मन माझी राख है, साथी,
मन माझी राख !
मिल्ने जति साथी,
सम्हाली राख !
स-साना कुराले नै,
अल्झिदो रहेछ मन,
समयमै नहेरी बल्झिन्छ सम्बन्ध,
फुक्छ भने,फुकाई राख मन।
समय समयमै भेटी,
माझी राख मन।
आजभोलिको दौडमा,
हामी केमा हरायौं,
हिजो सँगसँगै रमायौं,
आज किन बाटो बिरायौं?
छैन उत्तर, कसैसँग
मात्र भन्छौ,यो समय ले नै घुमायो।
समयलाई फेसबुक र टिकटकले नै खायो,
जहाँ आफ्नै कुरा राख्दै, देखाउँदै,मख्ख बनायो,
अरूको त लाईक मात्र हैन, कमेन्ट नै चाहिन्छ,
ग्रेट भन्दै, ईमोजी पाए पो हुरूक्क भईन्छ।
सम्बन्धको परिभाषा नै बद्लिदोँ छ,
भेटघाट हुने त परै जाओस्,
फोनमै कुरा हुनु नै ठूलो छ!
अरूकाे दुखमर्का बुझ्ने,
कसलाई पो यहाँ समय छ?
दिनहुँ थप्दैछौँ स- साना गुनासा,
बोक्दै छौँ मनभरि अझ भारी बनाई,
जबकि हिँड्नु नै छ एकदिन,
बिसाई भए भरिएका सबै भारि ।
बुझ्नुपर्ने छ,चुरो कुरो यति,
समय,काल पर्खीदैन,
मन माझ्ने मौका नि सधैँ पाईदैन।