ढुंगा खोज्दा देउता भेटेजस्तै ऊसँग मेरो भेट भएको  थियो।
हाम्रो पहिलो भेट सिभिल हस्पिटलनजिकैको एउटा चिया पसलमा भएको थियो। 
ऊ कफी पिउँदै, मोबाइल चलाइरहेकी थिई। 
कालो लेदरको ज्याकेट, बुट र हल्का कपाल कर्ली थियो उसको।  हेर्दा निकै सुन्दर थिई। आकर्षक जिउडाल, कालो ठूलो आँखा थियो उसको। बिस्तारै म पनि केही बहाना पारेर त्यो पसलमा गएँ र उसैको छेउमा बसेँ।
‘आन्टी एउटा कफी बनाउनु है त’, आन्टीले जवाफ फर्काउनु भयो- हस हुन्छ।
‘मिल्क कफी ओके हुन्छ’ हाँस्दै उहाँले भन्नुभयो।
के कुराबाट ऊसँग बोल्ने भन्ने कुरा मनमा चलिरहेको थियो। 
‘कस्तो राम्रो वाच कुन ब्रान्ड हो?’ उसले हाँस्दै भनि- कसलाई सोध्नुभएको? 
ऊ मोबाइल चलाउनमा व्यस्त थिई। प्रश्न गर्नु नै स्वाभाविक नै थियो।
मैले हाँस्दै ‘तिमीलाई’ भनें। 
ऊ उमेरमा सानी नै थिई। त्यसैले ‘तिमी’ नै सम्बोधन गरें।
उसले भनि ‘यो मि ब्रान्डको वाच हो। किन तपाईं नि किन्ने हो र?’ 
‘राम्रो लागेर मात्र सोधेको। अन्यथा नसोच है’ मैले भनें।
‘हुन्छ नराम्रो मान्ने कुरा के छ’ उसले जवाफ फर्काइ मुस्कानसहित। म नि हाँसे उसको मुस्कान मिलाउन।
मैले सोध्न हतार गरें, ‘नाम के हो तिम्रो?’
‘सबिना रिजाल’ उसले भनि।
‘अनि घर?’ 
‘घर बाग्लुङ’ 
‘ओ हो र!’
‘अनि पढाइ?’
‘म नर्सिङ गर्दैछु।  ॐ हेल्थ क्याम्पस काठमाडौंबाट’ 
‘ओके छ त’ मैले हाँस्दै भनें। 
उसले मेरो नाम भने सोधिन। 
मैले फेरि प्रश्न गरें ‘यहाँ बस्ने कहा हो तिम्रो?’
‘कोटेश्वर, महादेव स्थान?’
‘अनि तपाईं कहाँ बस्नु हुन्छ?’ उसले सोधी।
‘म यही शंखमूल पार्कनजिकै फुट्सलनिर छ कोठा’ भनेँ। 
‘अहिले कता जाने?’
‘म अब रूम फर्कने’ भन्दा उसले ‘अप्ठ्यारो लाग्दैन भने सँगै जाऊँ हुन्छ’ भन्दै हल्का मुस्कानसहित मलाई भनी।
‘हुन्छ, हस्’ भन्दै सटिक जवाफ दिएँ।
बाटोमा ऊ र म प्रेमी र प्रेमिका जस्तै भएर हिँड्यौं।
मलाई अलि डर र खुसी दुबै खालको अनुभव भइरहेको थियो। 
ऊ भने मलाई चिने जसरी हिँडिरहेको थिई। ऊ एउटा केटी भएर असहज मान्नुपर्ने हो तर ऊ अलि फरक रूपमा प्रस्तुत भैरहेकी थिई। साथीजस्तै बोल्दा मजाले बोल्ने उसको बानी थियो। हाँस्दा निकै क्लिएर मुस्कानसहित बोल्थी ऊ।
बाटो सकिन लागेको थियो हामी दुई जना छुटिने मोड आयो। म चाहन्न थिएँ, उबाट छुटिन। 
मलाई मन नै थिएन मैले यतिबेला सोचिरहेको थिए अलि पर उसको नजिक मेरो कोठा भएनी हुने भन्ने। मनमा नानाथरिका कुरा चलिरहेका थिए।
‘हुन्छ बाई म गएँ’ उसले भनि।
म हेरिरहें मात्र, केही बोल्न सकिनँ। 
हुन त ऊ मेरो प्रेमिका थिइन। तै पनि म निरास भएँ। मेरो  मनले उसलाई प्रेमिका सम्झिसकेछ क्यारे!
