विवेकले पिपलडाँडामा छोडेर हिँडेपछि मैले फेरि अर्को पटक फुटेको शिशाजस्तै चकनाचुर भएको महशुस गरें। स्तब्ध हुँदै कोठामा आएँ, ओछ्यानमा घोप्टो परेर धित मरून्जेल रोएँ। 
भिजेका आँखा ओभाएकै थिएनन्, झ्यालबाट हेरें। बाहिर टन्टलापुर घाम लागेको छ,  छिनछिनमा हुरी जोडले चलिरहेको छ। ठाउँ-ठाउँमा सोली पर्दै धुलो र  कागजका टुक्राहरू बतासिएका छन्। टिनको छानो तातेर भित्र बसी नसक्नु छ। बाहिर एकतमासको चकमन्नता छ तर मनभित्र तर्कनाको आँधी  चलेको छ।  
आकाशमा चराहरू तीव्र गतिले उडिरहेका छन्, मानौं ती कुनै डरलाग्दो क्षितिजबाट नाघेर अर्को कुनै शान्त स्थानतर्फ हानिँदै छन्। 
मनमनै सोचेँ, यसैगरी भाग्न पाए हुन्थ्यो नि यो पीडै पीडाको भूमरीजस्तो जिन्दगीसँग पनि!
मन ज्यादै अस्थिर छ र  म निकै दुविधामा छु- म के गरौं? यो जिन्दगीको भारीलाई यतै कतै बिसाइदिऊँ कि यसैगरी अझै यसलाई घिसार्दै अघि बढौं? सोच्दा सोच्दै सोच्नै नसक्ने भएँ। 
लामो सास फेरेँ। केटाकेटी उमेरदेखिका सम्झना झलझली याद आए। मैले भोगेको त्यो जर्जर दरिद्रता, निरिह बालापन र ज्यालाबनीमा च्यापिएको लाचार यौवनका सम्झनाहरूले आँखा टिलपिल भए। पटक पटक  आत्महत्याको संघारबाट फर्केको मन आज पनि उसैगरी आक्रान्त छ। 
सम्झिँदा पनि उदेक लाग्छ! दमका रोगी आमा र बुबा,  दुवै जनाको महंगो औषधि खर्च र दैनिक छाक टार्नेसम्मको समस्या! परिबन्दको जाँतोमा कसरी कलिलैमा पिसिँदो रहेछ जीवन! 
जिन्दगीका ती ठाडा भिरका नमीठा सम्झनामा फिँजारिँदै गएँ। ठेस लागेर छिया छिया भएका औंला र ठेला उठ्दै फुटेका पैंतालाहरूलाई मनमनै सुमसुम्याँए। चरम दरिद्रतामा पनि नडगमगाएका संयमप्रति आफैंलाई विश्वास लागेन।
एसइई पास हुँदाका खुसीका पल पनि फगत कल्पनामात्रै त थिएनन् जस्तो पनि लाग्यो!
फेरि सोचें, कति पीडा दिँदा रहेछन् सपनाहरूले पनि! टुक्रा-टुक्रा भएका ती निरिह सपनाहरूलाई फेरि जोड्न प्रयास गरेँ। तर किन जोडिन्थे र?  शिशाजस्तै फुटेका सपनाहरू! मलाई मेरै ती निर्दोष सपनाहरूको माया लागेर आयो। आँखाहरू निथ्रुक्कै भए। आँसु पुछेर आफूले हिँडेका तिनै बाटातर्फ  फर्किएर हेरेँ।   
एसइई पास भएकै दिन म कुमार श्रेष्ठ दाजुलाई भेटेको कुराको सम्झना आयो। उहाँ हाम्रै गाउँकै हेल्थपोस्टमा काम गर्नु हुन्थ्यो। 
हाम्रो परिवारलाई माया गर्नु हुन्थ्यो। त्यो दिन उहाँले जागिर मिलाइदिने बचन दिनुभयो।
म फुरूंग पर्दै घर आएँ र त्यही कुरा आमाबाबालाई सुनाएँ। गरिबीले चाउरी परेका ती वृद्ध अनुहारमा खुसीका चम्किला रंग सल्बलाए। मैले पनि ती कलिला सपनामा सुन्दर कल्पनाको जलप लगाएँ।
केही दिनपछि कुमार दाइ घरमै आउनुभयो। आमा र बुवा दुवै जनालाई सँगै राखेर भन्नुभयो, ‘निर्मलाका  लागि मैले सहरमा जागिरको कुरा गरेको थिएँ। अन्तर्वार्ताका लागि  बोला’को छ। के गर्ने साइँला बा ?’ 
