हो, मलाई कुनै पछुतो छैन हाम्रो बिछोडको। किनकी हामी हाम्रो गल्तीले छुट्टिएका होइनौं, समयले छुटाएको हो हामीलाई। यही समाज, संस्कार, जात, धर्म अनि परिवार! हामी गलत थिएनौं तर बलिया पनि थिएनौं। कहिल्यै नछुट्टिने कसम खाएका हामी आखिरमा छुट्टियौं। एकअर्काका बगिरहेका आँसुहरू पुछ्दै पुछ्दै।
बिछोडपछि आफ्ना एक्स गर्लफ्रेन्ड, ब्वाइफ्रेण्डलाई तथानाम गाली गर्नेहरूदेखि हाँसो उठ्छ मलाई तर रिस उठ्दैन! प्रिया, मैले तिमीलाई हाम्रो बिछोडपछि कहिल्यै गाली गरिनँ र गर्ने पनि छैन। तिम्रो कहिल्यै नराम्रो सोचिनँ र सोच्ने पनि छैन। मलाई हाम्रो त्यति लामो सम्बन्धमा खर्च भएको समय, समर्पण अनि केही सम्पत्तिबारे कुनै गुनासो छैन। बरु त्यतिका समयसम्म तिम्रो अनन्त माया प्राप्त गरेकोमा खुसी लाग्छ, गर्व लाग्छ सम्झिँदा।
सम्बन्धभरि तिमीलाई खुसी राख्न मैले गरेका तिनै प्रयासहरू जुन अधिकांश जति तिमीलाई थाहा छ। तिमीले मलाई गरेको त्यति धेरै माया अनि तिमीले मलाई त्यति धेरै माया गर्न सक्ने बनाइदिएकोमा खुसी लाग्छ। अझै पनि मोबाइलको ग्यालरीभरि सजिएर बसेका तिम्रा तस्वीरहरू हेरेर म खुसी देखाउने गर्छु, छाती भित्रैबाट आएको मुस्कानमार्फत।
आफ्नो खुसीको लागि मरिमेटेर प्राप्त गरेको खुसीभन्दा अरुको खुसीको लागि आफ्नो खुसी त्याग्दा मिल्ने खुसी अर्कै हुने रहेछ। मैले यो कुरा तिमीबाट सिकेको हुँ। आफ्ना अनेकौं दुःख अनि पीडाहरूलाई मनभित्र राखेर आफ्नो प्रियको लागि खुसी खोज्नु योभन्दा ठूलो काम संसारमा कहाँ होला! मेरा हर सुखदुःखमा आफ्ना अड्चनहरूलाई कुनातिर राखेर सरिक हुनु, मलाई सघाउनु, जतिसुकै अप्ठ्यारोमा पनि मेरो हात नछोड्ने तिमीसँग, भन न म कुन मनले रिसाउँ?
तर मन त आखिर मन नै रहेछ! नदुखाउँ भने नि दुख्ने रहेछ! सँगै हुँदाजस्तो सँगै नहुँदा नहुने रहेछ। सानो दुःख पर्दा पनि तिम्रै याद आउने रहेछ। तर समय त फेरिएछ। हामी सधैंलाई एकअर्काका नरहे पनि पहिलेजस्तो एकअर्काका रहेनछौँ। हामीले एकअर्काको लागि माया नगुमाए पनि हक गुमाएछौं! प्रायःजसो त मनलाई सम्झाइरहेको हुन्छु। कहिलेकाहीं भने मन मान्दै मान्दैन।
आखिर मनै त हो नि! मनले नै ठानिसकेपछि कसको के लाग्छ र! जसरी तिमीलाई पहिलोचोटि देख्दैमा आफ्नो जिन्दगी मानेको मैले, महिनौंसम्मको अथक प्रयासपछि हामी सँगै हुन सकेका थियौं। मोबाइलले कानै डढाउला झैं गरी गरिएका तिनै रातभरिका मधुर कुराकानीको साह्रै याद आउँछ। तिमीसँगको पहिलो भेटजस्तो लाग्ने हरेक भेटको साह्रै सम्झना आउँछ।
क्याफेमा जाँदा तिमीले खाइरहेको टुलुटुलु हेरेको साह्रै याद आउँछ। बाइकको पछाडि बसेर तिम्रा कोमल हातले यो काँध समाएको साह्रै झझल्को लाग्छ प्रिया। मैले जसरी बताउन त सक्दैन तर मेरो बाइकले पनि तिमीलाई साह्रै मिस गर्छ होला।
भावनाहरू बर्खाको त्रिशुलीजसरी बगिरहन्छन्। कहिले यता कुनामा, कहिले उता कुनामा। बिछोड पनि दुवैजना सधैं खुसी रहने वाचा बिर्सिएको होइन तर कहिलेकाहीं हाम्रा सपनाहरूलाई सम्झिँदा तिनलाई सम्झिनै सक्दिनँ। तिमीलाई म रोएको मन पर्दैन भनेर झरेका आँसु हत्तपत्त पुछने गर्छु।
फेसबुकमा तिम्रो मुस्कुराएको तस्वीर देख्छु, कस्तो अनौठो खाले भावना आउँछ। खुसी लागेजस्तो, दुःख लागेजस्तो अनि कता कता हारेको जस्तो। दिनहरू धेरै परिवर्तन भए तर पनि बिहान उठेर सबैभन्दा पहिले तिम्रो म्यासेज र प्रोफाइल हेर्ने मेरो रुटिन कहिल्यै बदलिएन।
आफ्नै मान्छेलाई धन्यवाद भन्नुपर्दैन तर पनि मलाई यति धेरै माया गरेकोमा धन्यवाद तिमीलाई। मलाई माया के हो सिकायौ, त्यसको लागि पनि धन्यवाद। यदि मैले मनबाट कसैलाई अब फेरि रोज्न सकेँ भने तिमीबाट गर्न सिकेको यो माया उसलाई अवश्य दिनेछु। प्रिया, तिम्रो मायालाई कहिल्यै मर्न नदिन यत्ति एक काम गर्न सक्छु म।
जानी अन्जानी मबाट भएका गल्तीहरूको लागि माफी चाहन्छु प्रिया। अन्तिममा, तिम्रो सधैंको त्यो ठूलो सपना मैले पूरा गर्न सकिनँ।