नगाऊ मेरा अघि दसैंको भाका
नसुनाऊ मलाई तिम्रो हर्षको कथा
सुन्नु छैन मनै पोल्ने भ्रमको कहानी
न रस छ न रङ्ग, ठूलै चाड भए पनि
मलाई केको दसैं?
पीडा छ, कष्ट छ यो मनैभरि
गडेको छ, जमेको छ नपोखिने गरी
साध्य छैन मापन गर्न दुःख मेरा
भन्दैछु तिमी कोसिस गर्दै नगर
मलाई केको दसैं?
रित्तो छ गोजी, भारी छ त यो मन
समीपमा कोही छैन, बस् एक्लोपन
अभावै अभावमा बाँचिरहेछु आफै
गन्तव्यविहीन यात्रा रचिरहेछु आफै
मलाई केको दसैं?
हैन यो गर्जन मात्र तिमीलाई
आवेग हो यो त सिङ्गो समाजलाई
रित्तो गोजी किन वञ्चित रह्यो?
बडाको दसैं किन उसैको मात्रै भयो?
मलाई केको दसैं?
जहाँ थिएँ हिजो, त्यही छु आज
तिनै देखावटी खित्काहरुको माझ
अस्थिर भएँ म महङ्गी भएन तर
टाढिँदै छ मबाट धेरै पर पर
मलाई केको दसैं?
हर्षसाथ कोही मनाइरहेछन् सधैँ
उमङ्गको सिमै छैन बाह्रैमासे दसैं
दीनदुखी, निमुखाको आहार खोसी
नाचिरहेछन् मज्जैले जमातैसगँ बसी
ती भ्रष्टलाई पो दसैं
मलाई केको दसैं?