उहाँका कुराहरू सुनेर केहीबेर सन्नाटा छायो। हामी सबै जना खुसी र आश्चर्यले मुखामुख गर्यौं। भरे सल्लाह गरेर खबर गर्ने कुरा भयो। 
खाना खाएपछि हामीले घर सल्लाह गर्यौं। परिवारको पेट पाल्ने एकमात्रै उपाय मेरो जागिरमात्रै देखियो। अन्त्यमा म जागिरको लागि सदरमुकाम जाने भएँ। त्यही कुरा मैले कुमार दाइलाई जानकारी गराएँ।  
भोलिपल्ट बिहानै मलाई लिन कुमार दाइ घरैमा आउनुभयो। नयाँ कुर्ता सुरूवाल लगाएर तुरून्तै  मझेरीमा झरेँ। पूजाको थाली लिएर आमा ढोकैमा बस्नुभएको रहेछ। 
मलाई साइतको टीका लगाइदिनुभयो र आशिष दिँदै भन्नुभयो  ‘मनले आँटेको पुगोस् छोरी!’
बिहानैदेखि आमाका आँखा जलमग्न थिए, म हिँड्ने बेलामा आमाको बोली पनि अवरूद्ध भयो, बुवा पनि टोलाइरहनु भयो। मुटुमा गाँठो पर्यो र आमालाई कसिलो अंगोलोमा बाँधें र आँसु पुछ्दै बाटो लागें। कुमार दाइले देखाएकै सपनालाई पछ्याउँदै एउटा अनिश्चितता होमिएँ।
दाइकै मोटरसाइकलमा बसेर हुँकियौं। पछाडि फर्कंदै मैले आफूले खेलेको डाँडापाखा र बोट बिरूवालाई  आत्मीयताले स्पर्श गर्दै गएँ। लाकुरी डाँडा पुगेपछि खाजा खान रोकियौं।  त्यहीबेला दाइले भन्नुभयो  ‘निर्मला हाकिम साबलाई चित्त बुझ्ने गरी कुरा गर्यौ भने जागिर आजै पक्का हुन्छ बुझ्यौ?’
