परिवर्तनको विगुल बज्यो
कसैले भोट दिएर,नदिएर मनको विचार पोख्यो
गुनासो घर घरको एउटै थियो,
कहिलेसम्म यस्तै चल्ने हो?
सँगैका देश कहाँबाट कहाँ पुगिसके,
नपत्याउँदो छिमेकीहरु चम्किसके,
हामी आफ्नै दु:खेसोमा रुमल्लिदैछौं
राणाकाल,पञ्चायत,बहुदल, गणतन्त्र सबै देख्यौं,
तर हाम्रो उभोँलाग्ने बाटो किन भेटेनौं?
द्वन्दमाथि द्वन्द चल्दा
घर घरबाट आवाज उठायौं
आफ्नो समय,जोश जाँगर सकी
आखिर के नै पायौं?
ती पुरानै अनुहारमा कति लाली चढाऔं,
आफू कति चोटी हारी कसलाई पो जिताऊँ?
मनदेखि नै पुग्यो अब,
सकिदैन बोक्ने यो भारी,
आश जाग्ने कुरै छैन,
जहिले नि ति आकासे खेती,
सपनाको व्यापार, आश्वासन र चिप्लो बोली।
मन त भन्छ तँ बबुरो फसिस,
सन्तानलाई त उभो लगा,
सक्छस् भने विदेश पढा उत्तै छिरा
के यसैको लागि शहिदहरुले जीवन त्यागे?
छैन कसैसँग यसको जवाफ
यत्रो दिन बेहोसीमा सुतिरहेँ
बिगुलले बिउझायो ,
मनमा फेरि केही आश जगायो।
हेर्नु बाँकि नै छ
यस बिगुलको गुन्जन र तरंग
तर जेहोस् यस तरंगले हामी मुर्दामा ज्यान ल्यायो।