काल, पल, क्षण, बेला
मलाई जे भनेर बोलाए पनि हुन्छ
हुन त कसैले बोलाउँदैमा गइहाल्ने र मौनतालाई अपनाउँदा
आफै अचल हुने पनि होइन म
म त अनन्त छु, निराकार छु, अखण्ड छु
र परिवर्तनशील पनि छु
म आउँदा कसैको मुहारमा हाँसो छाउँछ त
कसैको मुहारमा पीडा र कुण्ठाले भरिएका आँसुका कण बग्छन
कोही लाभमा हर्षोल्लासका भावसहित उफ्रन्छन् त
कोही क्लेशमा चुर्लुम्म डुबी स्तब्ध हुन बाध्य छन्
यसमा मरो के दोष?
तर पनि लाचार बनी
कोही मलाई गाली गर्छन् त
कोही मलाई सहराउँछन् पनि
समाज विभेदी होला
मानिसमा मानवता हराई
ऊ आफ्नैलाई पराई ठानी भेद गर्ला
तर म निष्पक्ष छु, निश्चल छु
म कहिल्यै विभेदी बनेकै छैन
मानिस भने मलाई विभेदी नै भन्छ
गाली गलौज गर्छ
भाग्यलाई मसँग परस्पर गराएर तथानाम भन्छ
तर पनि म शान्त नै छु
कठै! आफ्नो कर्म भुली मलाई निन्दा गरी
बेकाममा पीडाबोध गरेकोमा उसको अज्ञानतालाई
नियाल्दै म मूक दर्शक बनी आनन्द लुटीरहेको छु।
मलाई शक्तिशाली र सामर्थवान् ठान्नेहरु
मलाई कमजोर र लाचार भन्नेहरु
एउटा कुरा बुझीराख कि
म निष्पक्ष छु, निष्चल छु
न त शक्तिशाली नै छु न त कमजोर नै छु
म त केवल तटस्थ छु र रहीरहने छु।
कमजोरी र सामर्थ त मानिसमै लुकेको हुन्छ
त्यही कमजोरी र सामर्थ नै दुःखसुखको कारक बनेको हुन्छ
यो कुरा कहिले बुझ्ने?
म तिमीहरुको दुःखसुखको कारण हुँदै होइन
पुष्टि गर्ने दुष्प्रयत्न कहिल्यै नगर्नु
बरु आफ्नो कर्म सपार्नु!
मानवप्रति मेरो असन्तुष्टि होइन
गुनासो पनि केही छैन
बस् यति मात्र हो कि मेरो निन्दा नगर
मेरो भर पनि नपर
आफ्नो जीवनरेखा आफ्नै पौरखले कोर
म लोककल्याणका निम्ति यो सब भन्दै छु
किनकि म अनन्त, निराकार र अखण्ड समय बोल्दै छु।