुगन्ध खोज्दै डुलिरहन्थे। जे जसो गरेर भए पनि नेपाल छोड्न चाहन्थेनन्।
बा भन्छन्, 'आफ्ना युवा बिरक्तिएर एसियाका रनवनमा भौंतारिएको पश्चिमा मुलुकले देखी सहने कुरै भएन। तिनका दिमागमा गाँजामा प्रतिबन्ध लगाएर आफ्ना युवालाई यताको दुनियाँबाट फिर्ता गर्ने उपाय फुर्यो। १९७० को दशकतिर पश्चिमा मुलुकहरू बर्सेनि एक झोला डलर दिँदै आफ्ना प्रतिनिधि नेपाल पठाउँदै गाँजा प्रतिबन्ध गर्न दबाब दिन थाले।'
हाम्रा दिमागमा गाँजाबाट सम्पन्न बन्न सकिन्छ भन्ने फुरेन। न कुनै अध्ययन, न विश्लेषण। नेपालको गाँजा दबाबका भरमा प्रतिबन्धको शिकार भयो। जानाजानी आफ्नो परम्परा, संस्कृति र दैनिक जीवनमा उपयोगी निःशुल्क पाइने बहुउपयोगी प्राकृतिक गाँजामाथि जाइलाग्ने पाखण्डी काम गरेर प्रतिबन्ध गर्न हौसियौं जस्तो लाग्छ बालाई।
हामीले बिर्सियौं- श्रीलंकामा 'विरापति' अर्थात् वनस्पतिहरूको राजा भनिने गाँजा बहुउपयोगी वनस्पति हो।
हामी सम्झिएनौं- दोस्रो विश्वयुद्धमा झाडापखालाले त्राहीत्राही भएका बेला गाँजा मिश्रित औषधिले लाखौं मानिसलाई बचाएको थियो।
बाका जमानाका मानिसलाई के थाहा? बालाई के थाहा? गाँजा एसिया बाटै युरोप हुँदै अमेरिकासम्म पुगेको हो भन्ने। खेती गरिएको विश्वको सबभन्दा पुरानो वनस्पति गाँजा दस हजार वर्ष पहिले चीन र मंगोलियाबाट सुरू भएको तर्क वैज्ञानिकहरूको छ। पछि एसियाबाट युरोप हुँदै निकैपछि सत्रौं शताब्दीको सुरूतिर मेक्सिकोबाट आप्रवासीहरूले अमेरिका पुर्याएका हुन्।
बालाई सन् १९०० देखि १९३० को आर्थिक मन्दी अघिसम्म पश्चिमाहरूले गाँजाबाट बनेका अथाह औषधि बेचे पनि कसैले भनेका थिएनन्। यता प्रतिबन्ध लगाएपछि अमेरिकाका डिपार्टमेन्टल स्टोरहरूमा गाँजाजन्य पदार्थहरू त्यति बेलै सहजै पाइन थालिसकेको थियो भन्ने पनि थाहा थिएन।
अहिलेको पुस्ताका ब्राड पिट, लेडी गागा, माइली साइरसका कुरा नगरौं। बाभन्दा निकै अघिका शेक्सपियर। बाभन्दा अलि अघिका बब मार्ले। बाकै पुस्ताका स्टिभ जब्स र द बिटल्स गायक पल म्याककार्टने। अनि बाभन्दा पछिको पुस्ताका बाराक ओबामाजस्ता अरू पनि अमेरिकी राष्ट्रपति। यी विश्वविख्यात व्यक्तिहरू कतिपय गाँजाका पारखी थिए, कतिपय 'फ्यान'। ती सबैले गाँजाले अरू लागुऔषधजस्तो हानी गर्दैन भन्ने विचार राख्थे। यस्ता कुरा बालाई कुनै चासोको विषय थिएनन्।
अहिले बाको एउटा नाति युरोपतिरै छ। नेपाली नाम राखिएका महँगो मूल्य पर्ने गाँजाका विभिन्न मेनुहरू भेट्छ त्यहाँका रेस्टुरेन्टहरूमा। अनि गाँजाको रेसाबाट बनेका कपडा र झोलाको बन्डल बोकेर जान्छ नेपाल आएका बेला।
हजुरबालाई कहिलेकाहीँ सोध्छ, 'युरोपका भोयाज वा हावाको वेगअनुसार चल्ने पानीजहाजका लठ्ठा गाँजाकै रेसाबाट बन्थे अरे!' भन्नुस् न हजुरबा नेपालमा गाँजाको केही इतिहास छैन?'
हजुरबाको मनमा गाँठो परेर आउँछ।
अस्ति अनलाइन कल गरेका बेला हजुरबालाई भन्दै थियो, 'अनलाइनबाट बिक्री भएको पहिलो सामान गाँजाबाट बनेको झोला हो नि था'छ हजुरबा? फलानो मितिमा मेरो फलानो साथी युरोप आउँदैछ, २० थान गाँजाको रेसाबाट बनेको झोला मगाउनु छ।'
आफ्नो पालामा गाउँगाउँमा पाइने गाँजाबाट बनेका वस्तु अहिले कहाँ पाइन्छन्? थाहा छैन बालाई।
अचेल विकसित देशहरूले गाँजालाई वैधानिकता दिइरहँदा चौतारीमा बसेर बा भन्छन्, 'अनाहकमा गाँजा रोक्ने पाखण्ड गरेछौं। चाँडै रामदेवको पतञ्जली वा अरू पश्चिमा मुलुकका कम्पनीले गाँजाबाट बनाएका औषधिहरू प्रयोग गर्न सुरू गर्नेछौं। नेपाल त्यसको ठूलै बजार बन्नेछ। हामी गाँजाका आधुनिक उपभोक्ता बन्नेछौं।'
गाँजालाई त प्रतिबन्ध गर्यौं, गर्यौं। लोकल मदिराका प्याला मिल्कायौं ब्रान्डिङ गर्न नसकेर। विदेशी ब्रान्डेड मदिराका सर्लक्क परेका बोतलमा लोभिएका छौं। स्वदेशी छ्याङका भाँडालाई लात हान्यौं। त्यही छ्याङ नाम सापटी लिएर नेपाललाई लक्षित गरी कोरियाले बनाएको छ्याङ बियरलाई खन्खन्ती पैसा छरिरहेका छौं।
बाका गाउँतिर पोकाको मदिरा कमसल भनेर प्रहरीले नष्ट गर्छन् तर त्यही गुणस्तरको रक्सी जापानबाट आयात भइरहेको छ। बालाई यी सब दुनियाँदारी थाहै छैन। किनकी बा ग्रामीण र मौलिक जीवन बाँच्छन्।
तर बालाई यत्ति था'छ, हाम्रा मौलिकता हराउँदै गएका छन्, गाँजाजस्तै। अनि हामी पाखण्डमै रमाइरहेछौं।
(रचनाकार नेपाल सरकारका उपसचिव हुन्।)