उत्साहित हुँदै मैले भनेँ,‘हुन्छ दाइ, जानेबुझेसम्म राम्रो गर्छु नि’।
करिब ४ बजेतिर हामी जिल्ला कार्यालय पुग्यौं। कार्यालय प्रमुख विष्णुहरि थापालाई भेट्यौं।
कुमार दायले मेरो सामान्य परिचय गराउनुभयो। 
चिया पिउँदै उहाँहरूबीच केहीबेर कुराकानी भए। चिया पिएपछि हाकिम साहेबले भन्नुभयो।
‘कुमारजी! थाक्नुभएको होला आराम गर्नुस्। भोलि म उहाँको अन्तर्वार्ता लिन्छु।’
एक त हाकिम साबको ओजस्वी व्यक्तित्व, त्यसमाथि अन्तर्वार्ताको कुरा सुनेर म निकै नर्भस भइसकेकी थिएँ  तै पनि आँट बटुलेर उहाँलाई नमस्ते गरेँ। 
हिँड्ने बेलामा कुमार दाइले पुन: याचनापूर्ण भावले भन्नुभयो, ‘जागिर चाहिँ जसरी पनि दिनुपऱ्यो हजुर, सारै दु:ख पाएकी छिन् निर्मलाले।’
कुरा सुनेर उहाँ मुस्कुराउनु भयो। हामी त्यहाँबाट निस्कियौं, साँझ परिसकेको थियो,  हामी दुबै जना उहाँकै आफन्तको घरमा बस्यौं। 
भोलिपल्ट बिहान ११ बजेतिर  अन्तर्वार्ताको दिन गएँ। बिहानदेखि ढुकढुकी बढिरहेको थियो। हाकिमको कोठामा पस्ने बेलामा त हात खुट्टै लुला भए। उहाँले मलाई शिरदेखि पाउसम्म हेर्नुभयो। केही सामान्य कुराहरूमात्रै सोध्नुभयो र अन्तमा भन्नुभयो- ‘यो अस्पताल हो, यहाँ रातबिरात पनि आउनुपर्ने हुन्छ, तपाईं तयार हुनुहुन्छ भने भोलिदेखि नै काममा आउनुस्’
यति सजिलै जागिर पाउँलाजस्तो लागेको लागेकै थिएन। कुरा सुनेर  उहाँलाई आश्चर्यपूर्ण भावले हेरेँ। त्यसपछि  उहाँले फेरि भन्नुभयो-
‘भोलिदेखि काममा आउनु होला’
मैले ‘हुन्छ’ भनेँ र आफ्ना अनुभूति नलुकाई भनेँ- ‘सर! मैले जीवनमा यति धेरै खुसी त कहिल्यै पाएको थिइनँ!’
उहाँ मुस्कुराउनुभयो र  म हत्तपत्त नमस्कार गरेर बाहिर निस्कें। खुसीको कुनै सीमाना रहेन, कुन बेला आमालाई सुनाऊँजस्तो भयो र तुरून्तै टेलिफोन गरिहालेँ। सुनेर आमा पनि दंग पर्नुभयो। 
कुमार दाइले त्यही दिन नै बस्ने कोठा पनि मिलाइदिनुभयो। खुसीले मेरो भुइँमा खुट्टै थिएन, कुमार दाइकै  मोटरसाइकलमा सरसामान ल्याउन पुन: घर फर्कें। 
घरमा आमाले घडामा थाप्नु भएको रहेछ, पुग्ना साथ मलाई माला लगाइदिनुभयो र आँखाका खुसीका  आँसु पुछ्दै भन्नुभयो- भगवानले सबैलाई हेर्छन् भन्थे! के हेर्लान् र जस्तो लाग्थ्यो! साँच्चि नै हेर्दा रहेछन् छोरी।
बुबाका  आँखा पनि रसिला थिए, त्यो देखेर मेरो मनमा पनि भक्कानो पर्यो। हामी तिनै जना भावविभोर भयौं। भोग्दै आएको चरम गरिबीलाई परास्त गरेजस्तो लाग्यो, दिनको एक छाक पानीरोटीमात्रै खाएर बिताएका ती कष्टकर दिनको सम्झना आयो। 
भोलिपल्ट घरबाट हिँड्ने बेलामा आमाले कच्याक कुचुक पारेर थैलीमा साचिराखेको केही पुराना नोट दिनुभयो, दहीको सगुन खुवाउनु भयो र  आँखाभरि आँसु पारर भन्नुभयो- ‘हामी डाँडा माथिका जून हौं, सधैं तेरै बाटो हेरेर बस्छौं, सहरमा पुगेपछि माया नमारेस् है छोरी' मैले कही पनि बोल्न सकिनँ। खिन्न भएर बाटो लागें।  