‘भोलि बिहान महादेव स्थान मन्दिर आउनु म पूजा गर्न आउँछु’ उसले हाँस्दै भनि। 
ममा खुसीको भाव पलायो। म हाँस्दै आफ्नो बाटो लागें। ऊ पनि हिँडी आफ्नो बाटो, हेरें पर पुगेर मलाई नि उसले हेर्दै थिई।
खुसी लाग्यो। प्रेम हुन्छ नै यस्तै। आफैंलाई लाज लाग्यो। ऊ प्रेमिका बन्दै छ निकै खुसी पनि थिए।
बिहान निकै चिसो थियो। मन्दिर जानु छ नुहाउनको लागि  पानी तताएँ र निस्कें मन्दिर।
सेतो सर्ट, पाइन्ट र कोट  लगाएँ र हिँडें मन्दिर।
ऊ मभन्दा पहिले आइपुगेकी थिई। 
‘किन ढिलो तपाईं’ उसले हाँस्दै भनि। 
‘सरी ढिलो भएछ।’ 
‘भन्न जरूरी छैन सरी। म बुझ्छु तपाईंलाई’ उसले सरल तरिकाले भनि।
कस्तो बुझ्ने केटी म दंगै परेँ। 
उसले टीका लगाई दिई। मेरो निधारमा अनि आशिष दिँदै भनि- राम्रो र असल मान्छे हुनू, सोचेको सबै पुगोस् हजुरलाई यही छ तपाईंलाई मेरो आशीर्वाद।
‘मैले तिमीलाई मागें भने? हुन्छ’
‘म त्यति स्पेसल छु र?’ उसले सोधि।
मैले ‘छौ’ मात्र भने अरू भन्न अलि राम्रो नहोला सोचेँ।
नजिकैको पसलमा हामीले चिया खायौं। मीठो कुरा पनि भयो। ऊ निकै चलाख थिई, बोल्दा पनि सारै कमल शब्द र मीठो बोल्थी।
हामी करिब दुई घन्टा कुरा गर्यौं। उसले आफ्नो योजना सुनाई, मैले आफ्नो।
अनि केही समयपछि हामी छुटिने बेला आयो फेरि म चाहन्नँ थिएँ ऊसँग छुट्न किनकि मैले उसलाई आफ्नो सम्झिसकेको थिएँ।
उसले के सम्झिरहेकी थिई त्यो मैले सोध्न जरूरी नै ठानिनँ। 
‘तिम्रो नम्बर देऊ न’
उसले सहजै दिई।  
अन्जान सहरमा एउटा प्रेमिका बन्दै थिई ऊ मेरो। ऊ पनि खुसी देखिन्थी हामी सारथिजस्तै हुने भयौं एक अर्काका।
त्यसपछि कोठातिर लागें। 
हामी एक अर्कासँग समय बिताएपछि खुसी भएको अनुभव गरिरहेका थियौं। फोनबाट कुरा गर्दै जाँदा फेसबुकमा पनि साथी भयौं। दिनहरू राम्ररी बित्दै थिए। हामी एक अर्काप्रति आफ्नोपन महसुस गर्न थालेका थियौं। साथमा हुँदा दु:ख सुखका कुरा हुन्थे। कहिले माया प्रेमका। जब दु:खका कुरा सेयर गर्थी म ढाडस दिन्थें। अनि सम्झाउँथें, म छु नि लाटी किन चिन्ता गरेकी’ भनेर।
ऊ मेहनती थिई अनि पढाइ पनि राम्रै थियो। ऊ बुझकी थिई अनि व्यवहारिक पनि।
हाम्रो दिनचर्या राम्ररी बितिरहेको थियो। मैले उसलाई र उसले मलाई पूर्ण रूपमा अपनाएका थियौं। मेरो केयरिङ स्वभावले उसको मन जितेको थियो। 
तर समय एकनास कहाँ चल्छ र! मान्छे कति बेला कसरी परिवर्तन हुन्छ पत्तै हुँदैन। स्वयम् नारीलाई सृष्टि गरेका ब्राह्मले त नारीको स्वभाव बुझ्न सकेका थिएनन् रे! म त फगत भुइँ मान्छे पो परें।
एकाएक सविनाको स्वभाव परिवर्तन हुँदै आयो। पहिला मसँग भेट्दा रमाउने, कुरा गर्दा आफ्नो ठान्ने उनलाई आजकल रूचि लाग्नै छाड्यो। स-साना कुरा पनि बिना कारण रिसाउन थाली।
एकदिन त अचानक उसले मलाई फेसबुकबाट बन्द गरी। हाम्रो कुरा हुने बाटो बन्द भयो। फोनमा पनि ब्लक गरिछे। डेरा पनि अन्तै सरिछे। म पागलझैं भएँ। के गर्ने कसो गर्ने मन मस्तिष्कले सोच्नै सकेन। 
एकदिन अचानक एउटा केटीको फ्रेन्ड रिक्वेस्ट आयो। काब्या गौतमको। ऊ सबिनाको कलेजको साथी। ऊ हामी एकपटक पानीपुरी खाँदा मदन भन्डारी पार्कमा छोटो भेटमा सामेल भएकी थिई। 
उसले मेसेज गरी ‘म सबिनाको साथी, चिन्नु भयो नि?’ 
‘अ  चिने भन त?’ 
‘सबिनाले बिहे गरी थाहा छ कि नाइँ?’
‘नाइँ छैन त?’ 
‘ए उसले अस्ट्रेलियाको पिआरवाला केटासँग हिजो नै  बिहे गरी। आज तपाईंलाई धोका दिई है त्यस्ले। मैले सोचेको नि थिइनँ’ उसले मलिन स्वरमा भ्वाइस मेसेज गरी। 
मैले ‘ठिकै छ। काब्या’ भनें। 
‘हुन्छु उस्ले भन्दै राखी कल। 
गएँ रूममा घन्टौंसम्म टोलाएँ। रोएँ, बसें। उसले प्रेमलाई पैसामा बिकाई! मेरो भावनालाई डलरसँग उसले सजिलै साटी र बिदा भई सधैंको लागि ऊ मबाट उसको डलरको संसारमा। मेरो भावनालाई लत्याई।
‘भावनामा खेलेकोमा बधाइ तथा विवाहको शुभकामना भनिदिनु है मेरो तर्फबाट फेसबुकमा काव्यालाई मेसेज छोड्दै मैले आफ्नो फेसबुक आइडी सधैंको लागि बन्द गरें।