कविता
चुनावताका सहर डुल्दा;
सहरको हर कुनामा झण्डै झण्डा थियो।
अनि सहरको एक कुनामा एउटा माग्ने;
झण्डाको टुक्रा टाक्री गाँस्दै,
लाज ढाक्ने सुराल सिउँदै थियो।
सहरको भित्ता भित्तामा; अनेकौं चर्चा गरिएका पर्चा थिए।
अनि सहरको एक भित्तामा त्यही माग्नेको छोरा ;
सानो अबोध बालक पर्चाको पछाडि;
सिसाकलम फुटेर निस्केको लिडले,
'कपुरी क' लेख्न सिक्दै थियो।
फेरि त्यही माग्नेको र उसको छोराको
भविष्य राम्रो पार्नुछ भन्दै;
माग्नेको दैलोमा नि अनेकौ माग्नेहरू आए।
जिन्दगीमा पहिलोपल्ट, त्यो माग्नेलाई;
आफू नि धनी भए झैं लाग्यो।
चुनाव त त्यो माग्नेलाई आयो;
झण्डै झण्डाले बनेको रंगीचंगी लुगा पायो।
कुन दिनमा कुन पार्टीको गर्दै,
तीन छाक मासुभात खायो।
चुलो सल्काउने मट्टितेल नपाएनी,
मन सल्काउने भट्टितेल २-४ लिटर नै पायो
हो चुनाव त त्यो माग्नेलाई आयो।
चुनाव आयो गयो।
उसको केवल एकमात्र गुनासो थियो;
दु:ख दिने दसैं वर्षे पिच्छे आउँछ
तर खुसी दिने चुनाव ५ वर्षमा बल्लतल्ल।
यदि वर्षे पिच्छे चुनाव आउने हो र
दसैं ५ वर्षमा एकपल्ट आउने हो भने;
उसलाई आफू नी धनी हुन्थे झैं लाग्यो।
हो चुनाव त माग्नेहरूलाई आयो।
एउटा माग्ने चुनाव होइन्जेल धनी भयो;
चुनावताका माग्ने कामबाट विश्राम पायो।
चुनाव सक्किएसी गरिब भयो;
बल्ल फेरि माग्ने काममा आयो।
अर्को माग्ने चुनावताका गरिब थियो;
दिनरात टोल टोलमा माग्न धायो।
चुनाव सकिए सँगै ऊ धनी हुँदैथ्यो;
चुनाव सकिएर बल्ल आनन्द र विश्राम पायो।
हो चुनाव माग्नेहरूको लागि नै आयो।