पर भन्ज्याङ्गमा पुगेपछि घरतिर फर्केर हेरें। बुबाआमा दुवै जना पर्खालको डिलमा बसेर मलाई नै हेरिरहनुभएको रहेछ र मैले पनि दुखी मनले बिदाईको हात हल्लाएँ।बेलुकी पख सदरमुकाम पुगें। कोठा नयाँ थियो। तत्कालजति हुन सक्थ्यो त्यति व्यवस्थापन गरेर सुतेँ।रातभरि अफिस र कामको बारेका कौतुहलता र बेचैनीले निदाउन सकिनँ। बुबा आमाको सम्झनाले पनि उस्तै गरी सतायो।
भोलिपल्ट अफिस गएँ। मलाई दर्ता चलानीमा राखियो, काम सजिलै थियो। हाकिम साहब अभिभावकजस्तै लाग्यो। घरमा पनि पैसा पठाउन थालेँ। एकाएक जिन्दगी सुन्दर लाग्न थाल्यो। 
सुखद तरिकाले दिनहरू बित्दै थिए। एक दिन सरले अफिस टाइमपछि कार्यकक्षमा बोलाउनुभयो। म भित्र गएँ, हातले सोफातिर इसारा गर्नुभयो, म केही नभनि बसें। उहाँले मुस्कुराउँदै भन्नुभयो-तिमी सारै सुन्दर छौ निर्मला।
उहाँको कुरा सुनेर मनमा चिसो पस्यो तर केही पनि भन्न सकिनँ। एकाएक उहाँ आफ्नो कुर्सीबाट उठ्नुभयो। सोफामा आएर मैसँग टाँसिएर बस्नुभयो। मेरो हात समाउनुभयो। मैले झड्कालेर आफ्नो हात छुटाएँ। उहाँ फेरि आफ्नै कुर्सीमा गएर बस्नुभयो र भन्नुभयो ‘ल आज ढिलो भयो भोलि कुरा गरौंला’
म चुपचाप  उहाँको कार्यक्षबाट बाहिर आएँ र रन्थनिँदै  आफ्नै कोठामा पुगें। 
घृणा र आक्रोशले मेरो संयम डगमगायो, ओछ्यानमा पल्टेर एक्लै उसलाई गाली गर्न थालेँ। 
त्यही बेला आमाको फोन आयो र उहाँले आत्तिँदै भन्नुभयो,‘नानी! बुवा सिकिस्तै हुनुहुन्छ। अहिले अस्पतालमा लगेका छौं तैंले पठा’को पैसा सबै सकियो। डिपोजिट राख्न नसके बिरामी घर लैजानू भन्छ, आपत पर्यो छोरी!’
हाकिमको त्यो दुर्व्यवहार, बुवाको चिन्ताजनक अवस्था र आमाको छटपटी! भाग्यको त्यो परिबन्द देखेर के गर्ने, के नगर्ने सोच्नै सकिनँ। लामो सास फेर्दै आमालाई आश्वास्त पारें ‘चिन्ता नगर्नुस् आमा म पैसा पठाउँछु। बुवालाई केही हुँदैन।’
मनिब्याग खोलेर हेरें, चार सय रुपैयाँ मात्र रहेछ, अब अरू पैसा कहाँबाट जुटाऊँ! जिन्दगीको निर्मम परीक्षा देखेर खुब रोएँ। 
केही सीप लागेन र फेरि हाकिमसँग फोनमा याचना गरेँ। उहाँले तत्कालै ५० हजार रुपैयाँ पठाइदिनुभयो। त्यही पैसाले बुवाको उपचार हुँदै गयो। बुवाको अस्पताल बसाइँ लम्बिँदै गयो र पैसाको समस्या पनि दिनदिनै झन जटिल हुँदै गयो। अरू कुनै उपाय भएन हाकिमसँग पटक-पटक सापटी लिँदै गएँ।
त्यसपछिका हरेक दिन झनझन कठिन हुँदै आए। सकी-नसकी तिनलाई झेल्दै गएँ। एक दिन साँझ हाकिम मदिराको नशामा लठ्ठ परेर मेरो डेरामा आएँ। कोठाको प्लाष्टिकको कुर्सीमा बसेर लरबराउँदै भने - हेर मैले तिमीलाई जागिर दिएँ, जुनबेला जति भन्यौ त्यति नै, पैसा पनि दिँदै आएको छु। तिमीले चाहिँ मलाई केही सहयोग गर्दिनौ निर्मला? 
