धुमिलिएको छ आकाश
घामको किरण बिनाको
हावाहुरीसँग बोटबिरुवा
पौठेजोरी खेल्दै थिए
सुनसान थियो सहर
दिउँसै चकमन्न थियो
डाक्टरी भाषामा भन्नुपर्दा
सहर कोमामा थियो
तर अकस्मात्
सहर बिउझँदै आयो
गोधुँली किरण छर्दै आयो
दिउँसै रात परेको सहर
रात्रीमा पनि जाग्राम हुँदै आयो
एउटा आशाको किरण बोकेर ल्यायो
हिजो सहरले भुइँका सपना सुन्दैनथ्यो
पीडा, वेदना र दु:खले आक्रान्त
भुइँमान्छेको रोदन सुन्दैनथ्यो
अभाव र गरिवीलाई पुछ्दैनथ्यो
कठोर थियो सहर
अजम्बरी सपनाहरूको चाङ थियो सहर
तर अचानक सहर जागेको छ
पीडा, वेदना र दु:खमा आशाको सञ्चार
भर्नलाई सहर जागेको छ
आज सहरले एकाएक दम्भ र घमण्डलाई
परास्त गरेको छ
रातमा पनि सहर जागेको छ
श्रमिकका आँसु पुछ्नका लागि
आज सहर एकाएक जागेको छ
सुकिलामुकिला मात्र चिन्ने सहर
काकाकुल जनतालाई नचिन्ने सहर
आज एकाएक जागेको छ
सहरमा एकाएक वर्षादी आयो
फोहोरमैला सबै बगाएर गयो
चराचुरुङ्गीहरूको चिरबिर-चिरबिर
आवाजले मदहोस बनायो
सहरलाई सहर भन्नलायक बनायो
आशा गरौँ अब सहर सधैँ जाग्राम बस्नेछ
सबै तह र तप्कालाई चिन्नलायक बन्नेछ
सबै तह र तप्कालाई चिन्नलायक बन्नेछ।