दुई दिने विदा,
राम्ररी हेर्नै नपाई,
हुन्छ कि विदा?
बुझौं किन दिए होलान्
यी दुई दिने विदा?
विश्वका ११६ देशमा,
बिदा यसै लयमा बिताईरहेका छन्।
निजी,सरकारी सबै संस्था,
दुई दिन बन्द गर्दा रहेछन्
तर तिनका सार्वजनिक सेवाहरू,
सदैव व्यवस्थित चल्दा रहेछन्
यसपालि खुसी छौं!
हाम्रो सरकारले पनि,
विश्वसँग लय मिलाउँदै यो बिदा दिएछ।
तर त्यहाँ र यहाँको उद्धेश्य फरक छ।
त्यहाँ कर्मचारी घुमौं भनि दिए,
यहाँ कहीँ नघुमौं इन्धन बचाउ भनी दिए।
त्यहाँ बिदामा घरको कामसँगै घुमी रमाउने,
आफ्ना सम्बन्ध बचाउने,
पर्यटनलाई पनि सघाउँदै छन्।
यहाँ बिदामा घरमै खाउ,
कतै नजाऊ,
घरभित्रै रमाऊ भन्ने आसय छ।
सरकारी सेवक त खुसी हुने नै भए,
निजी क्षेत्र अझै अन्योलमा छन् क्यारे,
बुझ्दैछन् त्यसको लाभ हानी बारे ।
हो, सार्वजनिक सेवा, प्रदायकको अभ्यास पुग्दैन।
त्यसैमा त सुधार गर्नुपर्नेछ।
दुई दिने व्यवस्था नराम्रो हो भने,
विश्व नजान्ने, हामी जान्ने होइन।
हामीले इन्धनको मात्र खर्च हेर्यौं ,
अड्डा सञ्चालनको खर्च खै?
पर्यावरण खर्च खै?
पारिवारिक सम्बन्धहरूको खर्च खै?
कुनै पनि देशले सुखी,समृद्ध जनता,
सबल र दिगो अर्थतन्त्र नै चाहन्छ।
हाम्रा बिदाहरुको व्यवस्थापन,
समय सापेक्ष हुनुपर्ने नै छन्,
अति महत्वपूर्ण पर्वबाहेक,
विश्व समाजको लय विधिमा अपनाउनु पर्नेछ।
मानव संसाधनको यथोचित व्यवस्थापन नै,
राष्ट्र समृद्धिको मूलमन्त्र हो,
हुनत,जान्नेलाई श्रीखण्ड ,
नजान्नेलाई खुर्पाको बिड हो।