उसको कलुषित मनसायको मैले परख गरिसेकेको थिएँ। तै पनि केही नबुझे झैं गरी भनें 
‘यो कलिलो उमेरमा म दु:ख गरेर जेनतेन बाबु-आमा पालिरहेको दुखी केटीले के सहयोग गर्न सक्छु र सर?’
मेरो कुराले उसमा केही असर गरेन, उल्टै बाघले कुकुर झम्टे झैं गरी मलाई झम्टियो। 
‘किन सक्दैनौ निर्मला? म पनि त यहाँ एक्लै छु! के तिमीलाई मेरो माया लाग्दैन?’
मैले केही बोल्नै पाइनँ। फुत्किने निकै प्रयास गरेँ तर उसले छोडेन। चिच्याऊँ कि भनेर पनि सोचेँ, तर मृत्युशय्याको बाबु र आमाको निरिह अनुहारले मुखै टालिदियो। त्यसपछि एकै छिनमा म उसको वासनाको आगोमा जलेर खरानी भएँ। भोकको ज्वालामा मेरो अस्मिता भष्म भयो।
त्यसपछिका दिनहरूमा पनि उसले पटक-पटक बलात्कार गर्दै गयो र म चुपचाप उसको अत्याचार सहदै गएँ। कयौं पटक आत्महत्याको सोच पनि आयो तर फेरि उनै बाबुका आमाको बिचल्ली हुने चिन्ताले मर्न सकिनँ।
दिनहरू झन् झन् कष्टकर हुँदै गए। उसको ऋणको दलदलमा भासिँदै गएँ। कुनै सपना बाँकी रहेन। म केवल पैसा कमाउने मेसिनमात्र भएँ। आफ्नै जिन्दगी देखेर घृणा लाग्न थाल्यो।   
दिन बित्दै थिए। अन्धकारको जुनकिरीजस्तै गरी आफ्नै सहकर्मी विवेक मेरो कार्यक्षमा आउने जाने र कुरा गर्ने गर्न थाल्यो। कुरै कुरामा मलाई एक दिन उसले  भन्यो-
‘निर्मलाजी के भ’को छ तपाईंलाई? सधैंभरी मलिनो देख्छु! राम्ररी कुरा पनि गर्नु हुन्न। केही समस्या भए भन्नुस् है! म पनि तपाईंको साथी नै हुँ!’
यति मायालु शब्दहरू नसुनेको धेरै भैसकेको थियो। उसको त्यति कुराले पनि मेरो मन पग्लियो र आँखाबाट आँसुको भल बगे। त्यो देखेर ऊ पनि भावुक भयो र  मलाई धेरै कुरा सोध्यो र मैले उसलाई बिस्तारै बिस्तारै आफ्ना संघर्षका कथा सुनाएँ। तर हाकिमले ममाथि गर्ने गरेको अत्याचारको बारेमा केही बताउन सकिनँ।
एक दिन अफिसमा काम थिएन र हामी नजिकैको चौरतिर लाग्यौं। हिँड्दा हिँड्दै एउटा चैते हावाको तीव्र झोका आयो, बाटाको धुलो उडाएर आँखाभरी थुपारिदियो। दुबै जनाको दृष्टि धमिलो भयो। आँखा मिच्दै अगाडि हामी बढ्यौं। चौरमा केहीबेर बसेर सामान्य कुराकानी गरेर  आफिस फर्कियौं।
दिन बित्दै जाँदा मलाई उसका प्रेमिल भावनाको अनुभूति हुन थालेको थियो। तर म भने त्यही कुरासँग डराउन थाले। सोच्थें,  जुन दिन उसले मेरो र हाकिमको सम्बन्धको बारेमा थाहा पाउने छ, त्यो दिन कसरी मैले उसको सामना गर्नु! आफ्नै भावनाहरूको अन्तरद्वन्द्वमा अक्सर मेरो चेतनाहरू धमिलो हुन्थ्यो। 
