जन्मदेखि मृत्युपर्यन्तसम्म
जोडिएका सम्बन्धहरू
वर्षौं वर्षसम्म पनि
एवम् रितले जोडिरहेका हुन्छन्।
स्वार्थले होस् वा निःस्वार्थले
विचारले होस् वा कुविचारले
रगतले होस् वा साइनोले
शिक्षाले होस् वा दिक्षाले
कर्मले होस् वा श्रमले
धर्मले होस् वा जातले
चिनजानले होस् वा भेटघाटले
सम्बन्धका त्यान्द्राहरू जोडिँदै
टुट्दै, खिइँदै अघि बढिरहेका हुन्छन्!
कुनै कुनै सम्बन्धहरू
खहरे खोलाजस्तै हुन्छन्
गुटुङटुङ गर्दै एकैचोटि
ठूलो भेल बाढी ल्याउँछन्
केही समयपछि छ्याप्पै सुक्दै जान्छन्।
कुनै कुनै सम्बन्धहरू
अविरल बगिरहने इन्द्रावतीजस्तै कोमल
निःस्वार्थ र निश्चल रूपमा
बगिरहेका हुन्छन्।
कुनै सम्बन्धहरू मौसमजस्तै हुन्छन्
वसन्त ऋतुमा बिरुवाले नयाँ पालुवा
फेरेजस्तै सम्बन्धले पनि पालुवा
फेर्दै गएका हुन्छन्
कुनै सम्बन्धहरू गृष्म ऋतुको गर्मीजस्तै
बाफिँदै गएका हुन्छन्
त्यसैगरी कुनै सम्बन्धहरू
शिशिर ऋतुजस्तै चिसो र ठन्डा हुँदै गएका हुन्छन्।
ज्यामितिय भाषामा भन्नुपर्दा
कुनै कुनै सम्बन्धका त्यान्द्राहरू
समानान्तर रेखाहरूजस्तै
एकोहोरो र एकनासले एउटै गतिमा
चलिरहेका हुन्छन्।
जिन्दगीका रथ यात्राहरूमा
सम्बन्धका त्यान्द्राहरू
यसैगरी कहिले खिइँदै, टुक्रँदै, तन्किँदै, पुनः जोडिँदै
कहिले यथास्थितिमा रुमल्लिँदै
यसै यसै गरी
जीवनपर्यन्तसम्म दौडिरहेका हुन्छन्।