केही दिनपछि हाकिम सरूवा भएर गयो। मलाई उसको यातनाबाट मुक्ति पाएजस्तै भयो। तर केही दिनपछि नै फेरि उसले टेलिफोन गरेर विभिन्न ठाउँमा बोलाउन थाल्यो। 
कहिले जागिर खुस्काइदिन्छु भन्थ्यो, कहिले पैसा फिर्ता ले भन्थ्यो। अनेक बहानाले उसले लुट्दै गयो। म मानसिक तनावले विक्षिप्त हुँदै गए। तर कुनै न कुनै दिन त यसको समाधान होला नि भन्ने आशा मरेन।  
एक दिन विवेक र म कुरा गर्दा गर्दै अलिपरको पिपल डाँडामा पुग्यौं र रूखको छहारीमा बसेर कुरा गर्न थाल्यौं। बसन्त ऋतु सुरू भइसकेको थियो, बोट बिरूवाहरूमा नयाँ पालुवा चढ्दै थिए। मन्द मन्द शितल बतास आउथ्यो र हामी दुबैलाई स्पर्श गरेर जान्थ्यो।
घरीघरी विवेक मलाई हेर्थ्यो, म उसका आँखामा प्रेमका कलिला मुनाहरू देख्थें। प्रकृतिको त्यो मनोरम काखमा मैले केहीबेरको लागि नै भए पनि आफ्नो कहालीलाग्दो वर्तमान बिर्सेको थिएँ। हाम्रा मनका दूरी मेटिँदै थिए र भावनाका गहिराइ बढ्दै गएका थिए। 
त्यहीबेला मेरो मोबाइलमा म्यासेजको नोटिफिकेसनको आवाज आयो। 
हत्तपत्त मोबाइल उठाएर हेरेँ, म्यासेज हाकिमकै थियो। 
उसले लेखेको थियो, ‘यो शनिबार पनि सँगै रात बिताउने गरी, अस्तिकै होटलमा साँझ छ बजे आइपुग्नु’ म्यासेज देखेर म खंग्रङ्ग भएँ।
विवेकले पनि त्यो म्यासेज देख्यो। त्यसपछि एकाएक उसको मुहार रातो भयो। लामो लामो सास फेर्न थाल्यो र आँखा रसिला पारेर भन्यो-
‘तिमी हाकिमसँगको यस्तो सम्बन्ध छौ होला भन्ने मैले सोचेको थिइनँ निर्मला।’
बसेको ठाउँबाट ऊ जुरुक्क उठ्यो र फर्केर पनि नहेरी हिँड्यो। 
मैले आफ्नो सफाइमा एक शब्द पनि बताउने अवसर समेत पाइनँ। म फेरि अर्को पटक सिसाजस्तै झर्याम झुरूम्म भएँ। जिन्दगीले फेरि मलाई अर्को एउटा तमासा बनायो। संसारै अँध्यारो जस्तो लाग्यो र कतै पनि नहेरी सरासर कोठामा गएँ।
***
सोच्दा सोच्दै टाउको फुट्लाजस्तो भयो। बाथरूममा गएँ। हात मुख धोएँ र फेरि कौसीमा  गएर बसें। दिन ढलिसकेको थियो, क्षितिजबाट सूर्य हराइसकेको थियो। 
अकस्मात फोनको घण्टी बज्यो।
आमाले गर्नुभएको रहेछ, उहाँले गुनासो गर्दै भन्नुभयो, ‘के भयो नानी तँलाई! फोन पनि गर्दिनस्, घर पनि आउँदिनस्, हामीलाई त बिर्सिस कि के हो छोरी’
मैले आमालाई भनें, ‘होइन नि आमा, म त सधैं बाबु आमाकै काखमा बस्न चाहन्थें, तर मेरो भाग्यमा त्यो सुख लेखेकै रहेनछ। कर्मले सधैं सधैं लखेटी रह्यो, मैले एक सर्को सुखको सास पनि कहिले फर्ने पाएँ र आमा? आफू बाँच्न र अरूलाई पनि बचाउनकै लागि त सधैं मरिरहे नि!’
आमासँग कुरा गर्दागर्दै सायद मोबाइलको टावर गयो र आमाको आवाज  बुझिन छोड्यो। 
मलाई कुरा गर्न पनि मन लागेन र मैले फोन डिस्नेक्ट गरिदिएँ। अनि फेरि कोठामा आएर पल्टिएँ।
जिन्दगीलाई पुन: पछाडि फर्केर हेरें, घरी घरी जिन्दगी फगत मृगतृष्णा जस्तै लाग्यो। कहिले जलिसकेको चुरोटको ठुटोजस्तै लाग्यो, फेरि कहिले लासमा चढाएको फूलजस्तै लाग्यो।
रात छिप्पिसकेको थियो, ओछ्याउन मै कोल्टे फेरिरहें। निद्रा कोसौ टाढा थियो र चेतना धमिलो थियो। धेरै बेरसम्म आफूभित्र आफैंलाई खोजें तर कतै भेटिनँ। 
घडी हेरें रातको १२ बजिसकेछ, आमा र बुवाको फोटो भित्ताबाट झिकेर छातीमा लगाएँ। धेरै अगाडिदेखि किनेर राखेको मेटासिडको बोतल समातें र फेरि बाहिर निस्कें।
रात निष्पट्ट थियो, आकाशमा मेघ गर्जिंदै थियो, पिलपिलाउँदो सडक बत्तीको उज्यालोमा म बगैंचातिर जाँदै थिएँ, घरभेटीको जर्मन सेफर्ड कुकुरले च्यापै समातेर मलाई चाट्न थाल्यो, त्यसलाई धित मर्ने गरी माया गरें।
विस्तारै पारिजातको रूखमुनि पुगें। कयौं दिनदेखि भुइँमा झेरर कुहिएका ती फूलहरूलाई हेरें, झर्दै गरेका फूलहरूलाई हत्केलामा थापें, तिनलाई भावुकताले स्पर्श गरें, सोचें, कति समान रहेछन हाम्रा नियतिहरू !
मनमनै भनें, ‘अब मेरो पनि त झर्ने बेला भयो नि ! आखिर एउटी संघर्षशील नारीका भावना पनि तिमीहरूका जस्तै त हुँदो रहेछ नि! न फुलेको देखिन्छ न झरेको देखिन्छ यो पारिजातको फूल। मलाई पनि कहाँ बाँच्न दियो र पापीले।’
लामो स्वास फेरेर  आकासतिर हेरें। फाट्फुट्ट ताराहरू पिलपिलाई रहेछन्। मजस्तै वेदनाले रूँदै गरेका ती तारालाई फकाउँदै भनें, म पनि त आउँदैछु त्यही तिमीहरूलाई भेट्न, किन दुखी हुन्छौ तिमीहरू? काँपेका हातले मेटासिडको बोतलको बिर्को खोलें, त्यही बेला पछाडिबाट कसैले  हातको बोतल खोस्यो।
फर्केर हेरें मेरो अफिसको घर्रामा राखेको मेरो व्यक्तिगत डायरी हातमा लिएर जलमग्न आँखाले विवेकले मलाई हेर्दै थियो, उसले विस्तारै भन्यो-
‘कसरी चुपचाप सह्यौ यत्रो अन्याय! हिँड निर्मला अब हामी कानुनको सहारा लिऊँ’ उसको कुरा सुनेर मरिसकेको मेरो समवेदना फर्किएर आयो। आफूलाई सम्हाल्न सकिनँ र उसलाई गम्लंग अंगालो हालेर डाको छोडेर रोएँ!
***